काठमाडौँ, वैशाख १९ गते । शुक्रबार बिहानैदेखि काठमाडौंको आकाश धुम्म थियो, सिमसिमे पानी पनि परिरहेको थियो । मौसमको यो उदासीलाई चिर्दै बिहान ठीक ७ बजे बल्खुस्थित सुकुमवासी बस्तीमा ठूलो आवाजसाथ डोजर छिर्यो । टहराहरू एकपछि अर्को गर्दै गर्ल्यामगुर्लुम ढल्न थाले । बस्तीमा भागदौड मच्चियो । राज्यको डोजरले सुकुमवासी बस्तीका बासिन्दालाई विस्थापित गरिरहँदा त्यही बस्तीछेउ बागमती–बल्खु खोलाको दोभान भने विक्षिप्त पार्ने एउटा रहस्य लुकाएर बगिरहेको थियो ।
डोजरले भताभुंग बनाएका घरका भग्नावशेष र लथालिंग सामान बटुलिरहेका विस्थापितमध्येका एक थिए– सन्तोष तामाङ । आफ्नो भत्किएको घरको सामान मिलाउँदै गर्दा उनको नजर अचानक नजिकैको खोलामा पर्यो । धमिलो पानीमा कालो जस्तो देखिने केही वस्तु तैरिरहेको थियो ।
‘सुरुमा त कालो प्लास्टिकको फोहोरको थुप्रो होला भन्ने लाग्यो, काठमाडौंको खोलामा फोहोर बग्नु सामान्य नै हो,’ तामाङले भने, ‘तर, पानीको भेलमा त्यो वस्तु बिस्तारै पल्टियो । पल्टिएपछि एउटा हात माथि निस्कियो । अनि पो छाँगाबाट खसेजस्तो भएँ, त्यो त मान्छे पो रहेछ !’


खोलामा मान्छे तैरिइरहेको देखेपछि सन्तोषले हतार–हतार चिच्याउँदै स्थानीय र त्यहीँ तैनाथ प्रहरीलाई खबर गरे । बस्ती विस्थापनका लागि सुरक्षा दिन र हूलदंगा नियन्त्रण गर्न पुगेका प्रहरीको टोली तत्कालै खोलाकिनार पुग्यो । स्थानीयको सहयोगमा प्रहरीले उक्त शरीरलाई किनारमा ल्यायो र भर्खरै भत्काइएको घरको भग्नावशेषमाथि राख्यो । ती व्यक्तिको सास उडिसकेको थियो ।
‘कसैले उहाँलाई चिन्नुहुन्छ ? कोही आफन्त हुनुहुन्छ यहाँ ?’ मुचुल्का उठाउनुअघि प्रहरीले उपस्थित भीडलाई सोध्यो । कसैले पनि ती व्यक्तिलाई चिन्न सकेनन् । डोजरको त्रास र आफ्नो बासस्थान गुमेको पीडामा रहेका स्थानीयका लागि त्यो अर्को ठूलो झट्का थियो ।
त्यही बेला रिपोर्टिङ गर्न पुगेकी थिइन् पत्रकार उर्मिला ग्वामा थारू । उनले त्यो कारुणिक दृश्य आफ्नै आँखाले देखिन् । ‘म घटनास्थल पुग्दा त्यहाँ प्रहरी र केही स्थानीय मात्रै थिए । भत्किएका टहराहरूको छेउमा शव राखिएको थियो । प्रहरीले त्यो शव पहिचान गर्न सक्ने व्यक्ति कोही छ कि भन्दै अनुहार देखाएर सोधखोज गरिरहेको थियो,’ थारूले भनिन्, ‘एकछिनपछि भीडलाई चिर्दै एक युवा ‘म छोरा हुँ’ भन्दै रुँदै आइपुगे । त्यसपछि माहोल थप स्तब्धपूर्ण बन्यो ।’
मृतक थिए ६१ वर्षीय इन्द्रबहादुर राई । उनको जीवन काठमाडौंका सडक र गल्लीहरूमा भारी बोकेरै बितेको थियो । उनी खोटाङको पहाडी भेगबाट सुन्दर भविष्य र परिवारको सुखको खोजीमा काठमाडौं उपत्यका छिरेका थिए । छिमेकीहरूको भनाइलाई आधार मान्ने हो भने उनी काठमाडौंमा संघर्ष गर्न थालेको दुई दशकभन्दा बढी भइसकेको थियो । पछि उनी स-परिवार बल्खुको सुकुमवासी बस्तीमा बस्न थालेका थिए ।
इन्द्रबहादुरको कर्मथलो थियो– बल्खुको फलफूल मण्डी । उनी त्यही मण्डीमा दैनिक सयौं किलो फलफूलका क्रेटहरू पिठ्यूँमा बोकेर जीविकोपार्जन गर्थे । इन्द्रबहादुरका छिमेकी ५० वर्षीय प्रज्वल लिम्बूका अनुसार उनी अत्यन्तै मिहिनेती थिए । ‘उहाँ यही फलफूल मण्डीमा भारी बोक्ने काम गर्नुहुन्थ्यो । उहाँलाई हामी सबै आदरले राई दाइ भनेर सम्बोधन गर्थ्यौं,’ लिम्बूले भने, ‘उहाँको काँध र नाम्लोले नै परिवार धानेको थियो ।’
इन्द्रबहादुरका चार छोरी र एक छोरा छन् । काठमाडौं जस्तो महँगो सहरमा सुकुमवासी बस्तीको एउटा छाप्रोमा बसेर उनले आफ्ना पाँच सन्तान हुर्काएका थिए । ‘राई दाइ हाम्रो घरनजिकै बस्नुहुन्थ्यो,’ छिमेकी लिम्बूले सुनाए, ‘नाम्लोको भरमा भारी बोकेरै उहाँले आफ्ना छोराछोरी यतै हुर्काउनुभएको हो । यो बस्ती र फलफूल मण्डीसँग उहाँको रगत–पसिना जोडिएको थियो ।’


