धनगढी, वैशाख १८ गते । कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि ‘गाउँले डाक्टर‘ साबित हुनुभएको छ । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बन्नुभएको हो ।
कुनै औपचारिक चिकित्सा शिक्षा हासिल नगरे पनि उहाँले सानै उमेरदेखि सिकेको सीपका आधारमा बिरामीहरूलाई निको पार्दै आउनुभएको छ । मालिस (मसाज) मार्फत नशासम्बन्धी समस्या समाधान गर्ने उहाँकोमा दैनिक ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गर्छन् । यसरी आउनेमा आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल जान नसकेका र कतिपय अस्पतालमा उपचार गराउँदा पनि निको नभएका बिरामीहरू रहने गरेका छन् ।
“भारतको लखनऊसम्म पुगेर उपचार गराउँदा पनि निको नभएका टाढा–टाढाका बिरामी म कहाँ आउने गर्छन्,” चौधरी भन्नुहुन्छ, “धेरैजसोलाई एकै पटकको मालिसले ठिक हुन्छ, अर्को पटक फर्किएर आउनु पर्दैन ।” उहाँले हातखुट्टा र काँसीको हड्डी भाँचिएका व्यक्तिको समेत परम्परागत विधि र जडीबुटीको सहायताले सफल उपचार गर्दै आउनुभएको छ । उहाँ थप्नुहुन्छ, “मलाई एक्सरे मात्र देखाइदिए पुग्छ, अहिलेसम्म मैले उपचार गरेर निको नभएको उदाहरण छैन ।”
अनुभवका आधारमा नशाको समस्या पत्ता लगाउन सिपालु चौधरीले भाँचिएको हड्डी जोड्न गाउँकै एक व्यक्तिले चिनाएको जडीबुटी प्रयोग गर्ने गर्नुभएको छ । “छिमेकी बनकट्टा गाउँकी एक महिलाको खुट्टा भाँचिएर लखनऊ लैजाँदा डेढ लाख भारु लाग्ने बताएपछि उनीहरू फर्किए,” वैद्य चौधरीले स्मरण गर्नुभयो, “मैले डेढ खोरिया जाँडकै भरमा ती महिलालाई हिँड्ने बनाएर पठाएँ ।”


बिरामीले समस्या सुनाउनासाथ कुन ठाउँमा नशा च्यापिएको छ भन्ने ठम्याउनुहुने उहाँले विपरित दिशामा मालिस गरेर नशालाई सामान्य अवस्थामा ल्याउने गर्नुहुन्छ । उपचारका लागि गौरीगङ्गा नगरपालिकाका शेरबहादुर चौधरी र धनगढीका अर्पण चौधरीले अस्पताल धाउँदा निको नभएको आफ्नो समस्या यहाँ आएपछि निको भएको अनुभव सुनाउनुभयो ।
परम्परागत यस उपचार विधिलाई आधुनिक विज्ञानले स्वीकार नगरे पनि उहाँकोमा नशाको समस्या भएका डाक्टरहरूसमेत मालिस गराउन आउने गरेको चौधरीको दाबी छ । दाङदेखि बझाङ, बाजुरा र भारतका बिरामीहरू समेत उहाँकोमा पुग्ने गरेका छन् । उहाँले यी सबै सेवा निःशुल्क प्रदान गर्दै आउनुभएको छ । “कसैले खुसी भएर जे दिन्छन्, त्यो मात्र लिने गरेको छु,” उहाँ भन्नुहुन्छ, “आजसम्म पैसा भने कसैसँग मागेको छैन ।”
– अविनाश चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















































