

काठमाडौँ, वैशाख ९ गते । बिरामीको उपचार गरेको दृश्य सामाजिक सञ्जालमा राखेपछि एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएका भिडियो सामग्रीका विषयमा डा. सुधीरप्रसाद साहलाई स्पष्टीकरण सोधेको हो । भिडियो सामग्रीले पेसागत आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म टिकटक मार्फत सार्वजनिक गरिएका भिडियोको विस्तृत अध्ययनपछि प्रारम्भिक रूपमा ‘कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट, २०१७’ का विभिन्न प्रावधान उल्लङ्घन भएको निष्कर्ष निकालिएको बताउनुभयो ।
डा. देवले उक्त भिडियोले चिकित्सकीय पेसाको मर्यादा, बिरामीसँग सम्बन्धित संवेदनशील विषयको प्रस्तुति तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी मापदण्डमा प्रश्न उठेको बताउनुभयो । काउन्सिलले डा. साहलाई सोधेको स्पष्टीकरणमा सात दिनभित्र काउन्सिलमा जवाफ पठाउन निर्देशन दिइएको छ ।
डा. साह हाल भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आबद्ध रहेको बताउँदै उहाँले सामाजिक सञ्जालमा सक्रिय रहँदै विभिन्न विषयमा भिडियो सामग्री उत्पादन र प्रकाशन गर्दै आएको जानकारी दिइएको छ । ती भिडियो छोटो समयमै व्यापक रूपमा फैलिएको र आम-सर्वसाधारणबिच ठुलो चासोको विषय बनेको थियो ।
मेडिकल काउन्सिलले यसअघि पनि चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन, पेसागत मर्यादा कायम राख्न र बिरामीको गोपनीयता जोगाउन पटक पटक निर्देशन दिँदै आएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































