05/09/2026, 21:22:20
शनिबार, बैशाख २६, २०८३

विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले मानव समाज भयभित हुन थाल्छ : राष्ट्रपति पौडेल


काठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनु पर्दछ, भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभित हुन थाल्दछ भन्ने पनि हामीले बिर्सन हुन्न  भन्ने उहाँको भनाइ थियो । “त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानुन दिवसको रूपमा मनाइन्छ, कानुन दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

blog

राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ भन्नुभयो ।

साथै उहाँले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटो-छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपराष्टपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।