

दोलखा, वैशाख १५ गते । दोलखाको वैतेश्वर गाउँपालिकाका किसानहरू लसुनको उचित मूल्य नपाएपछि मारमा परेका छन् ।
वडा नम्बर ३ मिर्गे लसुन खेतीका लागि उर्बर क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएको लसुन कम मूल्यमा बिक्री गर्नुपरेकाले किसानहरू चिन्तित बनेका छन् । किसान रविन थापाका अनुसार गत वर्ष लसुन प्रतिकिलो ३०० रुपियाँमा बिक्री भएको थियो भने यस वर्ष मूल्य घटेर २५० रुपियाँमा झरेको छ । मल, बीउ र मजदुरीको लागत बढ्दो क्रममा रहेको अवस्थामा उत्पादनको मूल्य घट्दा किसानहरूलाई ठुलो मर्का परेको उहाँले बताउनुभयो ।
यहाँका १२ किसानले व्यावसायिक रूपमा लसुन खेती गर्दै आएका छन् । गत वर्ष करिब सात सय क्विन्टल लसुन बिक्री भएको थियो । यस वर्ष उत्पादन राम्रो भए पनि मूल्य घट्दा नाफा न्यून भएको किसानहरूको भनाइ छ ।


लहरेमाने, कोलाफाँट, जैनालु, भुमेथान, चिलाउनेखर्क, पाइले, मजुवा, यार्सा, निम्कोट र लप्से क्षेत्रबाट वार्षिक करिब एक करोड रुपियाँ बराबरको लसुन बिक्री हुँदै आएको छ । यस वर्ष पनि उत्पादन उस्तै रहे पनि प्रतिकिलो ५० रुपियाँ घट्दा आम्दानीमा ठुलो प्रभाव परेको छ ।
समयमै बिक्री नगरे लसुन बिग्रिने डरले पनि किसानहरू कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । सरकारले मल र बीउ निःशुल्क उपलब्ध गराए व्यावसायिक लसुन खेतीमा किसानको आकर्षण बढ्ने र वैदेशिक रोजगारीतर्फ जाने क्रम पनि घट्ने किसानहरूको विश्वास छ ।
– बाबुराम शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































