

नेपालगन्ज, वैशाख ८ गते । भगवान रामको नगर भारतको अयोध्यासँग नेपालगन्जलाई धार्मिक रुपमा जोडेर दुबै देशको धार्मिक पर्यटनलाई प्रवर्द्घन गर्न नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ ।
देशकै पहिलो तथा अग्लो दावी गरिएको सो १०८ फिट अग्लो हनुमानको मूर्तिको निर्माण कार्य तिव्र गतिमा भइरहेको र अन्तिम चरणमा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरका सिभिल इन्जिनियर सुरज शर्माले मूर्ति निर्माणको काम करिब ९० प्रतिशत पुरा भएको जनाउँदै आगामी दुई महिनामा सो कार्य पुरा हुने जानकारी दिनुभयो ।
उहाँले फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको र अब फिनिशिंगको काम हुने बताउनुभयो ।
देशकै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणबाट नेपालगन्जको धार्मिक र सांस्कृतिक महत्व थप बलियो हुने र भारतको अयोध्यासँग सिधै सम्बन्ध जोडेर भगवान रामको दर्शनका लागि अयोध्या पुग्ने पर्यटकलाई यहाँ ल्याउने प्रयास शुरु गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको बताउनुभयो ।
उहाँले यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाउँदै अयोध्यासँगको आध्यात्मिक कनेक्सनमा यो मूर्ति कोशेढुङगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालगन्जको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसँग जोडिएकोमा हनुमानको मूर्ति निर्माणपछि अब यसमा नयाँ आयाम थपिने स्थानीय अगुवा ललित रौनियारले बताउनुभयो ।
उहाँले धार्मिक पर्यटन प्रवर्द्घनका लागि हनुमानको यो मूर्ति निकै फलदायी प्रमाणित हुने पनि बताउनुभयो । १४ करोड चार लाख ६३ हजार रुपियाँमा निर्माण भइरहेको सो मूर्ति निर्माण गरिरहनुभएका कालिगढ दिलबिर सुनार सेन्चुरीले मूर्ति निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै अबको दुई महिनामा मूर्ति हस्तान्तरण गर्ने तयारी रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर दुई हनुमानगढीमा सो मूर्ति निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते जम्बुदीप कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।
सुरुवातको अवधि २०८१ चैत २ गतेसम्म रहेकोमा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
तर, मूर्ति निर्माणको कार्य सो अघिनै सम्पन्न गरिने उपमहानगरका सिभिल इन्जिनियर सुरज शर्माले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































