जनकपुर, असोज ८ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छापेर वितरण गर्ने कार्यको औपचारिक सुरुवात गरेको छ। श्रम तथा यातायात मन्त्रालयले पहिलो चरणमा तीन हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूलाई हस्तान्तरण गरेको छ।
श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले पहिलो चरणमा छापिएका लाइसेन्सहरू यातायात व्यवस्था कार्यालय, जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्नुभयो। मन्त्री थापाले छापिएका अनुमतिपत्रहरू सेवाग्राहीलाई ढिलाइ नगरी यथाशीघ्र वितरण गर्न निर्देशनसमेत दिनुभएको छ।
प्रदेशमै चालक अनुमतिपत्र छपाइको व्यवस्था भएसँगै सेवाग्राहीले लाइसेन्सका लागि वर्षौंसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यताको अन्त्य हुने मन्त्री थापाले बताउनुभयो। प्रदेश सरकारको यो कदमले नागरिकलाई दिइने सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयका लागि लाइसेन्स छापिएका छन्। जसमध्ये सबैभन्दा बढी वीरगञ्ज कार्यालयका लागि १,१७२ वटा र सबैभन्दा कम कलैया कार्यालयका लागि ११ वटा लाइसेन्स छापिएको मन्त्रालयले जनाएको छ।
कार्यालय अनुसार छापिएका लाइसेन्सको विवरण
| यातायात व्यवस्था कार्यालय | छापिएको लाइसेन्स संख्या (इकाई) |
| वीरगञ्ज | १,१७२ |
| जनकपुर | ९३२ |
| लहान | ४६० |
| बर्दिबास | ३०३ |
| गौर | ११९ |
| राजविराज | ५२ |
| मलङ्गवा | ३२ |
| कलैया | ११ |
| जम्मा (८ वटै कार्यालय) | ३,०८१ |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































