काठमाडौँ, वैशाख ९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको रुपमा अगाडि बढाउन प्रयत्न गरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “कमरेड केपी ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवादलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रुपमा अगाडि बढाउन प्रयत्न गर्यो। हामीले पार्टीको दशौं महाधिवेशनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यक्रमिक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने ठोस अवधारणा तयार गर्ने काम गर्यों। एघारौं राष्ट्रिय महाधिवेशनमा आएर निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भका हाम्रा सङ्कल्प र सोचलाई प्रस्तुत गर्यों।”
उहाँले २०८२ भदौ २३ र २४ गते घटेको घटनाको सन्दर्भमा एमालेले गरेको विश्लेषण जनताले मन नपराएको वा सत्य कुरालाई जनताको बिचमा बुझाउन नसकिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि जनताले हामीसँग सम्बन्ध तोडिसकेको छैन । तर भदौ २३ र २४ गतेको घटनाको सन्दर्भका बारेमा हामीले जे विश्लेषण गर्यों, त्यो विश्लेषणलाई जनताले मन पराएनन् । अर्को अर्थमा भन्ने हो भने हामीले सत्य कुरालाई जनताका बिचमा बुझाउन सकेनौं । जसका कारणले गर्दाखेरी आज हामी जनताबाट टाढिएका छौं ।”
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो भने केन्द्रमुखी मानसिकता त्याग्नुपर्ने र जनतासँगको संवादमा जानुपर्ने बताउनुभयो । “हामी यो बिचको अवधिमा सत्ता केन्द्रीत भएछौं, केन्द्रमुखी भएछौं । त्यस अर्थमा हाम्रो पार्टीलाई नयाँ जीवन प्रदान गर्ने हो भने नयाँ ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो भने हाम्रो सत्ता केन्द्रीत मानसिकतालाई बदल्नैपर्दछ । केन्द्रमुखी मानसिकतालाई बदल्नैपर्दछ”, उहाँले भन्नुभयो, “हामीले आफूलाई जनतातिर फर्काउनु पर्दछ जनताको मन जित्नुपर्दछ । जनतासँगको संवादमा हामी जानु पर्दछ । जुन कुरा हामीले विगतमा भनेका थियौं, हामीले गर्न नसक्दाको परिणाम हामीले बेहोरेका छौं ।”


उहाँले पार्टीको पुनर्जागरण र पुनर्गठनको कुरा गरिरहँदा सबैले केन्द्रतिर नभइ जनतातिर फर्कने सङ्कल्प गर्नुपर्ने बताउनुभयो । कम्युनिस्ट पार्टी स्थापनाको मर्मलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
विगतमा नेकपा विभाजनको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “नेकपा किन असफल भयो ? जसरी नेकपाभित्र समस्या थियो, त्यस्तै प्रकारको समस्या नयाँ शक्तिभित्र अहिलेदेखि नै प्रकट भइसकेको छ । त्यस अर्थमा हामी आत्तिनु पर्ने कुनै विषय छैन । हामीले हाम्रो पार्टीलाई एकताबद्ध बनाएर लान सक्यौं भने हाम्रो कार्यकर्ता पङ्तिमा विश्वास र भरोसा जगाउन सक्यौं भने यो पार्टीले पुनर्जागरणका माध्यमबाट नयाँ जीवन प्राप्त गर्न सक्दछ ।”
उहाँले पार्टीमा युवा नेतृत्व स्थापित गर्न वडा, पालिका तहदेखि नै योजना तथा कार्यक्रम गरिए पनि यो सफल हुन नसकेको पनि बताउनुभयो ।
“युवालाई नेतृत्वमा स्थापित गर्न आरक्षणको नीति बनायौं, प्रदेश कमिटीमा दश प्रतिशत, जिल्ला कमिटीमा १५ प्रतिशत, पालिका तहमा २० प्रतिशत युवा नेतृत्व स्थापित गर्ने, वडा र आधारभूत तहमा ३३ प्रतिशत युवा नेतृत्व स्थापित गर्ने योजना बनायौं” उहाँले भन्नुभयो, “यस प्रकारको योजना बनाउने पार्टी अरु कोही थिएन, नेकपा (एमाले) मात्रै थियो । तर, त्यसले पनि हामीले युवाहरुको विश्वास र भरोसा जित्न सकेनौं । अर्कोतिर हामीले जुन समुदाय हामीबाट टाढिएको छ, त्यो समुदायको विश्वास जित्न सकेनौं ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































