04/28/2026, 10:41:00
मङ्गलबार, बैशाख १५, २०८३

दाइजोविरुद्ध उपसभामुख ठाकुरको सराहनीय पहल


काठमाडौँ, वैशाख १५ गते । केही दिनअगाडि नयाँ उपसभामुख रुवीकुमारी ठाकुरले दाइजोसम्बन्धी आफ्नो अडान सार्वजनिक गरेर यसलाई सम्पूर्ण रूपमा बहिष्कार गर्ने तथा दाइजो लिने र दिने विवाहमा आफू सहभागी नहुने जानकारी गराउनुभयो । यो अत्यन्तै सराहनीय धारणा हो । हुन त उहाँले दाइजोसम्बन्धी लिएको अडान कुनै पनि सभ्य समाजको साधारण आचरणमा पर्छ तर यस लेखमा उहाँको तारिफ गर्नुको एउटा छुट्टै पृष्ठभूिम छ ।

असंवेदनशील राजनीतिक नेतृत्व

माओवादी द्वन्द्वपश्चात् शान्ति प्रक्रिया सुरु भएपछि एउटा अनुसन्धानले के देखाएको थियो भने महिलामाथि हुने हिंसा नेपालमा बढ्दो छ । शान्ति प्रक्रियाद्वारा लैंगिक समानतालाई केही प्राथमिकता दिइए पनि सशस्त्र द्वन्द्वमा हिंसालाई सामान्यीकरण गर्ने हुँदा त्यसको सबैभन्दा धेरै नकारात्मक असर महिलालाई परेको रहेछ । महिलामाथि बढ्दो हिंसामध्ये दाइजो सम्बन्धित हिंसा प्रमुख देखिएको थियो ।

त्यही समयताका संयोगले म एउटा त्यस्तो परियोजनामा संलग्न हुन पुगें, जसले सबै प्रमुख राजनीतिक दलहरूलाई एकै मञ्चमा राखेर नयाँ संविधानका विवादित विषयहरूमा सहमति खोज्ने पहल गर्थ्यो । आधा जनसंख्याको भौतिक सुरक्षाका विषय संविधानभन्दा पनि महत्त्वपूर्ण हो कि जस्तो लागेर मैले प्रमुख दलहरूको बैठकमा महिला हिंसा अन्त्य गर्न राजनीतिक दलहरू आफैंले पहल गर्नुपर्ने धारणा राखें । यस्तो संवेदनशील विषय समाधान गर्न गैरसरकारी संस्थाहरूको भर परेर मात्र हुँदैन भनेर जोड दिएँ ।

छलफलका क्रममा मधेशमा दाइजोको समस्या अत्यन्तै विकराल भएकाले यस विषयमा त्यहाँ सामूहिक अभियान चलाउनुपर्ने प्रस्ताव आयो । तर मधेशकेन्द्रित दलका केही प्रतिनिधिहरूले दाइजोका विषयमा सर्वदलीय अभियानमा जान मधेशको परिवेशमा सम्भव नभएको बताए । मैले बुझेअनुसार दाइजो अन्त्य गर्ने अभियान मधेशका ठूलाबडाको स्वार्थविपरीत हुन्थ्यो । यदि ठालुहरू रिसाए भने आफ्नो भोट घट्ने हो कि भन्ने चिन्ता मधेशका नेताहरूको थियो । यसै कारणले गर्दा दाइजो अन्त्य गर्ने राजनीतिक अभियान सञ्चालन हुन सकेन ।

