05/10/2026, 10:05:04
आइतबार, बैशाख २७, २०८३

तेह्र स्थानीय तहमा डेङ्गु सङ्क्रमण


काठमाडौँ, वैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका विभिन्न १३ स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. अनुज भट्टचनले ती स्थानीय तहमा डेङ्गुका बिरामी बढ्न थालेपछि निगरानी र नियन्त्रणका उपाय प्रभावकारी बनाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुर महानगरपालिका मा डेङ्गुको सङ्क्रमण बढेको जानकारी दिनुभयो ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले गत पुस महिनादेखि हालसम्म देशभर करिब छ सय जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले हाल भइरहेको वर्षाले तत्काल डेङ्गुको जोखिम थप नबढाउने जानकारी दिँदै हाल लामखुट्टे फैलिने अनुकूल अवस्था नबनेको बताउनुभयो ।

पुस महिनायता देशभर डेङ्गुको अवस्थाबारे निरन्तर अध्ययन भइरहेको जानकारी दिँदै उहाँले अधिकांश स्थानीय तहमा छिटफुट सङ्क्रमण देखिए पनि केही क्षेत्रमा तुलनात्मक रूपमा बढी बिरामी भेटिएकाले सतर्कता अपनाउन सम्बन्धित पालिकालाई आग्रह गरिएको बताउनुभयो ।

डेङ्गु रोग एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । पानीमा विकसित हुने लार्भा वयस्क लामखुट्टेमा परिणत भएपछि मानिसलाई टोकेर डेङ्गु सङ्क्रमण फैलाउने गर्छ । उहाँले डेङ्गुबाट बच्न घर तथा कार्यालयवरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने र ज्वरो आएमा तत्काल स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।