04/23/2026, 10:58:20
बिहिबार, बैशाख १०, २०८३

साझा प्रयासबाटै पर्यावरण संरक्षण


काठमाडौँ, वैशाख १० गते । जैविक विविधताका दृष्टिले नेपाल विश्वमै धनी र विशिष्ट मौलिक पहिचानयुक्त छ । भौगोलिक अवस्थिति, वातावरणीय विविधता, अग्ला हिमालदेखि समथर भूभागसम्म रहेकाले पनि नेपालको अन्तर्राष्ट्रिय पहिचान पृथक् रहेको हो । ‘हाम्रो शक्ति, हाम्रो पृथ्वी’ नारासाथ पृथ्वी दिवस मनाइरहँदा नेपालको जैविक विविधताको पहिचानलाई कायम राख्न वा जोगाउनुपर्ने चुनौती पनि उत्तिकै सघन विमर्शको विषय बनेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि जारी भएको शासकीय सुधारको सयबुँदे मार्गचित्रमा वन, वातावरण, पर्यावरण र हिमाल संरक्षणसँग सम्बन्धित रहेर काम अघि बढाउने प्रस्ट अवधारणा सार्वजनिक गरिएको छ । तथापि पर्यावरणका प्रमुख पक्ष जैविक, भौतिक एवं सामाजिक संरचनालाई सन्तुलित बनाउँदै यसको संरक्षण गर्नुपर्ने छ ।

जलवायु परिवर्तन, वातावरण तथा वन विशेषज्ञ डा. माधवबहादुर कार्की र वातावरणविद् भूषण तुलाधरले जैविक विविधताको संरक्षण र वातावरणीय चुनौतीको सामना गर्नका लागि योजनाबद्ध काम गर्नुपर्ने बताउनुभयो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पर्यावरण जोगाउने सन्दर्भमा सरकारले प्रस्ट कार्ययोजना बनाएको र तीन वटै तहका सरकारबिचको समन्वयमा महत्वपूर्ण काम अघि बढाएको जानकारी दिनुभयो ।

डा. कार्कीले नेपालको जैविक विविधता संरक्षणका लागि पाँच वटा मुख्य चुनौती रहेको निष्कर्ष सुनाउनुभयो । उहाँले नेपालको जैविक विविधता र हिमाललाई जैविक–सांस्कृतिक सम्पदाका रूपमा परिभाषित गर्दै यसको संरक्षणमा देखिएका चुनौती सम्बोधन गर्न दिगो विकासको अवधारणामा जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानव र प्रकृतिबिचको द्वन्द्व मुख्य चुनौती हो । बढ्दो जनसङ्ख्या र आर्थिक विकासको आकाङ्क्षा तथा जैविक विविधताको अखण्डतालाई सन्तुलनमा राख्नु पर्छ । साथै जैविक विविधताले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न अथवा अनुकूलन गर्न पनि मद्दत गर्छ । जैविक विविधतामा जलवायु परिवर्तनले यसलाई असर पारिरहेको हुन्छ । त्यसैले जलवायु परिवर्तनलाई चुनौतीभन्दा पनि अवसरका रूपमा कसरी लैजाने भन्ने पनि नेपालको एउटा ठु्लो चुनौती हो ।

डा. कार्कीले खुला सिमाना र विश्वव्यापी व्यापारका कारण भित्रिने मिचाहा प्रजातिका वनस्पतिले नेपालको मौलिक जैविक विविधतामाथि गम्भीर सङ्कट पैदा गरेको बताउनुभयो । उहाँका अनुसार वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरण गर्दै मानव अधिकार र प्रकृतिको संरक्षणबिच तालमेल मिलाउन आवश्यक छ । उहाँले भन्नुभयो, “नेपालको भौगोलिक अवस्था अनुसार प्रकृतिको संरक्षणका लागि सुशासन आवश्यक छ । सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारबिच प्रभावकारी समन्वय भएमा देशको जैविक विविधताको संरक्षण र सन्तुलन कायम हुन सक्छ ।

