

काठमाडौँ, वैशाख ८ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीकर्ताका नाममा यस्तो निर्देशन दिइएको हो ।
निर्धारित समयभित्र ऋण चुक्ता नगरेमा ऋणीका साथै जमानीकर्ताको समेत सम्पत्ति रोक्का गर्ने र धितो लिलाम गर्ने चेतावनी समितिले दिएको छ ।
सूचनामा भनिएको छ, “नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानीकर्ताहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस तथा फोन लगायतका माध्यमबाट पटक–पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता नगरेको पाइएकाले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी रकम बुझाउन सूचित गरिन्छ ।”
१५ दिनभित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीकर्ताको नामनामेसीसहितको विवरण सार्वजनिक गरिने समितिले जनाएको छ । साथै, उनीहरूको नाममा रहेको सम्पत्ति र बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाइने र राज्यबाट प्राप्त हुने सार्वजनिक सेवा सुविधाहरू समेत रोक्का गरिने सूचनामा उल्लेख छ । सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिँदा राखिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने व्यहोरा सूचनामा प्रस्ट पारिएको छ ।
मङ्गलवारकै मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । सरकारले समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त गरेको छ ।
मन्त्रालयले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि चरणबद्ध रूपमा प्रक्रिया अघि बढाएको छ । ऋण असुलीलाई प्रभावकारी बनाउँदै बचत फिर्ता कार्यलाई तीव्रता दिने मन्त्रालयको तयारी रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