जुन टहरालाई इन्द्रबहादुरले आफ्नो जीवनको सबैभन्दा सुरक्षित आश्रयस्थल मानेका थिए, शुक्रबार त्यही टहरामाथि राज्यको डोजर चल्ने निश्चित थियो । बस्ती खाली गर्न पहिले नै सूचना दिइएको भए पनि वर्षौंदेखिको बासस्थान क्षणभरमै माटोमा मिल्दै छ भन्ने पिरलोले इन्द्रबहादुरलाई भित्रभित्रै खाइसकेको थियो ।
घटनास्थलमा भेटिएकी उनकी श्रीमती सरिता राई शोकले विक्षिप्त थिइन् । आँसुले भिजेको अनुहार लिएर भग्नावशेषछेउ उभिएकी सरिता धेरै बोल्न सक्ने अवस्थामा थिइनन् । भक्कानिँदै उनले यति मात्र भनिन्, ‘घरमा डोजर चल्ने भएपछि उहाँ बिहानैदेखि चिन्तामा हुनुहुन्थ्यो । बिहानैदेखि बर्बराउँदै हिँड्नुभएको थियो । अहिले…’
आफ्नो जीवनभरको कमाइ र पसिनाले बनाएको सानो आश्रयस्थल आफ्नै आँखा अगाडि ढलेको हेर्न सक्ने तागत ती ६१ वर्षीय वृद्धमा थिएन । स्थानीय प्रज्वल लिम्बूका अनुसार पनि इन्द्रबहादुर शुक्रबार बिहानैदेखि अत्यन्तै तनावमा थिए । ‘घर भत्काएको कसरी हेर्नु !’ भन्दै उनी बस्तीमा यताउति बर्बराउँदै हिँडेका थिए ।
घटनास्थलमै भेटिएका अर्का एक स्थानीयले ‘राई दाइ’ को अन्तिम अवस्थाको हृदयविदारक दृश्य सुनाए, ‘काखीमा सधैं भारी बोक्ने नाम्लो च्यापेर उहाँ बिहानैदेखि बर्बराउँदै हिँड्नुभएको थियो । मुखमा एउटै कुरा थियो– घर भत्काएको हेर्न सक्दिनँ ।’
सधैंजसो मदिरा पिउने बानी भएका कारण स्थानीयले उनको त्यो विक्षिप्त अवस्थालाई गम्भीरतापूर्वक लिएनन् । ‘बुढाले रक्सी खाने भएकाले हामीले खासै मतलब गरेनौं, तर यस्तो पो देख्न लेखेको रहेछ,’ ती छिमेकीले पछुतो मान्दै भने ।
इन्द्रबहादुरको मृत्यु कसरी भयो भन्ने विषयमा घटनास्थलमा विभिन्न अड्कलबाजी भइरहेका थिए । पानी परिरहेको र डोजर चलिरहेको त्यो कोलाहलपूर्ण बिहान खोलामा के भयो भन्ने ठ्याक्कै कसैले भन्न सकेका छैनन् । घटनास्थलमै भेटिएका कतिपय स्थानीयले घर भत्किने पीर सहन नसकेर उनले खोलामा हामफालेको दाबी गरेका छन् । ‘बिहान पानी परिरहेको थियो, त्यही बेला उहाँले हाम फाल्नुभयो । हामीले यहींबाट देखेको हो,’ एक महिलाले दाबी गरिन् ।


कतिपय स्थानीयले भने उनी खोलामा खसेको वा लडेको आकलन पनि गरेका छन् । ‘डोजरको भागदौड वा तनावमा खोलाको किनारमा जाँदा चिप्लिएर लडेको पनि हुन सक्छ,’ अर्का एक स्थानीयले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौंले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अगाडि बढाएको जनाएको छ । ‘नदीमा बग्दै ल्याएको अवस्थामा देखेपछि प्रहरी टोलीले उहाँलाई मृत अवस्थामा फेला पारेको थियो,’ काठमाडौं प्रहरीले भनेको छ, ‘घटनास्थल मुचुल्का र लासजाँच मुचुल्का कार्यपश्चात् मृत्युको यकिन कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको छ ।’
पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै इन्द्रबहादुर राईको मृत्युको वास्तविक कारण खुल्नेछ । ‘कारण जेसुकै भए पनि एउटा सत्य के हो भने राज्यको विकास र सहरी सौन्दर्यका नाममा डोजर चलाइँदा भारी बोकेर यसै सहरलाई सेवा गरिरहेको एक निमुखा नागरिकको जीवनको डोरी पनि चुँडिएको छ,’ एक स्थानीयले भने ।
नाम्लोको भरमा पाँच सन्तानको भविष्य कोरिरहेका इन्द्रबहादुर राई अब कहिल्यै बल्खुको फलफूल मण्डीमा भारी बोक्दै गरेको अवस्थामा भेटिने छैनन् । उनका सन्तानका लागि भत्किएको घर मात्रै होइन, ढलेका बाबुको शून्यता सधैंका लागि बल्खु खोलाको किनारमा गढेर रहनेछ ।
– दया दुदराज
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































