मानव सभ्यताको समग्र विकासक्रमलाई वस्तुगत र सूक्ष्म ढङ्गले नियाल्ने हो भने हरेक युगान्तकारी आविष्कारले मानिसको जीवनशैली, चिन्तन प्रक्रिया र विशेष गरी सिकाइ पद्धतिमा आमूल परिवर्तन ल्याएको पाइन्छ । ढुङ्गेयुगमा आगो र पाङ्ग्राको खोजदेखि मध्ययुगमा जोहानेस गुटेनवर्गको छापाखाना, अनि २० औँ शताब्दीको उत्तरार्धमा भएको इन्टरनेटको विस्तारसम्मका हरेक घटनाले ज्ञानको निर्माण, भण्डारण र वितरणमा क्रान्ति नै ल्याएका थिए ।
हिजोका दिनमा ज्ञानको एक मात्र आधिकारिक स्रोत कि त गुरुकुलमा गुरुको मुखारविन्द हुन्थ्यो, कि त पुस्तकालयका अँध्यारा दराजमा थन्किएका सीमित पुस्तक हुन्थे तर आज हामी मानव इतिहासकै एउटा यस्तो अभूतपूर्व र चुनौतीपूर्ण मोडमा उभिएका छौँ, जसलाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टलिजेन्स (एआई) को युग भनिन्छ ।
२१ औँ शताब्दीको यो तेस्रो दशक एआईका कारण विश्वको आर्थिक, सामाजिक र विशेष गरी शैक्षिक संरचनामा एउटा ठुलो हलचल पैदा भइरहेको छ । ‘च्याटजिपिटी’, ‘गुगल जेमिनाई’ र ‘क्लाउड’ जस्ता जेनेरेटिभ एआईको उदयले संसारभरको असीमित सूचनालाई केवल हाम्रा औँलाका टुप्पामा ल्याइदिएको छ । यसले हिजोको जस्तो केवल सूचनाको भण्डार मात्र खोलेको छैन, बरु मानव मस्तिष्कले गर्ने तर्क, विश्लेषण र सिर्जनात्मक कार्यको समेत हुबहु नक्कल गर्न थालेको छ । प्रविधिको यस अकल्पनीय विकासले आजको शिक्षा क्षेत्रमा एउटा गम्भीर, दार्शनिक र अस्तित्वगत प्रश्न खडा गरिदिएको छ । यदि प्रविधिले नै हाम्रा हरेक प्रश्नको सटिक उत्तर दिन्छ, निबन्ध लेखिदिन्छ र गणितका जटिल समस्या समाधान गरिदिन्छ भने हाम्रा विद्यालय, शिक्षक र परम्परागत शिक्षा प्रणालीको अबको औचित्य के ?


मनोवैज्ञानिक र प्रणालीगत सङ्कटको ऐना
विश्वस्तरमा प्रविधिको विकास जति तीव्र गतिमा भइरहेको छ, नेपाली कक्षाकोठा र घरभित्रको मनोवैज्ञानिक तथा प्रणालीगत सङ्कट त्यति नै गहिरो बन्दै गएको देखिन्छ । एआईको अनपेक्षित आगमनले हाम्रो शिक्षा प्रणालीमा एउटा विचित्रको ‘भ्रम’ र उदासीनता सिर्जना गरेको छ । आजकल कक्षाकोठामा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीको ध्यान विषयवस्तुमा भन्दा पनि मोबाइल वा ट्याबलेटको स्क्रिनतिर बढी मोडिएको पाइन्छ । उनीहरूको कलिलो मस्तिष्कमा एउटा खतरनाक सोचले घर गर्न थालेको छ । शिक्षकको कुरा किन सुन्ने र लामो पाठ किन पढ्ने जब सबै कुरा एआईबाट सेकेन्डमै पाइन्छ ।
