05/10/2026, 10:41:57
आइतबार, बैशाख २७, २०८३

प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुको सट्टा अध्यादेशबाट बनाइयो थप शक्तिशाली


काठमाडौँ, वैशाख २७ गते । सबै विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने विज्ञहरूको सुझावविपरीत सरकारले अध्यादेश ल्याएर प्रधानमन्त्रीलाई कुलपतिका रूपमा थप शक्तिशाली बनाएको छ । सरकारले अध्यादेश ल्याउँदै १६ विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई पदमुक्त गरिसकेको छ ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ मा विज्ञहरूले सबै विश्वविद्यालयमा कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने सुझाव दिएका थिए । नीति अनुसन्धान प्रतिष्ठानले समेत सरकारलाई प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउन सुझाव दिएको थियो । सरकारले अध्यादेश ल्याएर उपकुलपति, रेक्टर र रजिस्ट्रारको नियुक्ति खारेज गर्दा कुलपतिको व्यवस्थालाई भने संशोधन गरिएको छैन । प्रधानमन्त्री नै कुलपति हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि सरकारले उपल्लो तहका पदाधिकारीहरूको नियुक्ति खारेज गरेको छ ।

शिक्षाविद्हरू सरकारको पछिल्लो कदमले कुलपतिलाई थप बलियो बनाएको बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले उच्च शिक्षासम्बन्धी नयाँ ऐन जारी गरेर प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनुको सट्टा उल्टो प्रक्रियाबाट पदाधिकारी हटाइएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीलाई कुलपति बनाउने बुद्धि नै दुर्बुद्धि हो । प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउनैपर्छ । प्रधानमन्त्री परिवर्तन हुनेबित्तिकै विश्वविद्यालयको पदाधिकारी परिवर्तन हुनु नै गलत छ ।

सरकारले अध्यादेशमार्फत त्रिवि ऐन, २०४९ मा संशोधन गर्दै विश्वविद्यालयको सर्वोच्च निकाय सभा (सिनेट) मा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियनको संस्थागत प्रतिनिधित्व हटाएको छ । त्यसको सट्टा अब प्रधानमन्त्री तथा कुलपतिले सिधै प्राध्यापक, विद्यार्थी र कर्मचारीबाट सभाको सदस्य चुन्न सक्ने भएका छन् । अन्य विश्वविद्यालयको सभाबाट पनि मनोनीत हटाएर प्रधानमन्त्रीले सोझै सदस्यहरू मनोनयन गर्ने प्रावधान राखिएको छ ।

यसअघि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघबाट १/१ जना र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूमध्येबाट २ जना सभाको सदस्य मनोनयन गर्ने व्यवस्था थियो । त्यसको सट्टा त्रिविका शिक्षकहरूमध्ये दुई महिलासहित पाँच सदस्य मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ । विद्यार्थीबाट एक महिलासहित २ र कर्मचारीबाट एक सभा सदस्य मनोनीत हुने व्यवस्था गरिएको छ । सभाको अध्यक्षता प्रधानमन्त्री तथा कुलपतिले गर्नेछन् ।

त्रिवि सभामा अब लगभग सबै सदस्य कुलपति र उपकुलपतिले चुन्नेछन् । अन्य सबै विश्वविद्यालयमा पनि प्राध्यापक, विद्यार्थी र कर्मचारी प्रतिनिधि छान्ने अधिकार कुलपतिलाई दिइएको छ । ‘प्राध्यापक, विद्यार्थी र कर्मचारीले विपक्षीका रूपमा सिनेटमा आवाज उठाउँदै आएका थिए । अब सबै सदस्य प्रधानमन्त्रीले नियुक्त गर्ने, एजेन्डा पनि प्रधानमन्त्रीले पेस गर्ने र निर्णय गराउने भए,’  त्रिविका एक प्राध्यापकले भने, ‘सबै विश्वविद्यालयमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप र एकाधिकार झनै बढेर जाने देखिन्छ ।

