काठमाडौँ, वैशाख २६ गते । यो साता विश्वका विभिन्न सेलेब्रिटी र इन्फ्लुएन्सरहरूका इन्स्टाग्राममा फलोअरहरू एकाएक कम देखिए । सुरूमा मेटाकै प्राविधिक कमजोरी ठानिएको थियो । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नक्कली एकाउन्टहरूको सफाइ अभियान वा ‘बट पर्ज’ का क्रममा दसौं लाख एकाउन्ट हटाइएपछि सेलेब्रिटीका फलोअर घटेका हुन् ।
यो सफाइले सबैभन्दा बढी प्रभाव अमेरिकी मोडल काइली जेनरलाई परेको छ । उनका झन्डै डेढ करोड फलोअर कम भएका छन् भने इन्स्टाग्रामको आफ्नै आधिकारिक एकाउन्टबाट लगभग ९० लाख फलोअर गायब भएका छन् ।
इन्स्टाग्राममा सबैभन्दा बढी व्यक्तिले फलो गरेका चर्चित फुटबल खेलाडी, क्रिस्टियानो रोनाल्डोका फलोअर झन्डै ८० लाख कम भएका छन् । अर्का चर्चित फुटबल खेलाडी लियोनेल मेसीका फलोअर ५० लाख छाँटिए । यस्तै, चर्चित कोरियन सांगीतिक ब्यान्ड ‘ब्ल्याक पिंक’ का फलोअर १ करोडले घटेका छन् । गायिका सेलेना गोमेजका ६० लाख, एरियाना ग्रान्डेका ६० लाख, जस्टिन बिबरका ५० लाख, टेलर स्विफ्ट, बियोन्से, ड्रेक, बीटीएस, किम कार्दासियन लगायत सेलेब्रिटीहरूले पनि दसौं लाख फलोअर गुमाएका छन् ।


भारतमा सबैभन्दा फलो गरिएका क्रिकेट खेलाडी विराट कोहलीका फलोअर मेटाको पछिल्लो अभियानपछि झन्डै २० लाखले घटेको र प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेत्री प्रियंका चोपडाका फलोअरमा पनि उल्लेख्य कमी आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसै वर्षको मार्चमा मेटाले आफ्नो प्लाटफर्महरूमा रहेका झुटा, नक्कली र बट एकाउन्टहरू हटाउन नयाँ प्रविधि सुरू भएको घोषणा गरेको थियो । बालबालिका वा उमेर नपुगेका प्रयोगकर्ताहरूलाई आफ्ना प्लाटफर्म निर्बाध प्रयोग गर्न दिएको भन्दै विश्वभर आलोचना र विभिन्न स्थानमा मुद्दा एवं जरिवानासमेत खेप्दै आएको मेटाले यस्ता प्रयोगकर्ता कम गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिने उल्लेख गरेको थियो ।


मेटाका प्रवक्ताले निष्क्रिय प्रयोगकर्ता हटाउने अभियानका क्रममा फलोअरको संख्या घट्न पुगेको स्वीकार गरेका छन् । ‘सक्रिय प्रयोगकर्तालाई खासै असर परेको छैन र कुनै एकाउन्टमा भेरिफिकेसन सहितको दाबी आए, त्यसलाई पुनःस्थापित गरेर पहिलेकै जसरी चलाउन दिइनेछ,’ उनले भनेका छन् ।
नेपालका इन्स्टाग्राम इन्फ्लुएन्सर र सेलेब्रिटीहरूको कति संख्यामा फलोअर कम भए भन्ने आधिकारिक तथ्यांक भेटिएन । तर, विश्वव्यापी ट्रेन्ड हेर्दा धेरैको फलोअर हजारौंको संख्यामा घटेको हुन सक्ने चर्चा सामाजिक सञ्जालमा चलेको छ ।


मेटाले अहिलेसम्म आधिकारिक रूपमा कति नक्कली एकाउन्टहरू हटाएको भन्ने खुलासा गरेको छैन र यस्तोखाले सफाइ पहिलोपटक भएको पनि होइन । कम्पनीले गत वर्ष फेसबुक र इन्स्टाग्रामबाट झन्डै १ करोड एकाउन्ट हटाएको सार्वजनिक गरेको थियो । यो वर्षको सफाइबाट विश्वभरका साना-ठूला इन्फ्लुएन्सरले २ देखि ५ प्रतिशतसम्म फलोअर गुमाएको रेडिटका केही अपडेटहरूमा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































