04/22/2026, 08:51:15
बुधबार, बैशाख ०९, २०८३

सिंहदरबारको पुनर्निर्माण जटिल

अहिले पनि सिंहदरबार ठडिएको देखिए पनि भित्र केही पनि बाँकी छैनन् । आगोले यति नराम्रो गरी डढेको छ कि अहिले सिंहदरबारभित्र कुनै संरचनाको अडेस वा समातेर उक्लिन सक्ने अवस्था छैन ।


काठमाडौँ, वैशाख ९ गते । दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको सिंहदरबारको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा जटिल र चुनौतीपूर्ण देखिएको छ । सिंहदरबारलाई दक्षिण एसियाकै उत्कृष्ट भौतिक संरचनाका रूपमा लिने गरिन्छ ।

भदौ २४ गते जेन-जी प्रदर्शन क्रममा भएको आगजनीबाट भूकम्पभन्दा बढी क्षति पुगेका कारण पुनर्निर्माण जटिल र चुनौतीपूर्ण देखिएको हो । भूकम्पले सिंहदरबार भवनका संरचना भत्केको मात्र थियो तर आगजनीले खरानी नै पारेकाले त्यस्तो समस्या देखिएको हो । आगजनीले क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाभन्दा पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

सहरी विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख ई. चक्रवर्ती कण्ठले भूकम्पको समयमा सिंहदरबारको संरचनामा तात्त्विक असर नपरेका कारण पुनर्निर्माण सहज भएको तर जेन-जी प्रदर्शन क्रममा भएको आगजनीले संरचना जलेर खरानी बनेका कारण अहिले पुनर्निर्माण जटिल देखिएको बताउनुभयो । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मातहत सिंहदरबार भवनको मर्मतसम्भार तथा व्यवस्थापन हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “भूकम्पले सिंहदरबारमा अहिलेको भन्दा कम क्षति भएको थियो । संरचना भत्केको मात्र थियो । भवनको जोर्नी (ज्वाइन्ट) मा मात्र क्षति पुगेको थियो । भवनको संरचनामा तात्त्विक असर परेको थिएन, जसलाई पुनः जोड्न र ठड्याउन सजिलो थियो । तर अहिले प्रायः संरचना खरानी भइसकेका छन् । इँटा लगायतका वस्तु डढेर अस्तित्वविहीन बनेका छन् भने कतिपय बाङ्गिएका छन् । त्यसै गरी भित्ता, छत, खम्बालगायतका संरचना खरानी बन्नुका साथै भूकम्पछिको पुनर्निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत जलेर नष्ट भएका छन् ।

खरानी भइसकेका सामान, वस्तु वा संरचना पुनः जोड्न वा ठड्याउन अवश्यै कठिन र चुनौतीपूर्ण कार्य रहेको बताउँदै कार्यालय प्रमुख ई. कण्ठले अहिले सिंहदरबार पुनर्निर्माण भूकम्पपछिको भन्दा कैयौँ गुणा जटिल र खर्चिलो हुने देखिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सिंहदरबार ठडिएको देखिए पनि भित्र केही पनि बाँकी छैनन् ।

पुरातात्त्विक महत्वका समान नष्ट

कार्यालय प्रमुख ई. कण्ठले आगजनीले सिंहदरबारको पश्चिमी मोहडाको भवनमा रहेका पुरातात्त्विक महत्वका सामग्रीसमेत जलेर नष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातात्त्विक महत्वका सामान भूकम्पबाट भएको क्षतिपछि पनि जोगाउन सफल भएको थियो । तर अहिले सबै जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यस्ता सामग्री भूकम्पको बेला भुइँमा झरेको मात्र थियो । केही फुटेका थिए तर अहिले त सबै खरानी भएका छन् ।

उहाँका अनुसार काठका दलिन जलेर खरानी बन्दा बेलायती बैठक कक्ष लगायतका कोठाको छत खसेका छन् भने सो कक्षमा बिछ्याइएको मुलुकको अहिलेसम्मकै सबैभन्दा चौडाइ भएको गलैँचा खरानी भएका छन् । विश्वको विभिन्न मुलुकबाट ल्याइएका उपहार, कलाकृति, पुराना फाटोग्राफी, राणाकालीन बहुमूल्य पियानो, विभिन्न कलाकृति कुँदिएका सिसा, पेन्टिङ र पुराना घडी लगायतका सामग्री नष्ट भएका छन् । उहाँले भन्नुभयो, “आगोले यति नराम्रो गरी डढेको छ कि अहिले सिंहदरबारभित्र कुनै संरचनाको अडेस वा समातेर उक्लिन सक्ने अवस्था छैन ।

स्वरूपमा परिवर्तन नगरी पुनर्निर्माण

कठिन, चुनौतीपूर्ण र खर्चिलो भए पनि क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण सम्भव रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबार पुरातात्त्विक र ऐतिहासिक महत्वको सम्पदा रहेका कारण यसलाई भत्काउन मिल्दैन । त्यही भएर यसको पुनर्निर्माण (प्रबलीकरणै) गर्नुपर्ने छ । सिंहदरबारको पहिलेको स्वरूपमा परिवर्तन नहुने गरी पुनर्निर्माण गरिने  उहाँले स्पष्ट पार्नुभयो ।

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक, युरोपमा विकास भएको ‘नियो क्लासिकल’  शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो । प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाउनुभएको थियो । वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित पाँचतले भवनका विशेषतः चार वटा महत्वपूर्ण भाग छन् । उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल (टोटल बुल्ट अप एरिया) १२ हजार ४६१.८१ वर्गमिटर छ ।

– भउचप्रसाद यादव