जिउँदै जलाइएकी रिहाना

दाइजो समस्याप्रति राजनीतिक असंवेदनशीलताको परिणाम तुरुन्तै देखियो । सन् २०१४ मा जब काठमाडौंका विलासी होटलहरूमा महिला दिवस मनाइँदै थियो, नेपालगन्जबाट भने १९ वर्षीया रिहाना शेखलाई श्रीमान्ले जिउँदै जलाएको समाचार आयो । कारण थियो— दाइजो । उनका श्रीमान्ले रिहानाका परिवारसँग मोटरसाइकल, घडी र भैंसी माग गरेका थिए । जब त्यो माग पूरा भएन, श्रीमान्ले रिहानालाई शारीरिक यातना दिन थाले । उनी चुरोटले रिहानाका शरीरभरि पोलिदिन्थे । एक दिन त उनले रिहानालाई जलाइदिए । जबकि त्यतिबेला उनी सात महिनाकी गर्भवती थिइन् ।

यो समाचार पढ्दा सबैभन्दा हृदयविदारक सन्दर्भ के थियो भने— रिहानालाई जलाएपछि उनको परिवारले मर्नका लागि त्यत्तिकै कोठामा छोडेर हिँड्नु । उनी पीडामा रोएर कराएको सुनेपछि छिमेकीहरूले रिहानालाई बचाएका थिए । मरेको भए त सकिहाल्थ्यो (यो आफैंमा अत्यन्त दुःखद् विषय हुन्थ्यो) तर आगोले जलेको शरीर लिएर कुनै उपचारबिना ती रिहानाले कसरी पीडा सहिन् होला ?

रिहानाका श्रीमान् कुनै दलसँग आबद्ध भएकाले उनलाई भारत भगाइएको थियो । चर्चामा आएपछि केही राजनीतिक नेताहरू रिहाना भेट्न वीर अस्पताल गए । तर उनीहरूले न रिहानाका अपराधीहरूलाई समात्न पहल गरे, न त त्यसको जड दाइजो अन्त्यका लागि नै । बिचरा जलेकी गर्भवती रिहानाको वजन २० किलोमा झरेको रहेछ । केही व्यक्तिगत पहल गरेर उनलाई पोषणयुक्त खानाको व्यवस्था गरियो । तर रिहानालाई भेट्न गएका शक्तिशाली नेताहरूबाट उनको स्वास्थ्य उपचारका लागि पनि कुनै योगदान भएन ।

विगतमा दाइजोको समस्यामा नेताहरूको यस्तो असंवेदनशीलता देखेकाले नयाँ उपसभामुखले राख्नुभएको सामान्य अडान पनि सराहनीय लागेको हो । महिलामाथि हुने हिंसा नेपालमा बढ्नुको मुख्य कारण राजनीतिक दलहरूले महिला हिंसाका अपराधीहरूलाई संरक्षण गर्ने प्रवृत्ति पनि हो । यो समस्या नेतृत्वको कति कम प्राथमितामा परेको छ भन्ने विषय नेपाल सरकारसँग दाइजोबाट पीडित महिलाहरूको समष्टिगत तथ्यांज्ञसमेत पनि नभएकाले सन्दर्भले देखाउँछ ।

देशैभरि दाइजोको समस्या

मधेश मात्र होइन, दाइजोको समस्या देशैभरि छ । यसमा आफ्ना केही व्यक्तिगत प्रसंगहरू जोडेर चर्चा गर्ने कोसिस गरेकी छु । मैले भारतको प्रसिद्ध लेडी श्रीराम कलेजमा स्नातक पढ्ने मौका पाएकी थिएँ । त्यहाँकी प्रधानाध्यापिका मीनाक्षी गोपीनाथलाई खाँटी महिलावादी भनेर चिनिन्थ्यो । एक दिन उहाँले एसेम्बलीमा रिसाउँदै भन्नुभयो– ‘यस्तो प्रतिष्ठित कलेजमा पढेर सक्षम भएपछि पनि आमाबुबालाई विवाहका लागि खर्च गर्न दबाब दिने भए, आफ्नो डिग्री च्यातिदिनू ।

