काठमाडौँ, वैशाख १० गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीको रूपान्तरण र पुनर्गठन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनताले सिकाउन खोजेको शिक्षा ग्रहण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
संयोजक प्रचण्डले नयाँपुराना सयौँको सङ्ख्यामा नेताहरू भेटेर एकताबद्ध भएर जान सुझाव दिने गरेको बताउनुभयो । “जनताले सबक सिकाउन खोजेका छन् । जनताले सिकाउन खोजको शिक्षालाई ग्रहण गरेर जानु पर्छ,” उहाँले भन्नुभयो, “आफ्नै पार्टीका कमीकमजोरी सच्याएर महाधिवेशनमा तलदेखि माथिसम्म युवालाई प्राथमिकता दिएर समेट्ने सोचिएको छ । पुराना पुस्तालाई कुनै न कुनै भूमिका भएर राखिने सोचिएको छ ।” उहाँले आगामी असोजभित्र एकता महाधिवेशन गरेर जाने योजना बनाएको बताउनुभयो ।
संयोजक प्रचण्डले आफूलाई भेट्न आउने पार्टीका नेता कार्यकर्तालाई निराशाका पोका लिएर मात्रै नआउन सुझाव दिनुभयो ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमा पराजय भएर कमजोर भए पनि धुलो टकटक्याएर अघि बढ्ने हिम्मत गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपासहित देशभरका कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































