

गौशाला, (महोत्तरी) वैशाख २६ गते । महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा मुसहर–माझी समुदायका महिलाहरु घोङी बिक्रीका लागि ग्राहक कुर्दै बसेका छन्।
स्थानीय पोखरी, ताल–तलैया तथा सिमसार क्षेत्रमा पाइने घोङी उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। हरेक मङ्गलबार र शुक्रबार लाग्ने औरही बजारमा मुसहर समुदायका मानिसहरु घोङी बचेर राम्रो आम्दानी गर्ने गर्छन्।
बजारका दिन बिहानैदेखि मुसहर–माझी समुदायका मानिसहरू गाउँघर तथा सिमसार क्षेत्रबाट संकलन गरिएको घोङी बोकेर बजार पुग्ने गर्छन्। उनीहरूले सडक किनारमा घोङीका थुप्रा राखेर बिक्री गर्ने दृश्य बजार क्षेत्रमा सामान्य बनेको छ। स्थानीयका नरेन्द्र यादवका अनुसार घोङी स्वादिलो परिकार मात्र नभई पोषणयुक्त खाद्य पदार्थ पनि हो। घोङीमा प्रोटिन, आइरन तथा अन्य आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ।


विशेषगरी ग्रामीण क्षेत्रमा थारु, दनुवार, मुसहर लगायतका समुदायमा घोङीलाई परम्परागत तथा पौष्टिक खानाका रूपमा खाने चलन अझै कायम रहेको छ। अहिले अन्य समुदायले समेत रहरले घोङी को सुप बनाएर खाने गर्छन्। घोङी बिक्रीबाट प्राप्त आम्दानीले दैनिक घरखर्च चलाउन सहयोग पुग्ने मुसहर समुदायका महिलाहरू बताउँछन्। कृषि मजदुरी तथा अन्य अस्थायी काममा निर्भर समुदायका लागि घोङी संकलन र बिक्री आयआर्जनको सहज माध्यम बनेको उनीहरूको भनाइ छ।
स्थानीय बजारमा घोङीको माग बढ्दै गएपछि मुसहर–माझी समुदाय उत्साहित देखिएको छ। कतिपय ग्राहकले स्वाद र पोषणका कारण नियमित रूपमा घोङी किन्ने गरेका छन्। सिमसार क्षेत्रको संरक्षण र स्थानीय परम्परागत खाद्य संस्कृतिसँग जोडिएको घोङी व्यापारले ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न समेत टेवा पुर्याइरहेको स्थानीयवासीको भनाइ छ।
– अजय शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