blog

ऐतिहासिक सन्देश, युवाका लागि प्रेरणा

वातावरणविद् भूषण तुलाधरले पृथ्वी दिवस जनस्तरको विद्रोहबाट आरम्भ भएको बताउनुभयो । उहाँले सन् १९६० को दशकमा वातावरणीय विनाशविरुद्ध उठेको जनआवाजको प्रतिफल स्वरूप पृथ्वी दिवस सुरु भएको बताउनुभयो । उहाँले पृथ्वी दिवसको पृष्ठभूमिबारे चर्चा गर्दै तुलाधरले सन् १९६२ मा रचेल कार्सनको साइलेन्ट स्प्रिङ पुस्तकले सिर्जना गरेको चेतना र प्रदूषणविरुद्धको असन्तुष्टिका कारण सन् १९७० मा पहिलो पटक जनताकै सक्रियतामा पृथ्वी दिवस मनाउन थालिएको हो । यो दिवको सन्देश ऐतिहासिक छ । र युवाका लागि प्रेरणादायी छ ।

वातावरणविद् तुलाधरले नेपालको सन्दर्भमा यो दिवस झन् सान्दर्भिक रहेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि युवाले आवाज उठाएको र सरकारमा युवाको वर्चस्व रहेकाले वातावरणीय चुनौतीको सामना गर्न युवाशक्ति जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा र जनस्तरको जागरणले पृथ्वीको संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने छ । वातावरणीय अभियानमा जनतालाई जोड्न र चेतना फैलाउन यस्ता दिवसले उत्प्रेरकको काम गर्छन् ।

‘चुनौती सामना गर्नै पर्छ’

वातावरणविज्ञ डा. माधवबहादुर कार्कीले प्रविधिसँगै परम्परागत र वैज्ञानिक ज्ञान संयोजन हुनुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सन्धिहरूले निर्दिष्ट गरेका जैविक विविधताको संरक्षण, लाभको समानुपातिक वितरण र दिगो उपयोगका तीन वटै उद्देश्य पूरा गर्न स्थानीय सरकार र समुदायको भूमिकालाई थप सशक्त बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिसँग द्वन्द्व गरेर मानिसले जित्न सक्दैनौँ, प्रकृतिलाई सम्मान गर्नै पर्छ । दिगो उपयोगको सिद्धान्त अनुसार प्रकृतिको ‘मूल धन’ लाई नाश नगरी त्यसबाट प्राप्त हुने ‘ब्याज’ मात्र उपभोग गर्ने नीति लिनु पर्छ ।

वातावरणविद् तुलाधरले स्थानीयस्तरमा भएका सकारात्मक प्रयासको उदाहरण दिँदै काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई सवारीमुक्त बनाउने कार्य अन्य ठाउँमा पनि विस्तार गर्न सकिने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, वायु प्रदूषण र बढ्दो डढेलोको समस्यालाई न्यूनीकरण गर्न समुदायस्तरबाटै जनचेतना बढाउनुपर्ने र यसमा सरकारले पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

महानिर्देशक सुवेदीले प्रदूषण नियन्त्रण, वातावरणीय सन्तुलन र संरक्षणमा सरकारले १० बुँदे कार्यव्रmम बनाएको र यसको कार्यान्वयन अघि बढिरहेको जानकारी दिनुभयो । सरकारले पर्यावरण संरक्षणसँग जोडिएका सुशासनको मार्गचित्रमा पनि जलाधार संरक्षण, मुहानहरूको संरक्षण गर्ने र जलवायु परिवर्तन अनुकूलनका कार्य अघि बढाउने, फोहोरमैला व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन, हिमाल र पर्यटन क्षेत्रको संरक्षण, वन र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण, खनिज तथा प्राकृतिक स्रोत व्यवस्थापन, भू–उपयोग र माटोको स्वास्थ्यसहितका महत्वपूर्ण कार्ययोजना प्रस्तुत गरेको छ ।

– अशोक अधिकारी