वालेन्द्र शाहले प्रधानमन्त्री पद सम्हालेको सय दिन पनि नबित्दै देशमा ‘सुशासन’ प्रारम्भ भइसकेको छ । सरकारले आफ्ना कर्मचारीहरूका लागि साताको दुई दिन– शनिबार र आइतबार बिदा तोकेको छ । महिना मरेपछि उनीहरूले पाउने पारिश्रमिक अब पन्ध्र–पन्ध्र दिनमै पाउने भएका छन् । उनको ध्यान नदी किनारामा छाप्रो हालेर जीवन धानिराखेका सुकुमवासी र सुकुमवासीका अवतारमा नदी किनारमा कब्जा जमाएर बसेका ‘हुकुमवासी’ हरूबाट संघीय राजधानी काठमाडौंलाई मुक्त राख्न कडा कदम चाल्नमा केन्द्रित छ । उनको अनुहारको तेज र तत्पर व्यवहार देखेर जनता दंग परेका छन् ।
प्रधानमन्त्री वालेन्द्रले निर्वाचित संसद्को अधिवेशन बोलाएर निर्वाचित संसद् सदस्यहरूलाई शपथ ग्रहण गर्ने मौका प्रदान गरिसकेका छन् । निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि संसद्को अधिवेशन स्थगित भएको छ । अर्को अधिवेशन सुरु नहुँदै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आधा दर्जन अध्यादेश जारी गर्न पठाए । विधेयकहरू संसद्बाट पारित भएर ऐन बन्न समय लाग्ने हुँदा प्रधानमन्त्री वालेन्द्रले अध्यादेशको छोटो बाटो रोजेका थिए । राष्ट्रपति पौडेलले अलिकति हिचकिचाहट र अलिकति सहजताका बीच ती अध्यादेशलाई प्रमाणीकरण गरिदिएका छन् । देशमा विद्यमान संवेदनशील राजनीतिक अवस्थामा राष्ट्र्रपति पौडेलसँग अर्को विकल्प पनि थिएन, सायद ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वालेन्द्र शाहको नेतृत्वमा २१ फागुनको संसदीय निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत हासिल गरेको थियो । वालेन्द्रले रास्वपाको घण्टी नबजाएको भए देशका स्थापित राजनीतिक दलहरूले नै यो चुनाव पनि जित्ने थिए । प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेको नेपाली कांग्रेस र २०४६ को जनआन्दोलनको समयमा मार्क्सवादी–लेनिनवादीका रूपमा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई उनकै चुनाव क्षेत्रमा पराजित गरेका वालेन्द्र प्रधानमन्त्रीका स्वाभाविक उम्मेदवार बने । आज उनी आफ्नै आर्जनमा प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र नेताहरू उनका अगाडि नतमस्तक देखिन्छन् ।


सरकार प्रमुखका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग वालेनको सम्बन्ध ‘कार्यगत’ रहेको स्पष्ट देखिन्छ । रास्वपाका कुनै पनि सांसदसँग प्रधानमन्त्री बालेनको गहिरो ‘आत्मीय’ सम्बन्ध देखिँदैन । रास्वपाका एक सांसदका अनुसार, पार्टीका नेता र सांसदहरू प्रधानमन्त्री वालेन्द्रसँग हच्किन्छन् । वालेन्द्रको मनमा के छ ? त्यसको भेउ पाउन कसैका लागि पनि सहज छैन । उनका केही मित्रहरूका अनुसार, पेसाले इन्जिनियर वालेन्द्रको ‘दिमाग’ को इन्जिनियरिङ कसैले बुझेका छैनन् । उनले आफ्नो व्यक्तित्वलाई पहिरनको आवरणमा लुकाएका छन् ।
चर्चा भएअनुसार, प्रधानमन्त्री वालेन्द्रले पार्टी अध्यक्ष रवि लामिछानेलाई आफ्नो सरकारी आवासको बैठकमा ‘डेढ घण्टा कुराएका’ थिए । त्यो डेढ घण्टा उनी आफ्नी छोरीसँग खेल्दै थिए । अन्ततः अध्यक्ष लामिछाने प्रधानमन्त्री बालेनसँग नभेटी आवासबाट निस्किए । यो घटना काल्पनिक हो कि यथार्थ ? त्यो त प्रधानमन्त्री वालेन्द्र र अध्यक्ष लामिछानेले बताउने विषय हो । तर, वालेन्द्रको व्यक्तित्व बुझेका मानिस यसलाई होइन भन्ने अवस्थामा छैनन् । नेपालका प्रधानमन्त्रीहरूले आफ्नो व्यक्तिगत समय समेत राजनीतिमा खर्च गर्ने गरेको देखिन्छ । वालेन्द्रले आफ्नो व्यक्तिगत समय सुरक्षित राखे भने त्यसको खिसीट्युरी गर्नुपर्ने कारण छैन ।
सबैभन्दा महत्त्वपूर्ण घटना गत बिहीबार मात्र भएको छ । सर्वोच्च अदालतको नेतृत्व गर्ने प्रधानन्यायाधीशको नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्रको प्रस्ताव अनुसार सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्यो । यो निर्णयपछि न्याय र कानुनी क्षेत्रका व्यक्तित्वहरूबाट नकारात्मक प्रतिक्रियाहरू आए । अरू त अरू, वालेन्द्रलाई आफ्नो ‘छोरा’ सरहको व्यवहार गर्ने अन्तरिमकालीन प्रधानमन्त्री सुशीला कार्कीले समेत वालेन्द्रको आलोचना गर्नुपर्ने अवस्था आयो । संविधान र कानुनविद्हरूको नकारात्मक प्रतिक्रियाले मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरियो । प्रधानमन्त्री वालेन्द्रले यस्तो निर्णय त्यत्तिकै गरेका होइनन् । तर, आफ्नै लागि प्रतिकूल हुने काम उनले किन गरे ?