उहाँका अनुसार भारतमा हजारौं किसानले आफ्ना छोरीहरूलाई दाइजो दिन नसकेर आत्महत्या गरेका थिए । यदि पढेलेखेका महिलाहरूले पनि दाइजोको चलनमा परिवर्तन नल्याउने हो भने उनीहरूको डिग्रीको कुनै औचित्य हुँदैन ।

उहाँको धारणाले मेरो कलिलो युवा मनलाई अत्यन्तै प्रभावित पार्‍यो । मैले आफू र आफ्ना नजिकका साथीमा उहाँले भनेको विषय लागू गर्ने निर्णय गरें । दाइजो मात्र होइन, विवाहमा नै कुनै खर्च गरिएन भने सायद त्यसले आर्थिक रूपमा कमजोर परिवारमा छोरीको विवाहको खर्चका लागि सामाजिक दबाब कम हुन्थ्यो कि भन्ने लागेको थियो ।

कलेज सकिएको केही वर्षपछि विवाहको समय भयो । सबैभन्दा पहिला मेरी बाल्यकालदेखिकी साथीको पालो आयो । उनी सम्पन्न परिवारकी अत्यन्तै सक्षम इन्जिनियर थिइन् । कुनै खर्चै नगरी उनको विवाह गर्न त सम्भव भएन तर मेरो सुझाव अनुसार उनले विवाहमा अत्यन्त थोरै र सामान्य गहना लगाइन् । प्रायः विवाहमा छोरीहरूलाई खाट, दराज, सोफा सेट दिने चलन हुँदा उनले उपहारै दिने भए विवाहमा होइन, बरु पछि मलाई पैसा नै दिनु भनेर आफ्नो परिवारलाई भनिन् ।

हाम्रो उद्देश्य भनेको यदि सम्पन्न घरका सक्षम छोरीहरूले सीमित गहना लगाएर, केही दाइजो नलिई विवाह गरे भने विपन्न परिवारलाई पनि त्यसो गर्न सकिन्छ भन्ने उदाहरण मिलोस् भन्ने थियो । आफैं राम्रो कमाउने र चेतनशील भएकीले ती साथीमा दाइजोको कुरीतिविरुद्ध लड्ने बलियो आत्मविश्वास थियो ।

तर विवाहको केही हप्तापछि नै त्यो आत्मविश्वास समाप्त भयो । उनले मलाई भेटेर भनिन्– ‘तिमीले दिएको सल्लाह त बेठिक रहेछ । विवाहपछि श्रीमान्का केही आफन्तहरू त के–के ल्याएको रहेछ भनेर कोठामा हेर्न आए, त्यहाँ केही थिएन ।’  उनका गहना पनि श्रीमान्का आफन्तले हेरेका रहेछन् । ‘कति साना ? यति थोरै के लगाएको ?’ भनेर साथीकी सासूलाई सुनाएका रहेछन् । सामाजिक दबाबमा आएर साथीकी सासूले ‘आफूसँग थिएन भने हामीले नै दिएको ठूलो सेट लगाएको भए भइहाल्थ्यो नि’ भन्नुभएछ ।

नयाँ दुलही मेरी साथीलाई नयाँ परिवारबाट यस्तो धारणा सुन्नु परेर निकै चित्त दुखेछ र साह्रै तनाव भएछ । साथीले अनुभव गरे अनुसार– विवाहमा दिएको भनेको छुट्टै हुँदो रहेछ, पछि छोरीलाई जति दिए पनि त्यसको अर्थ हुँदो रहेनछ । विवाहमा नदिँदा बुहारी र उनको परिवारको इज्जत नै हुँदैन रहेछ ।

यति शिक्षित र आर्थिक रूपमा आत्मनिर्भर महिलाहरूको अवस्था त यस्तो छ भने अरूको के होला ? यसले के देखाउँछ भने गाउँमा मात्रै होइन, सहरमा पनि दाइजोको सामाजिक दबाब उत्तिकै व्याप्त छ । राजधानी काठमाडौंमै व्यापारिक मारवाडी घराना अहिले पनि निर्धक्क ‘तिलक’ को माग गर्छन्, उनीहरू धनी भएर होला, यसलाई कुनै अपराध नै मानिँदैन ।

