04/21/2026, 21:37:35
मङ्गलबार, बैशाख ०८, २०८३

भूर्तेलको उत्कृष्ट इनिङ्समा नेपालद्वारा यूएई पराजित


काठमाडौँ, वैशाख ८ गते । कुशल भूर्तेल र कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि नेपालले मंगलबार दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यूएईलाई ८ विकेटले पराजित गरेको छ । यी दुईले पहिलो आठ ओभरमा ६७ रन जोडेपछि नेपालले १ सय २९ रनको लक्ष्य १५.५ ओभरमै पूरा गर्‍यो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा पाएको यस विजयपछि नेपालले शृंखला १–१ को बराबरीमा टुंगायो । यूएईले पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

कुशलद्वयले पहिलो ६ ओभरको पावर प्लेमा विना क्षति ५१ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । मल्ल आउट भएपछि यो साझेदारी टुटेको थियो । मल्लले १७ बल खेली १ चौका र २ छक्कासहित १९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका सन्तोष यादव १ रनमा स्टम्प आउट भए ।

३४ रनमा जीवनदान पाएको फाइदा उठाउँदै भूर्तेलले ८४ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् । अक्टोबरमा ओमानलाई उसैको गृह मैदानमा ६९ रन बनाएयता यो संरचनामा उनको पहिलो अर्धशतक हो ।

भूर्तेल ५७ बल खेली ८४ रनमा अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । भूर्तेल र कप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटमा ५८ रनको अविजित साझेदारी गरे । दीपेन्द्र १७ बल खेली ३ चौका प्रहार गरी २३ रनमा अविजित रहे ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २८ रनमात्र बनाउन सकेको थियो । नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तीव्र बलर हेमन्त धामीले खेलको पहिलो बलमै मोहम्मद वासिमलाई एलबीडब्लु आउट गरि नेपाललाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । दोस्रो ओभरमा नन्दन यादवले अलिसान सराफुलाई १ रनमा विकेटकिपर लोकेश बमबाट सानदार क्याच गराए ।

हेमन्तले आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा हरप्रित सिंहलाई १ रनमा आउट गराए । ओपनर अबिद इस्मानीले ३० रन बनाए । २२ बल खेलेका उनी समान २ चौका र छक्का प्रहार गरेपछि सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट भए । आफ्नो पहिलो ओभरमा १७ रन खर्चेका शाहव आलमले दोस्रो ओभरमा सोहेब खानलाई शून्यमा आउट गरे भने सोहि ओभरमा निलान्श केशवानी शून्यमा रनआउट भए ।

यूएई आठौं ओभरमा ४८–६ पुगेको अवस्थाबाट आकाशदिप नाथ र मोहम्मद अरफानले सातौं विकेटमा ६४ रनको साझेदारी गरे । अरफानले ३६ बल खेली २ चौका र १ छक्काका साथ ३२ रन बनाए । सन्दीपले अर्को बलमा खुजाइमा तानभिरलाई शून्यमा आउट गरे । आकाशदिप ५३ रन बनाई अविजित रहे । उनले ४२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । मोहम्मद जुहेब ८ रनमा अविजित रहे ।

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नन्दन र शाहवले १–१ विकेट लिए । नन्दनले ४ ओभरमा ४४ र शाहवले ३ ओभरमा २९ रन खर्चे । सन्तोषले १ ओभर बलिङ गर्दै ११ रन खर्चे । नेपालले पहिलो खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष र शाहव आलमलाई खेलाएको थियो ।

– विनोद पाण्डे