

सल्यान, वैशाख १० गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको छ। बसपार्कको उद्घाटन शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले गर्नुभएको हो।
बसपार्क सञ्चालनमा आएपछि साना–ठूला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारीसाधन अब बसपार्कभित्रबाटै सञ्चालन हुन थालेका छन्। यसअघि बजार क्षेत्रका सडक र फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई पनि बसपार्कभित्रै व्यवस्थापन गरिएको छ।
बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शारदा नगरपालिका–२ लाई दिइएको छ। सम्झौताअनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक ५२ लाख रुपियाँ राजस्व बुझाउनेछ। यसबाट नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई सहजता हुने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी पर्ती/ऐलानी जग्गामा फैलिएको छ। नेपाल सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा करिब ५ करोड ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको यो आयोजना नगरपालिकाको प्राथमिकतामा रहेको गौरवको आयोजना हो।
शारदा नगरपालिकाका इन्जिनियर खगेन्द्र मल्लका अनुसार बसपार्क परिसरमा दुईवटा ३४ कोठे व्यापारिक भवन निर्माण गरिएका छन्। बसपार्कमा ३५ वटा स्टल र ३४ वटा सटर सञ्चालनमा रहेका छन्। साथै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना निर्माण गरिएको छ।


नगरप्रमुख भण्डारीले उद्घाटनका क्रममा पहिले बसपार्क अव्यवस्थित हुँदा सडकमै गाडी पार्किङ गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसले बजारको सौन्दर्यमा समेत असर परेको बताउनुभयो। “अहिले श्रीनगर बसपार्क आधुनिक, व्यवस्थित र सुविधासम्पन्न पूर्वाधारका रूपमा स्थापित भएको छ,” उहाँले भन्नुभयो।
सल्यान–रुकुम यातायात प्रालिका डायल इन्चार्ज सुनिल थापाले आधुनिक बसपार्क सञ्चालनसँगै यात्रु तानातान, बीच बाटोबाट सवारी चढाउने तथा क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता समस्या समाधान हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले बसपार्कभित्रबाटै सवारीसाधन सञ्चालन गराउन स्थानीय सरकारले पहल लिनुपर्ने बताउनुभयो।
यस्तै, सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारीले बसपार्कले श्रीनगर क्षेत्रको सौन्दर्यीकरणसँगै व्यापारिक आकर्षण बढाउने बताउनुभयो। उहाँका अनुसार बसपार्क सञ्चालनले यातायात व्यवस्थापन व्यवस्थित बनाउँदै व्यापार विस्तारका लागि नयाँ अवसर सिर्जना गर्नेछ।
– प्रतीक इच्छुक शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