जनजाति समुदाय, जसमा दाइजोको कुनै चलन नै थिएन, त्यहाँ पनि यो कुरीति सुरु भएको छ । जनवादी विवाहको विकल्प दिने वामपन्थी नेताहरू पनि आजकल दाइजो संस्कृतिलाई बढावा दिने भद्दा विवाहको आयोजक भएका गत साल जेन–जी विद्रोहमा भाइरल भएको भिडियोले देखाएको थियो । यी उदाहरणले मधेशमा मात्रै होइन, देशैभरि दाइजोको समस्या व्याप्त छ भन्ने देखाउँछ ।

समाजकै भाइरस

झट्ट हेर्दा विवाहमा आफूले सकेको उपहार छोरीलाई दिनु के गलत भयो भन्ने प्रश्न उठ्ला । तर यो हाम्रो समाजको थुप्रै उत्पीडनसँग जोडिएको छ । हाम्रो समाजमा ‘छोरा होस्’ भन्ने मान्यता यही दाइजोको बोझसँग मुख्य रूपमा सम्बन्धित छ । यही बोझबाट बाँच्नका लागि हाम्रो समाजमा कैयौं छोरीको गर्भमै हत्या पनि गरिन्छ, जुन आजकल बढेको पाइएको छ । एउटा अध्ययन अनुसार नेपालमा जनसंख्याको अनुपातमा हुनुपर्ने हरेक पचास महिलामा एक महिला गायब छन् । यस्तो अवस्थाले सम्पूर्ण महिलामा कस्तो मनोवैज्ञानिक असर पर्छ होला ?

छोरीको भ्रूण हत्या मात्र होइन, दाइजोका कारण मधेशमा कैयौं युवा महिलाले रिहानाले जस्तै यातना भोग्नुपर्छ । दाइजोका कारण हुने कति हत्यालाई भान्साको दुर्घटना भनेर ढाकछोप गरिन्छ र अपराधीलाई कुनै सजाय नै हुँदैन । फेरि मधेशमा यही दाइजोकै कारण महिला शिक्षाबाट पनि वञ्चित हुन्छन् । आमाबाबुहरू पढाउनुभन्दा दाइजोका लागि पैसा जम्मा गर्न बाध्य हुन्छन् ।

अहिलेको चरम उपभोक्तावादी संस्कृतिमा, हुनेखानेले दाइजोको चलनलाई निरन्तरता दिँदा कैयौं परिवारहरूले छोरीको विवाहमा ऋण बोक्नुपर्ने बाध्यता छ । यस्तो ऋण चुकाउन नसक्दा कैयौं छोरीका बाबु र छोरी आफैंले आत्महत्या गरेका उदाहरण छन् ।

त्यसैले दाइजो हाम्रो समाजमा विद्यमान डरलाग्दो भाइरस हो, जसले हाम्रो समाजलाई विषाक्त बनाएको छ । यस्तो सन्दर्भमा आफ्नी छोरीलाई माया गरेर विवाहमा उपहार दिँदा के बिग्रन्छ भन्ने लाग्छ भने कैयौं निर्दोष छोरी, जो दाइजोको निहुँमा मारिन्छन्, तिनलाई सम्झनुपर्छ जस्तो लाग्छ । कैयौं छोरीका बाबु, जो आत्महत्या गर्न विवश हुन्छन्, तिनलाई पनि सम्झिनु जरुरी छ ।

दाइजो प्रथाको अन्त्य

अहिलेसम्मको हाम्रो अनुभवले के देखाएको छ भने शिक्षाको बिस्तारले मात्रै दाइजोको अन्त्य नहुँदो रहेछ । कतिपय क्षेत्रमा जति पढेलेखेको भयो, उति नै धेरै दाइजो लिने चलन भएको भन्ने सुनिन्छ ।

