04/27/2026, 21:31:53
सोमबार, बैशाख १४, २०८३

पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य


दाङ, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । ‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्पदामा धनी पनि छौं । यी सम्पदाहरुलाई जोगाएर भावी पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार पुरातात्विक सम्पदाको संरक्षणसँगै त्यसको प्रवद्र्धन र पर्यटनसँग जोड्ने योजनामा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले आवश्यक पूर्वाधार विकास, संरक्षणका वैज्ञानिक उपाय तथा प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकास गरिने विश्वास व्यक्त गर्नुभयो ।

अनुगमनमा मुख्यमन्त्री आचार्यसहित पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकादल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो । टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो । केही समयअघि पुरातत्व विभागले यस क्षेत्रमा गरेको उत्खननका क्रममा महत्वपूर्ण पुरातात्विक सामग्रीहरु फेला परेका थिए । थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननका क्रममा भेटिएका सामग्री सार्वजनिक गरिएका हुन् ।

blog

उत्खननबाट लिच्छवीकालीन ईंटादेखि थारू समुदायले पूजाआजा गर्दै आएको माटोको घोडाको आकृति, महिलाले लगाउने चुरा, धनुषका तीर, फलाम तथा तामाका औंठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री फेला परेका छन् । लिच्छवीकाल अर्थात करिब छैटौं शताब्दीका मानिने ईंटा भेटिनुले यस क्षेत्रको ऐतिहासिक महत्व अझ पुष्टि भएको छ ।

दरबार क्षेत्रमा यसअघि २०६३ र २०७१ सालमा उत्खनन गरिसकिएको थियो भने हाल तेस्रो चरणको उत्खनन सम्पन्न गरिएको हो । स्थानीय सरोकारवालाहरुले यस क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।

– सन्तोष दहित