05/01/2026, 16:57:26
शुक्रबार, बैशाख १८, २०८३

बल्खु–वंशीघाटका ५० सुकुमवासीले बुझाए विवरण


काठमाडौँ, वैशाख १८ गते । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमवासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् ।

घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरूले विवरण टिपाएका हुन् । दशरथ रङ्गशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विवरण सङ्कलन गरिरहेको छ ।

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरूलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ ।

उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैँक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले भन्नुभयो, “दशरथ रङ्गशालामा आइपुग्नु भएका सुकुमवासीको विवरण सङ्कलन गरी उहाँहरूलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..