प्रधानमन्त्रीका रूपमा वालेन्द्र कस्तो समाज निर्माण गर्न चाहन्छन् ? उनी विकासको कुन ‘मोडल’ समातेर देशको विकास गर्न चाहन्छन् ? यस्ता विषयमा उनले समय खर्च गरेको देखिँदैन । वालेन्द्र पट्यारलाग्दा भाषण गर्न रुचाउँदैनन् भन्ने त प्रकट भइसकेको छ । राम्रा र रोचक गीत गाउने कलाकारहरू व्यर्थका अनुत्पादक छलफल र बहसमा अल्मलिन चाहँदैनन् । तर, उनी आफ्ना यी गुणहरूका आधारमा प्रधानमन्त्री पदमा बसेका छन् भन्ने कसैले सोच्छ भने त्यो भ्रम हो । आफ्ना व्यक्तिगत गुणहरूका आधारमा मात्रै उनी प्रधानमन्त्री भएका होइनन् । उनले नेपाली राजनीतिमा दैवी शक्ति र ‘पारम्परिक’ शक्तिको महत्त्व बुझेका छन् । उनले अन्तर्राष्ट्रिय परिस्थितिको पनि गहिरो ज्ञान राखेका छन् ।
यतिबेला संसारभरि नै मानिसको उदार चेतना र जीवन मूल्यप्रतिको उसको आस्था कमजोर भएको छ । यस्तो बेला वालेन्द्रको महत्त्वाकांक्षालाई अगाडि बढाउन विभिन्न शक्तिहरू अग्रसर भएका छन् । उनी आफैंले कुनै पार्टी खोलेका छैनन् । उनको आर्थिक दृष्टिकोण पनि स्पष्ट छैन । उनलाई एउटा विषयको राम्रो ज्ञान छ– शक्ति बन्दुकको नलीबाट आउँछ । बन्दुकको शक्तिसँग वालेनको ‘आवश्यकता’ र ‘अनिवार्यता’ नाता जोडिएको स्पष्ट देखिन्छ । यो कुरा दोहोर्याइरहनुको कुनै औचित्य छैन ।
अहिलेको नेपाली राजनीतिको सन्दर्भमा देशको हितमा चासो राख्ने सबैले यति विषय बुझे पुग्छ– लोकतन्त्रको इतिहास ठूलठूला आश्चर्यजनक घटनाले भरिएको छ । तर, घटना जति आश्चर्यजनक भए पनि जनताको लोकतन्त्रको अस्तित्वको अपहरण कसैबाट पनि हुन सक्दैन । जतिसुकै भीषण आन्तरिक विवादले होस् वा एकाधिकारवादी शासन व्यवस्थाको चापले होस्, अहिलेको समयमा कसैले पनि जनताको मुख थुन्न सक्दैन । जनता जतिसुकै सोझा र सरल भए पनि, उनीहरूमा प्रतिरोधको भावना हुन्छ, हुन्छ । जनताका लागि आफ्नो आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रता अत्यन्त मूल्यवान् हुन्छ ।
वालेन्द्रको नेतृत्वमा चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ मत पाएर सरकार बनाएको अवस्थामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका देशका प्रमुख राजनीतिक पार्टीका नेताहरू संज्ञाशून्य भएका छन् । तर, आजको राजनीतिक परिस्थितिमा पनि प्रमुख पार्टीहरू राजनीतिक हिसाबले निष्क्रिय रहेका छैनन् । यद्यपि, उनीहरूमा रहेको यो सक्रियता पर्याप्त छैन । रास्वपाका कतिपय समर्थकहरू देशका प्रतिष्ठित पार्टीहरूलाई आफूले पराजित गरेको मानसिकतामा देखिन्छन् । उनीहरूले यो विषय बुझ्नुपर्छ– लोकतन्त्रमा राजनीतिक दलहरूका बीच जय र पराजय नयाँ विषय मानिँदैनन् । गणतान्त्रिक राजनीतिमा समीकरण परिवर्तन अस्वाभाविक होइन । अहिले केन्द्रमा बन्ने कुनै पनि सरकारले प्रादेशिक सन्तुलनमा बढी ध्यान दिनुपर्छ ।


