05/01/2026, 21:02:19
शुक्रबार, बैशाख १८, २०८३

सनसनीपूर्ण खेलमा युएईमाथि नेपालको रोमाञ्चक जित


काठमाडौँ, वैशाख १८ गते । दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको सनसनीपूर्ण खेलमा नेपालले युएईलाई ६ रनले हरायो । यो जितसँगै सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । नेपालले यसअघि पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।

वर्षाले प्रभाविक खेलमा जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो ।

युएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६५ रन बनाउनुभएको उहाँले ७२ बलमा चार चौक र दुई छक्का हान्नुभयो । यस्तै खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३ र अदीब उस्मानीले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभएको छ । सन्दीप एक दिवसीय (लिग–२) मा एक सय विकेट पूरा गर्ने खेलाडीसमेत बन्नुभएको छ । यससँगै उहाँको एक दिवसीय विकेट एक सय दुई पुगेको छ । यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेल्नुभयो । दीपेन्द्रले सर्वाधिक सय रन बनाउनुभएको हो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो ।

दीपेन्द्रको यो खेल जीवनको दोस्रो शतक हो । यसअघि उहाँले सन् २०२२ मा त्रिवि मैदानमै पिएनजीविरुद्ध शतक हान्नुभएको थियो । फर्ममा रहनुभएका दीपेन्द्रले यसअघिका खेलमा पनि उत्कृष्ट रन बनाउनुभएको छ । उहाँले युएई विरुद्धको पहिलो खेलमा ७५ र ओमानविरुद्ध ६० रन बनाउनुभएको हो ।

यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११/११ रन बनाउनुभयो । अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । उहाँले घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेल्दै आउनुभएको छ ।

बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई दुई विकेट हात पार्दा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो । जितसँगै २३ खेलबाट १६ अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको युएई आठौँ एवं अन्तिममा छ ।

अब नेपालले यस सिरिजको अन्तिम खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमै वैशाख २९ देखि जेठ ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ कै अर्को सिरिज खेल्ने तय भएको छ ।

– गाेविन्द रेग्मी