04/08/2026, 17:05:47
बुधबार, चैत २५, २०८२

घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर


काठमाडौँ, चैत २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस–रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना तथा उजुरी निवेदनका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने बदनियत राखी योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गरी घुस–रिसवत लिनेदिने सर्तमा भुक्तानी प्रक्रिया सहजीकरण गर्दै अगाडि बढाएको र सेवाग्राहीबाट घुस–रिसवतस्वरूप त्रियानब्बे हजार आठ सय पचास रुपैयाँ लिएको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

दाहालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको ठहर गर्दै उनलाई बिगो त्रियानब्बे हजार आठ सय पचास रुपैयाँ कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी सहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..