05/10/2026, 10:02:53
आइतबार, बैशाख २७, २०८३

पैँतिस वर्षपछि स्वास्थ्यमा स्थायी दरबन्दी थपिँदै


काठमाडौँ, वैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थप हुने भएको छ ।

मन्त्रालयले स्वास्थ्यका प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप्ने प्रस्ताव गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अर्थ मन्त्रालयबाट स्वीकृत पाएसँगै स्वास्थ्यमा दरबन्दी थप हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार दरबन्दी थप भएको प्रस्तावले मन्त्रीपरिषद्बाट अन्तिम स्वीकृति पाएसँगै स्वास्थ्य क्षेत्रमा थप जनशक्ति उपलब्ध हुने छन् ।

सचिव डा. देवकोटाले ९७७ दरबन्दी थपिएसँगै नेपालको सार्वजनिक स्वास्थ्य सेवामा सुधार हुने दाबी गर्नुभयो । नेपालमा स्वास्थ्य सेवाको स्थायी सङ्गठन तथा दरबन्दी संरचना विसं २०४८ मा निर्धारण गरिएको थियो । त्यसको ३५ वर्षपछि मात्र स्थायी दरबन्दी थपिन लागेको हो । हाल २०४८ सालमा निर्धारण गरिएको दरबन्दीमा स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । २०४८ मा देशको जनसङ्ख्या करिब एक करोड ८० लाखमा सीमित थियो । अहिले करिब तीन करोड जनसङ्ख्या हुँदा पुरानो दरबन्दीले स्वास्थ्य क्षेत्र धानिरहेको छ । पहिलेको दरबन्दी कायम रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव गम्भीर बन्दै गइरहेको छ ।

स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाउँदा विकसित मुलुकमा पलायन हुने क्रम तीव्र बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रका कर्मचारी सङ्गठन, चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले लामो समयदेखि जनशक्ति थप गर्ने विषय उठाउँदै आएका थिए । सरकारले थप गरेका पदमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, ल्याब प्राविधिक, मिडवाइफरीलगायतका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले सङ्घीय संरचनाका लागि दरबन्दी थप गरेको जानकारी दिँदै थप जनशक्तिले स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने बताउनुभयो । प्रस्तावित नयाँ दरबन्दी अनुसार कन्सल्टेन्ट विशेषज्ञ चिकित्सक २४० जना, मेडिकल अधिकृत १८२ जना, स्टाफ नर्स ४९७ जना, मिडवाइफरी नर्स तथा नर्सिङ अधिकृत ३९ जना छन् । अन्य बाँकी दरबन्दी प्राविधिक तथा स्वास्थ्य सेवासँग सम्बन्धित पदमा समावेश गरिने छ ।

स्वास्थ्य सचिव डा. देवकोटाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन आवश्यकता सम्बोधनतर्फ सरकार अघि बढेको जानकारी दिनुभयो । उहाँले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई समयानुकूल र जनसङ्ख्याको आवश्यकता अनुसार पुनर्संरचना गर्नु अत्यावश्यक भइसकेको अवस्थामा दरबन्दी थप हुनु सकारात्मक रहेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रको सेवा प्रभावकारिता बढाउन संरचना विस्तार मात्र नभई दक्ष जनशक्ति व्यवस्थापन, तालिम, प्रविधि तथा सेवा गुणस्तर सुधारलाई पनि समान प्राथमिकतामा राखिएको छ ।