राजा कुलपति रहने व्यवस्था रहेको २०२८ को त्रिवि ऐनमा पनि अधिकांश सभा सदस्य कुलपतिले नै मनोनयन गर्न सक्ने प्रावधान थियो । विद्यार्थी र प्राध्यापक प्रतिनिधि भने उनीहरूमध्येबाट निर्वाचितबाट मनोनयन गरिन्थ्यो । अहिले विद्यार्थी र प्राध्यापकसमेत सिधै प्रधानमन्त्रीको चाहनाअनुसार नियुक्त गर्ने व्यवस्था गरिएको शिक्षाविद् र प्राज्ञहरू बताउँछन् ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ ले प्राज्ञहरू सम्मिलित संरक्षण समिति वा ‘बोर्ड अफ ट्रस्टी’बाट विश्वविद्यालय सञ्चालन गर्न सिफारिस गरेको थियो । तत्कालीन शिक्षामन्त्रीहरू सुमना श्रेष्ठ र महावीर पुनले प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउने प्रक्रियासमेत अघि बढाएका थिए । कुलपतिलाई प्रधानमन्त्रीबाट हटाउने व्यवस्थासहितको अध्यादेश मन्त्रिपरिषद्बाट सिफारिस नगरिएकामा असन्तुष्टि जनाउँदै पुनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेल भने पहिलो चरणमा शिक्षण संस्थामा रहेको दलीयकरण र दलीय हस्तक्षेप हटाउने तथा दोस्रो चरणमा कुलपति र सहकुलपतिबाट प्रधानमन्त्री र शिक्षामन्त्रीलाई हटाउने बताउँछन् । ‘दलीयकरण र दलीय हस्तक्षेप हटाउनु यो सरकारको पहिलो प्राथमिकता हो । हटाइएको ठाउँमा मेरिटका आधारमा नियुक्ति गरिन्छ,’  उनले आफ्नो सचिवालयमार्फत जवाफ दिए, ‘उपकुलपतिलगायत पदाधिकारी मात्रै हटाउँदा विश्वविद्यालयमा ठूलो रिक्तता आएको छ । एकै पटक कुलपति र सहकुलपतिसमेत हटाउँदा झन् ठूलो रिक्तता हुन्छ भनेर अहिले नहटाइएको हो ।’  प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था विधेयकमा गरेर संसद्मा लगिने उनले जानकारी दिए ।

प्रधानमन्त्री तथा कुलपतिले सभामा मनोनयन गर्न पाउने सदस्यको संख्या बढाउने र काठमाडौं विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयमा उपकुलपतिहरूको क्षेत्राधिकारमा समेत हस्तक्षेप गर्दै डिनहरूलाई पदबाट हटाउने निर्णयबाट प्राज्ञिक क्षेत्रमा एकल दलीय व्यवस्था लाद्न खोजिएको शिक्षाविद्हरूको टिप्पणी छ । सरकार विश्वविद्यालयमा दलीयकरण रोक्ने भनेर उल्टो बाटो हिँडिरहेको शिक्षाविद् कोइरालाले बताए । ‘दलीयकरणका नाममा एकल दलीय व्यवस्था ल्याउने बाटोमा सरकार देखियो । अब झन् विश्वविद्यालयमा प्रधानमन्त्रीको स्वेच्छाचारी बढेर जाने भयो,’  उनले भने, ‘विश्वविद्यालयको सभा प्रतिपक्षीको कुरा सुन्ने ठाउँ पनि हो ।

प्राध्यापक, कर्मचारी र विद्यार्थीको संस्थागत प्रतिनिधित्व हटाउने सरकारको कदमप्रति नेपाल प्राध्यापक संघका अध्यक्ष रमेशकुमार जोशीले आपत्ति जनाए । ‘विश्वविद्यालय प्राध्यापक, विद्यार्थी, कर्मचारीको होइन भने कसको हो, सरकारले जवाफ देला,’  उनले भने, ‘प्रधानमन्त्री आफैंले सिनेट प्रतिनिधि छान्दै नियुक्त गरेर कुन मोडलको विश्वविद्यालय बनाउन खोजिएको हो ?

सरकारले विश्वविद्यालयमाथि हस्तक्षेप बढाउँदै लैजाने नीति लिएको आशंका उनले गरे । ‘विश्वविद्यालय स्थापनादेखि नै प्राध्यापक संघ सिनेटमा रहँदै आएको छ, अहिले किन हटाइयो, बुझ्न सकेको छैन,’ जोशीले भने । अध्यादेशबाट गरिएको व्यवस्था सच्याउन प्राध्यापक संघले सरकारसँग माग गरेको छ ।

