

तनहुँ, वैशाख १० गते । नेपाल सरकारले लागू गरेको ‘इ–पेन्सन’ प्रणालीलाई प्रभावकारी बनाउन तनहुँका सरकारी कार्यालयका प्रमुखहरूले सेवानिवृत्त कर्मचारीहरूको कागजात सिफारिस गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन् । यससँगै पेन्सन पट्टा बनाउन अनिवार्य रूपमा काठमाडौँस्थित राष्ट्रिय किताबखाना धाउनुपर्ने दशकौँदेखिको झन्झटिलो बाध्यता अन्त्य भएको छ ।
सङ्घीताको मर्म अनुसार सरकारी सेवालाई स्थानीयस्तरमै सहज बनाउन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) तनहुँले जिल्लाबाटै पहिलो पटक विद्युतीय प्रणालीमार्फत निवृत्तिभरण पट्टा जारी गर्ने कार्यको थालनी गरेको हो । कोलेनिका तनहुँका प्रमुख अशोक खनालका अनुसार अब सेवानिवृत्त हुने कर्मचारीको सम्पूर्ण विवरण जिल्लाबाटै अनलाइनमार्फत राष्ट्रिय किताबखानामा पठाउने र त्यहाँबाट प्रमाणित भएर आएलगत्तै जिल्लाबाटै पट्टा प्रिन्ट गरी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
अब पेन्सन पट्टाकै लागि काठमाडौँ पुगेर होटलमा बस्नुपर्ने र खर्चिलो यात्रा गर्नुपर्ने झन्झट हटेको छ, प्रमुख खनालले भन्नुभयो, ‘‘जिल्लास्थित सबै कार्यालयका प्रमुखहरूले सेवानिवृत्त हुने कर्मचारीको कागजात प्रमाणित र सिफारिस गर्ने कार्यमा विशेष सक्रियता देखाउनुभएपछि यो प्रणाली सफल भएको हो ।’’


यो सेवा लिनका लागि सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित अवकाश पत्र, नियुक्ति तथा बढुवाका पत्रहरू र सञ्चित बिदाको विवरण, गयल गट्टी, तह मिलानको पत्रहरु, बिरामी बिदा लगायतका कागजातहरू अनिवार्य गरिएको छ । कार्यालय प्रमुखहरूले ती कागजातहरूलाई तदारुकताका साथ प्रमाणित गरिदिएपछि कोलेनिकाले तत्कालै प्रक्रिया अघि बढाउने गरेको छ ।
कोलेनिकाले मङ्गललबार भानु नगरपालिकाको शिक्षा शाखा प्रमुख पदबाट सेवानिवृत्त हुनुभएका ध्रुवराज पौडेललाई पहिलो निवृत्तिभरण पट्टा उपलब्ध गराएर सेवाको सुरु गरेको छ । जिल्लामै पट्टा प्राप्त गरेपछि पौडेलले घरदैलोकै कार्यालयबाट विना झन्झट सेवा पाउँदा आफू निकै हर्षित भएको बताउनुभयो । हाल तनहुँ जिल्लामा ८ हजार तीन जनाले निवृत्तिभरण बापतको सुविधा लिइरहेका छन् । सरकारी कार्यालयका प्रमुखहरू र कोलेनिकाको यो समन्वयकारी भूमिकाले आगामी दिनमा सेवानिवृत्त हुने कर्मचारीहरूको समय र खर्चको बचत भएको छ ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































