

मकवानपुर, वैशाख ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट हुने सेवा प्रवाहमा एक हप्ताभित्र सेवाग्राहीले फरक महशुस गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
उहाँले यातायात व्यवस्था कार्यालयहरुबाट भइरहेको सेवा प्रवाहमा बढ्दो जनगुनासोलाई न्यूनीकरण गरी प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउँदै सेवा प्रवाह गर्न भन्दै प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्रलगायतका सेवा प्रवाहलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउने सन्दर्भमा मुख्यमन्त्री कार्यालयमा बुधबारभएको छलफल कार्यक्रममा उहाँले यातायात कार्यालयका प्रमुखहरुलाई एक हप्तामा परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
सेवा प्रवाह र सोको प्रक्रियागत चरणहरु, सेवा प्रवाह सुधारका कानुनी तथा प्रक्रियागत आधारहरु, क्षेत्रगत समस्याहरु र तत्काल सुधार गर्न सकिने विषयहरुमा छलफल भएको सो कार्यक्रममा मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, यातायात मन्त्रालयबाट बाधा अड्काउ सबै फुकाएर सेवालाई चुस्तदुरुस्त, छिटोछरितो सेवाग्राहीलाई सेवा दिने गरी वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।


तुरुन्त सुधार गर्न सकिने कुरा ऐन कानुन, विधिमा सुधार गरेर हुन्छ हामीले गरेर हुने हामी गछौँ र हामीले गरेर नहुने सङ्घीय सरकारसँग अनुरोध गछौँ मुख्यमन्त्री बानियाँले भन्नुभयो, सङ्घीय सरकार पनि छिटोछरितो र प्रभावकारी सेवा दिने घरदैलौमा सेवा पु¥याउने भनेको छ हामीले पनि आवश्यक सुधार गरेर प्रभावकारी सेवा प्रवाह गर्नुछ ।
उहाँले अगाडि भन्नुभयो, ‘कार्यालयमा भएको अप्ठ्यारा र आवश्यकता समाधान गर्न तयार छौँ । सजिलो गर्नुपर्ने के हो भन्नुस् तपाईका समस्या चाडो समाधान गर्ने र तपाईहरुले सेवा चाडो दिने हो । छलफल भएपछिको एक हप्तामा परिणाम देखिने गरी काम गर्नुस् ।’ छलफल गरेर गएपछि हिजोको र आजको अवस्थामा फरक भयो भन्ने हेर्दा, देख्दा र अरुले अनुभूति गर्नु पाउनुपर्छ उहाँको भनाई छ ।
उहाँले आर्थिक रुपमा समस्या छ भने मन्त्रीहरु हुनुहुन्छ भन्दै प्रशासनिक समस्या समाधान गर्न प्रमुख सचिवलाई सहजीकरण गर्न निर्देश दिनुभयो ।
कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले प्रदेश सरकारका काम र सेवालाई गुणस्तरीय र गुनासोरहित बनाउन लागेको बताउनुभयो ।
कार्यक्रममा सेवा सरलीकरण गर्न, प्रविधिमैत्री बनाउन, भिडभाड र विचौलियामुक्त बनाउन अवलम्बन गरिनुपर्ने सुधारकाक्षेत्र तथा विधिहरु, कार्यान्वयनका लागि कुन कुन निकायले के के गर्नुपर्ने हो, सोको विवरण र नागरिकले प्राप्त गर्ने सुविधा–कार्यालयले उपयुक्त ठानेका सेवा सुधार लगायतका विषयहरुमा कार्यालयहरुको तर्फबाट संयुक्त रुपमा प्रस्तुतीकरण गरिएको थियो ।
छलफल कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ, प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिवद्वय रामबाबु पुरी र बाबुराम गौतम, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव, बलराम भुसाल, श्रम, रोजगार तथा यातायात मन्त्रालय र मातहतका कार्यालयहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।
– राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































