04/21/2026, 23:02:09
मङ्गलबार, बैशाख ०८, २०८३

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…


अछाम, वैशाख ८ गते । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोरा दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुग्नुभएको थियो ।

आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुवा र भाइलाई पारी पठाउनुभएको थियो । अन्तिममा आफू तर्नुभयो । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थाप्नुभयो । त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तार्नुभयो ।

घाँस तारेर बुवा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारी पुग्नुभयो । साँझ झमक्क परिसकेको थियो । दिलीपले बुवालाई पालैपालो डुङ्गामा पारी पुर्‍याउने प्रस्ताव गर्नुभयो । तर पहलसिंहले दिलीपलाई भन्नुभयो, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भन्नुभयो, तर बुवाले मान्नुभएन ।

नभन्दै नदीको बिच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिने बित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किनुभयो । रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गर्नुभयो । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डुङ्गामै च्यापिनुभएको थियो । पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोक्नुभयो । अनि नदी पार गर्न पौडिन थाल्नुभयो । नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवैजना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे । कतै फेला परेनन् ।

सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुवा पहलसिंहको शव फेला पर्‍याे ।

बाबु-छोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ । पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोवास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत हुनुहुन्छ ।

कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आउनुभएको छैन । श्रीमान्‌काे भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ ।

पुल नहुँदा वारपार गर्न जोखिम

यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन । जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ । कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटकपटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गर्नुभयो । अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..