समग्रमा भन्दा दाइजोको समस्या बहुआयामिक भएकाले समाधान पनि बहुआयामिक चाहिन्छ । सबैभन्दा पहिला त छोरीलाई दाइजो होइन, समान पैतृक सम्पत्ति दिने संविधानको अधिकार सरकारले प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नुपर्छ । समान सम्पत्ति दिएपछि दाइजो आफैं असान्दर्भिक हुनुपर्ने हो ।

त्यसका साथै दाइजो, उपसभामुखले भनेझैं बहिष्करण मात्रै होइन, कुरीतिको रूपमा अपराधीकरण गर्न जरुरी छ । अहिले हाम्रो कानुनले प्रत्यक्ष रूपमा दाइजो माग्नुलाई मात्र अपराध मान्छ । राजीखुसीले लिने–दिने चलनलाई हिन्दु धर्म–संस्कृतिसँग जोडेर यसलाई कानुनी वैधानिकता दिइएको छ (सामाजिक सुधार २०३३ ऐनमा दस हजारसम्म दाइजो दिन पाउने व्यवस्था छ) । जबकि पछिल्ला केही अध्ययनले दाइजो प्रथा हिन्दु धर्मबाट नभएर भारतमा बेलायती उपनिवेशबाट मौलाएको कुरीतिका रूपमा देखाएको छ ।

दाइजोको सामाजिक दबाबले गर्दा प्रत्यक्ष नमागे पनि सबै छोरीका परिवारलाई आफ्नो प्रतिष्ठाका लागि भए पनि दाइजो दिनुपर्ने बाध्यता छ । त्यसैले प्रत्यक्ष दाइजो माग्नेलाई मात्र होइन, राजीखुसी लिने–दिने चलनलाई पनि कुरीतिका रूपमा अपराधीकरण गर्न आवश्यक छ ।

दाइजोको चलन नेपाल सरकारले हस्ताक्षर गरेको मानवअधिकार र महिला अधिकार सम्बन्धित अन्तर्राष्ट्रिय कानुनविरुद्ध पनि छ । कानुनले नै दाइजो दिनेलाई अपराध मानेर कारबाही हुन थालेपछि सामाजिक प्रतिष्ठासँग जोडिएको यसको सामाजिक दबाब पनि स्वतः घट्नेछ ।

हुन त दाइजोका विषय मेरो विज्ञता होइन, सीमित भोगाइको चिन्तन मात्रै हो । अरू थुप्रै विज्ञसँग दाइजो पूर्णरूपले अन्त्य गर्ने अझै राम्रा उपायहरू हुन सक्छन् । तर दाइजो अन्त्य नभएको विज्ञको सुझावको कमी भएर भने होइन, राजनीतिक इच्छा–शक्तिको कमी भएर हो ।

नयाँ उपसभामुखले दाइजोका विषय उठाएपछि मैले सरकारको नेतृत्व गरिरहेका रास्वपाका केही दस्तावेजहरू हेरें । मधेशी मूलका ‘देशलाई सुधार्छु’ भन्ने एक छोरीका बाबु प्रधानमन्त्री भएकाले दाइजोसम्बन्धी ठोस प्रस्तावहरू होलान् भन्ने लागेको थियो । तर रास्वपाको वाचापत्र, एक सय कार्यसूचीहरू र राष्ट्रिय प्रतिबद्धता, कुनैमा पनि दाइजोको समस्यालाई प्राथमिकता दिएको पाइनँ । दाइजोका कारणबाट छोरीहरूले जल्नुपर्ने अवस्था नेपालमा अन्त्य नभएसम्म के प्रधानमन्त्रीले परिकल्पना गर्नुभएको– ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’– सार्थक हुन्छ होला र ?

– सृष्टि राणा