यो सोच ज्ञान आर्जनका लागि नभई बौद्धिक श्रमबाट भाग्ने एउटा बहाना मात्र बनेको छ । हाम्रा विद्यार्थी प्रविधिको प्रयोग विषयवस्तुको गहिराइ बुझ्न होइन, बरु शिक्षकले दिएको गृहकार्य छल्न र कपी–पेस्ट गर्न गरिरहेका छन् । यसले विद्यार्थीमा धैर्य राख्ने र कुनै विषयमा गहन विश्लेषण गर्ने बानीको अन्त्य गरिदिएको छ । जब विद्यार्थीले आफैँ नसोची मेसिनको उत्तर सार्छन्, उनीहरूको सोच्ने क्षमता क्षीण हुँदै जान्छ । यो बौद्धिक खोक्रोपन भविष्यको पुस्ताका लागि अत्यन्तै ठुलो खतरा हो ।
यसको दोष शिक्षकलाई मात्र दिनु न्यायोचित हुँदैन । प्रविधिले संसार जितिसक्दा पनि हाम्रा अधिकांश शिक्षक उही पुरानो पाठ्यक्रम र सीमित स्रोतसाधनका भरमा पढाउन बाध्य छन् । राज्य र विद्यालय प्रशासनले शिक्षकलाई एआईको प्रयोग वा नयाँ मूल्याङ्कन विधिबारे कुनै ठोस तालिम दिएका छैनन् । एकातिर शिक्षकसँग नयाँ प्रविधि सिक्ने स्रोतको अभाव छ भने अर्कातिर उनीहरूको मनमा के अब यो मेसिनले मेरो जागिर खाइदिने हो ? भन्ने गहिरो डर लुकेको छ । यो मनोवैज्ञानिक त्रासबिच उनीहरूले नयाँ प्रविधिलाई सहजै आत्मसात् गर्न सकिरहेका छैनन् ।
अर्कातिर हाम्रा अधिकांश अभिभावक प्रविधिको ज्ञानमा आफ्ना छोराछोरीभन्दा निकै पछाडि छन् । बच्चाले कोठामा बसेर मोबाइलमा निरन्तर कपी–पेस्ट गरिरहँदा अभिभावकलाई लाग्छ कि सन्तानले धेरै मेहनत गरिरहेको छ । हाम्रो समाजको अङ्कमुखी र सर्टिफिकेटमुखी सोचले गर्दा अभिभावकलाई जसरी भए पनि परीक्षामा जिपिए ४.० चाहिएको छ । अझ अभिभावकको भनाइले त ‘ए प्लस’ नै चाहिएको छ । यसैको फाइदा उठाउँदै विद्यार्थीहरू प्रविधिको दुरुपयोग गरी कृत्रिम अङ्क बटुलिरहेका छन् र वास्तविक सिकाइ ओझेलमा परेको छ ।
एआई अवसर
यी चुनौती भए पनि एआई आफैँमा कुनै खराब तìव होइन । यदि यसलाई विवेकपूर्ण ढङ्गले प्रयोग गर्न सके यो शिक्षालाई प्रजातान्त्रिक र सर्वसुलभ बनाउने अचुक अस्त्र बन्न सक्छ ।
वैयक्तीकृत सिकाइ : एआईले प्रत्येक विद्यार्थीको क्षमता र शैलीको विश्लेषण गरी डिजिटल प्राइभेट ट्युटरको काम गर्न सक्छ । एउटै कक्षामा भए पनि एआईले कमजोर विद्यार्थीका लागि सरल भाषामा बुझाउन सक्छ भने तीक्ष्ण विद्यार्थीका लागि जटिल चुनौती पस्कन सक्छ ।
शिक्षकको कार्यभार न्यूनीकरण : हाजिरी लिने, उत्तरपुस्तिका जाँच्ने र पाठयोजना तयार पार्ने जस्ता प्रशासनिक कामका लागि एआई प्रयोग गर्दा शिक्षकले ठुलो राहत महसुस गर्छन् । यसरी बचेको समय शिक्षकले विद्यार्थीसँग मानवीय अन्तर्क्रिया गर्न र उनीहरूलाई व्यक्तिगत परामर्श दिन खर्च गर्न सक्छन् ।
समावेशी र पहुँचयोग्य शिक्षा : दृष्टिविहीनका लागि किताब पढेर सुनाउने, श्रवणशक्तिविहीनका लागि बोलेका कुरा अक्षरमा बदलिदिने र भाषाको समस्या भएकालाई मातृभाषामै अनुवाद गरिदिने एआई प्रविधि सीमान्तकृत विद्यार्थीका लागि वरदान साबित भएको छ । यसले भौगोलिक रूपमा विकट ठाउँका विद्यार्थीलाई पनि विश्वस्तरीय ज्ञानमा सहज पहुँच दिन्छ ।