यतिबेला नेपालको राजनीति सीमित संख्यामा रहेका कुलीन र सम्भ्रान्त वर्गको गहिरो प्रभावमा रहेको छ । नेपालको राजनीतिमा कुनै पनि नेताका लागि जनताका बीच लोकप्रिय हुनु मात्र पर्याप्त छैन । यसका लागि लोकतन्त्रको सिद्धान्त र मान्यता अनुरूप शासन चलाउन नचाहने कुलीनतन्त्रका प्रतिनिधिहरूको स्वार्थ र षड्यन्त्रका विरुद्ध लड्नुको कुनै विकल्प छैन ।
दुर्भाग्यवश, २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि पनि जनताको राजनीतिमा कुलीनतन्त्र हाबी हुने क्रम यथावत् छ । राजनीतिका तन्तुहरू कुलीनतन्त्रकै कब्जामा पर्न थालेका छन् । चाहे कांग्रेस होस् वा एमाले होस् वा नेपाली कम्युनिस्ट पार्टी वा भर्खरै चिचिला हाल्न थालेको राष्ट्रिय स्वतन्त्र पार्टी– राष्ट्रिय पार्टीहरूभित्र कुलीनतन्त्र हाबी भइसकेको छ । नेपालको राजनीति अहिलेसम्म आधुनिकताको चरणमा उक्लिन पाएको छैन । यो विषय सबै पार्टीका महत्त्वपूर्ण नेताहरूले बुझ्नुपर्छ ।
नेपालका सबै राजनीतिक दलहरूमा वैधानिक वा अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने वर्गको बलियो पकड छ । देशको सबैभन्दा नयाँ पार्टी– राष्ट्रिय स्वतन्त्र पार्टी– मा यो वर्गको झन् बलियो प्रभाव रहेको देखिन्छ । नेपालको राजनीतिमा लागेका कतिपय व्यक्तित्वहरूको प्रभावको प्रयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने भुइँफुट्टाहरूका लागि सरकार बनाउनु र गिराउनु सामान्य खेल हो । जनता आर्थिक संकटको चेपमा अल्झिइरहेको समयमा समेत स्वपोषणमा लागेका राजनीतिकर्मी र नेतृत्वसँग जनताले के आशा राख्ने ? तैपनि, नेपालको राजनीतिक पटलमा देशप्रति सचेत नेतृत्वको प्रादुर्भाव होला र देशले विकासको गति लेला भन्ने आशा त गर्नैपर्छ । तर, यो आशा लिने आधार अझै देखिएको छैन । नेताले विकासको आशा प्रकट गरेर मात्रै हुँदैन, परिवर्तनका लागि सक्रिय अग्रसरता लिनुपर्छ । त्यसका लागि देशप्रति सम्पूर्ण समर्पण भाव हुनुपर्छ ।


राजनीतिक दलहरूबिनाको लोकतन्त्रको कल्पना गर्न सकिँदैन । तर, लोकतन्त्रका नाममा राजनीतिक दलहरूले जनताको मर्यादा राख्न सकेनन् भने लोकतन्त्र खण्डित हुन्छ । जनताले कुनै एक राजनीतिक दललाई एक पटक जिताउनुको अर्थ आफ्नो सार्वभौम अधिकार सधैंका लागि जिम्मा लगाउनु होइन ।
अहिले हामी जुन भयावह आर्थिक र सामाजिक स्थितिमा छौं, यसमा सामान्य ढंगले परिवर्तन आउन सक्दैन । पत्रकार लिंकन स्टेफेन्स आफ्नो पुस्तक ‘रिभोल्ट इज नट रिफर्म’ मा लेख्छन्– भ्रष्टतन्त्रका विरुद्ध क्रोध र आवेगको एक झोंक्का मात्रै पर्याप्त हुँदैन । भ्रष्टतन्त्र समूल अन्त्य गर्नका लागि जनताको क्रोध र आवेगमा निरन्तरता चाहिन्छ ।
– किशोर नेपाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