त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले विश्वविद्यालयमा आलोचनात्मक चेत र प्रश्न सोध्न पाइने व्यवस्थालाई निषेध गर्ने गरी अध्यादेश ल्याइएको टिप्पणी गरे । ‘कुलपति, उपकुलपतिले नियुक्ति गरेकाहरूले मात्र विश्वविद्यालय चलाउने हो ?’ उनले प्रश्न गरे । सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि ठाडो हस्तक्षेप गरेको उनको भनाइ छ । ‘सरकारको तानाशाही प्रवृत्ति देखियो । राजाको शासन र पञ्चायतमा पनि हामी प्राध्यापक र विद्यार्थीले चुनेका प्रतिनिधि विश्वविद्यालयको सभामा हुन्थे । अहिले हटाइयो, यसले राम्रो नतिजा दिँदैन,’ उनले भने ।

स्ववियु अध्यक्षहरू त्रिवि केन्द्रीय क्याम्पसका दीपकराज जोशी र पोखराको पृथ्वीनारायण क्याम्पसका विष्णु पोखरेल त्रिवि सभाका सदस्य थिए । अध्यादेशले आफूहरूलाई हटाएकामा उनीहरूले असन्तुष्टि जनाएका छन् । अध्यादेशमा अविलम्ब पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारी निर्णयले प्राज्ञिक स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमा हस्तक्षेप गरेको दाबी गरेका छन् । निर्वाचित प्रक्रियाबाट आएका विद्यार्थी प्रतिनिधि हटाएर सरकारले त्रिवि सभा कमजोर बनाउँदै राजनीतिक हस्तक्षेप बढाउन खोजेको उनीहरूको आरोप छ ।

नागरिक अगुवाको आपत्ति

सरकारले दलीयकरणका नाममा विश्वविद्यालयमा हस्तक्षेप गरेको भन्दै नागरिक अगुवाले समेत आपत्ति जनाएका छन् । नीलाम्बर आचार्य, पीताम्बर शर्मासहित २८ नागरिक अगुवाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलीयकरण अन्त्य गर्ने नाममा प्राज्ञिक स्वतन्त्रतामाथि ठाडो हस्तक्षेपको हामी विरोध गर्छौं । राणा शासनकालको ‘पजनी’ को झल्को दिने गरी अध्यादेशमार्फत पदमुक्त गर्ने सरकारको कार्यले विधि, प्रक्रिया र कानुनी शासनको धज्जी उडाएको छ ।

सरकारको कदमले अर्को राजनीतीकरण र एकल दलीय नियन्त्रणको बाटो खोलेको उनीहरूले जनाएका छन् । विश्वविद्यालयको स्वतन्त्रता र प्राज्ञिक मर्यादाविपरीत पदाधिकारीहरूलाई एकैसाथ पदमुक्त गर्ने कार्यले विश्वविद्यालयमा सरकारी हस्तक्षेप झन् बढेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी संगठनलगायत पेसागत संगठनमा प्रतिबन्ध लगाएकामा पनि उनीहरूले आपत्ति जनाएका छन् ।

उपकुलपति नियुक्तिका लागि दरखास्त माग

सरकारले आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया थालेको छ । विभिन्न विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको लिंकमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । उपकुलपति छनोटसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बनेको सिफारिस समितिमा शिक्षा सचिव चूडामणि पौडेल र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य रेसु अर्याल ढुंगाना सदस्य छन् । मन्त्री पोखरेलले विश्वविद्यालयहरूको नेतृत्व चयनलाई पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउने गरी कार्यविधि लागू गरिएको जनाए । ‘विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियामा विज्ञ समिति गठन गरी मूल्यांकन गरिने तथा खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अगाडि बढाइनेछ,’ उनले शुक्रबार सार्वजनिक गरेको एक भिडियो सन्देशमा भनिएको छ ।

अध्यादेशबाट संशोधन गरिएको विश्वविद्यालयसम्बन्धी ऐनमा उपकुलपति, रेक्टर र रजिस्ट्रारको योग्यता तोकिएको छ । अहिलेसम्म ऐनमा योग्यतासम्बन्धी व्यवस्था किटान गरिएको थिएन । उपकुलपतिका लागि कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्ने भनिएको छ । अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । उमेर कम्तीमा ४० वर्ष हुनुपर्छ । रेक्टरको शैक्षिक योग्यता पनि उपकुलपतिकै अनुसार तोकिएको छ ।

संस्कृत, कृषि तथा वन विज्ञान लगायत विषयगत विश्वविद्यालयको उपकुलपतिको हकमा भने सम्बन्धित विषयमा विद्यावारिधि गरेको हुनुपर्ने योग्यता तोकिएको छ । रजिस्ट्रारको शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । ‘उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानका क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्छ,’ संशोधित ऐनमा भनिएको छ ।

– सुदीप कैनी