तथ्यमा आधारित निर्णय : एआईले विद्यार्थीको नतिजा विश्लेषण गरेर उसले कुन विषयमा बढी मेहनत गर्नु पर्छ वा भविष्यमा उसको रुचि कुन पेसामा हुन सक्छ भन्ने वैज्ञानिक सुझाव दिन सक्छ ।


चुनौतीका काला छाया
एआईको अनियन्त्रित प्रयोगले गम्भीर नैतिक र सामाजिक जोखिम पनि निम्त्याएको छ । असाइनमेन्ट कसले आफ्नै विवेकले लेख्यो र कसले मेसिनबाट सा¥यो भन्ने छुट्याउन असम्भव हुँदै जाँदा शैक्षिक मूल्याङ्कनको इमानदारीमै प्रश्न उठेको छ । यसले विद्यार्थीलाई मेहनत नगरी सजिलै फल प्राप्त गर्ने अनैतिक बाटोमा हिँडाएको छ । जब मानिसले हरेक सानो कामका लागि एआईको भर पर्छ, उसको स्वतन्त्र रूपले सोच्ने क्षमता भुत्ते हुँदै जान्छ । सिर्जनात्मक क्षेत्रमा पनि एआईको दबदबा बढ्दा मानिसको मौलिकता हराउने डर पैदा भएको छ ।
एआई कुनै सर्वज्ञानी भगवान् होइन । यसले कतिपय अवस्थामा आत्मविश्वासका साथ गलत तथ्य पनि पस्कन्छ । विद्यार्थीले त्यस्ता गलत तथ्यलाई सत्य मान्दा समाजमा ठुलो भ्रम सिर्जना हुन सक्छ । साथै अधिकांश एआई मोडेल पश्चिमी डाटामा प्रशिक्षित भएकाले नेपालको स्थानीय इतिहास, संस्कृति र मौलिक ज्ञानलाई यिनीहरूले सही रूपमा प्रस्तुत गर्न सक्दैनन् । हाम्रा बालबालिकाले एआईबाट मात्र सिक्दा हाम्रो आफ्नै पहिचानमाथि सांस्कृतिक अतिक्रमण हुने प्रबल सम्भावना रहन्छ ।
नेपाल जस्तो देशमा ‘डिजिटल ग्याप’ वा प्रविधिको असमान पहुँच अर्को तितो यथार्थ हो । सहरका विद्यार्थी च्याटजिपिटीका कुरा गर्दा दूरदराजका विद्यालयमा अझै बिजुलीको समेत पहुँच छैन । एआईको आगमनले धनी र गरिबबिचको शैक्षिक खाडललाई अझ फराकिलो बनाउने निश्चित छ । यदि राज्यले समान पहुँच सुनिश्चित गर्न सकेन भने यसले समाजमा नयाँ किसिमको प्राविधिक वर्गविभाजन ल्याउने छ ।
एआई साक्षरता अनिवार्य
अबको २१ औँ शताब्दीको साक्षरता भनेको केवल अक्षर चिन्नु मात्र होइन । प्रविधिलाई चिन्नु र त्यसलाई आफ्नो नियन्त्रणमा राखी सही ढङ्गले प्रयोग गर्नु नै अबको वास्तविक साक्षरता हो । एआई साक्षरतामा मुख्यतया तीन वटा कुरा समावेश हुनु पर्छ :
आलोचनात्मक विश्लेषण : एआईले दिएको उत्तर गलत हुन सक्छ भनेर बुझ्ने र अन्य स्रोतसँग तुलना गर्ने क्षमता ।
नैतिक प्रयोग : कति बेला एआईलाई सहयोगी साधनका रूपमा प्रयोग गर्ने र कति बेला आफ्नै दिमाग प्रयोग गर्ने भन्ने विवेक ।
प्राविधिक सिप : एआईलाई सही प्रश्न सोधेर उत्कृष्ट नतिजा निकाल्ने कला ।


शिक्षण क्रियाकलापमा नयाँ मार्गचित्र
वर्तमान परिवेशमा शिक्षकले केवल उपदेश दिएर वा कडा नियम बनाएर मात्र विद्यार्थीको आकर्षण फर्काउन सम्भव छैन । शिक्षकले आफ्नो परम्परागत प्रवचन शैलीलाई त्यागेर सहजीकरण शैली अपनाउनु अबको एक मात्र विकल्प हो । शिक्षक अब सूचना वितरण गर्ने हुलाकी होइन, मार्गदर्शक वा सहजकर्ता बन्नु पर्छ ।
शिक्षण विधिलाई परिवर्तन गरी विद्यार्थीलाई साना समूहमा विभाजन गर्नु पर्छ । उनीहरूलाई कुनै जटिल विषय दिएर डिजिटल माध्यमबाट खोज गर्न खुला छुट दिनु पर्छ तर त्यसको सार र विश्लेषण आफ्नै शब्दमा बुझेको हुनु पर्छ । यसले रटेर सार्ने प्रवृत्तिको अन्त्य गर्छ । विद्यार्थीले खोजेको सामग्री कक्षामा प्रस्तुतीकरण गर्न लगाउनु पर्छ र अन्य साथीहरूबाट आउने प्रश्नको तर्कसङ्गत उत्तर दिनुपर्ने नियम बसाल्नु पर्छ । जब विद्यार्थीले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ, उनीहरू विषयवस्तुको गहिराइमै पुगेर अध्ययन गर्न बाध्य हुन्छन् ।
यस सन्दर्भमा ‘उल्टो कक्षाकोठा’ एक उत्कृष्ट नमुना हुन सक्छ, जहाँ विद्यार्थीले घरमा एआईको मद्दतले सैद्धान्तिक कुरा पढ्छन् र विद्यालयमा शिक्षकसँग आलोचनात्मक छलफल र समस्या समाधानमा समय बिताउँछन् । यसले कक्षाकोठालाई जीवन्त प्रयोगशालामा परिणत गर्छ । अन्त्यमा शिक्षकले विद्यार्थीले छुटाएका बुँदा र एआईका गलत तथ्य सच्याउँदै उनीहरूको तर्कलाई परिष्कृत गरिदिनु पर्छ ।
एकीकृत दायित्व र निष्कर्ष
एआईको यो सुनामीलाई सम्बोधन गर्न राज्य मूकदर्शक बन्न मिल्दैन । राज्यले अविलम्ब एआईसम्बन्धी राष्ट्रिय शैक्षिक नीति निर्माण गर्नु पर्छ र सरकारी विद्यालयमा प्रविधिको पहुँच पु¥याउन लगानी दोब्बर गर्नु पर्छ । अभिभावकले पनि ‘डिजिटल प्यारेन्टिङ’ मार्फत बालबालिकाले प्रविधिको प्रयोग ज्ञानका लागि गरिरहेको छ कि केवल समय बिताउन, त्यसको सूक्ष्म निगरानी गर्नु पर्छ ।
एआई आफैँमा कुनै जादुको छडी होइन, यो त एउटा धारिलो दुईधारे तरबार हो । यसको सही उपयोगले पुराना शैक्षिक रोग निको पार्न सक्छ तर दुरुपयोगले सिर्जनात्मकतालाई सखाप पार्न सक्छ । हामीले प्रविधिको वेगसँग डराउने होइन, यसको लगाम आफ्नो हातमा लिएर मानवीय हितमा प्रयोग गर्न सिक्नु पर्छ । मानवीय बुद्धिमत्तामा रहेको करुणा र विवेकलाई एआईको दक्षतासँग जोड्न सके मात्र हामी सफल जनशक्ति तयार गर्न सक्छौँ ।
अबको सुधारका लागि राज्यले पूर्वाधारमा लगानी, शिक्षकले सहजीकरणमा रूपान्तरण, अभिभावकले सचेत निगरानी र विद्यार्थीले इमानदारीपूर्वक सिकाइको साधन बनाउनु अपरिहार्य छ । हामी सबै मिलेर एउटा यस्तो वातावरण निर्माण गरौँ, जहाँ एआईले मानिसको सुन्दर दिमागलाई विस्थापित होइन, बरु थप सशक्त र सिर्जनात्मक बनाओस् ।
– रुद्रहरि भण्डारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































