बुद्ध जयन्तीका दिन शुक्रबार जतिबेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लोकलाई ‘ज्ञानको दियो बाल्न’ उपदेश दिँदै थिए, त्यही समय आसपास बल्खुतिरको सुकुमवासी टोलमा उनका डोजरहरू भने बस्तीसँगै बौद्ध गुम्बा पेल्दै थिए । साङ्गे छोइलिङ गुम्बाका सञ्चालकले डोजरकर्मीहरूलाई बुद्ध जयन्तीका दिन नपेल्न अनुनय गरे । तर, ‘माथिको निर्णय’ को सख्त कार्यान्वयन गर्न खटिएका आदेशपालकले त्यो याचना सुनेनन् र क्षणभरमै गुम्बा तहस–नहस पारिदिए ।
बालेन सरकारले केही दिनयता उपत्यकाका अतिक्रमित नदी-किनारका सुकुमवासी बस्ती खाली गराउने तीव्र अभियान चलाएको छ । अभियानको दोस्रो चरण आइपुग्दा बुद्ध मूर्ति मात्रै बेवारिस भएको छैन । सयौं निमुखाहरू बेघर भएका छन् । कम्तीमा दुई जनाले अवसादमा डुबेर आत्महत्या गरेको बताइएको छ । अनि, अरू कैयौं अस्थायी शिविरमा अभाव, अव्यवस्थापन र अनिश्चयको पीडामा छट्पटिएका छन् । स्कुले केटाकेटीका विद्यालय भग्नावशेष पारिएका छन् । पढाइ छुटेका केटाकेटी मनोवैज्ञानिक त्रासदीमा छन् । सुत्केरी, वृद्धवृद्धाको बिल्लीबाठ पारिएको छ ।
सुकुमवासी बस्तीको चित्कार र आर्तनादले मान्छेहरूको मन विचलित भइरहँदा प्रधानमन्त्री बालेन ‘दार्शनिक अवतार’ मा प्रकट भएका छन् । ‘हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ’, बुद्ध जयन्तीका दिन उनले शुभकामना सन्देश दिए, ‘साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।’
बुद्ध दर्शनबाट प्रभावित बालेन देख्दा एकैछिन त लाग्छ, मतदाताले नेपाली समाजलाई ज्ञानको बाटो हिँड्न प्रेरित गर्ने नेतालाई सत्ताको शिखरमा पुराएर औधी गुन लगाए । तर, जब यो दर्शन र उनको शासकीय शैलीबीच मेल खोज्ने प्रयास गरिन्छ, पटक्कै भेटिँदैन । अनि, मन कटक्क हुन्छ । यो कस्तो ‘ज्ञानक्रान्ति’ हो, जसले पीडितको चित्कार सुन्दैन, मानवीयता देख्दैन ?


बालेन लोकतान्त्रिक शासन प्रणालीका नेता हुन् । लोकतान्त्रिक शासनमा ज्ञानको अर्थ के हो ? के ‘इगो’, आवेग र हचुवाका भरमा निर्णय लिने क्षमता ‘ज्ञान’ हो ? अथवा परिपक्व निर्णय गर्ने अनि जनसमुदायलाई विश्वास लिएर गरिने कार्यान्वयन ‘ज्ञान’ हो ? कि पुनर्वासको तयारीबिनै सुकुमवासीको उठीबास लगाउने क्रूरता ‘ज्ञान’ हो ? अथवा ‘ज्ञ’ क्रान्तिको नारा बुद्ध–वचनवाणीको आडमा प्रियतावादको रोटी सेक्ने कुत्सित नियत मात्रै हो ? बुद्धको जन्मदिनकै दिन गुम्बा भत्काउने संवेदनहीनता भएको शासकले ज्ञानमार्गको वकालत गरेको कति सुहाउँछ ? सुकुमवासीलाई विपद्बाट जोगाउने नाममा अर्को विपद् सिर्जना गरेपछि बालेन प्रश्नै–प्रश्नको घेराबन्दीमा परेका छन् ।
दर्शनका हिसाबले ‘ज्ञानक्रान्ति’ एउटा शक्तिशाली ‘स्टेटमेन्ट’ हो जसले हिंसा होइन, शान्ति र विवेकपूर्ण परिवर्तनको पक्षपोषण गर्छ । तर, जब व्यवहारमा ‘ज्ञानक्रान्ति’ रूपान्तरित हुन सक्दैन, त्यो केबल प्रतीकात्मक शाब्दिक आडम्बर मात्रै बन्न जान्छ ।
जेन–जी अभियन्ता रक्षा बमले बालेनको ‘ज्ञ’ क्रान्तिमाथि प्रश्न उठाइन् । उनले लेखिन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो ।’ त्यसपछि सञ्जालमा सुरु भयो ‘ज्ञ’ र ‘क’ क्रान्तिको दर्शन–द्वन्द्व । खासमा बुद्ध दर्शनले प्रज्ञा र करुणाबीचको सन्तुलनको पैरवी गर्छ । बुद्ध दर्शन भन्छ, करुणाबिनाको ज्ञानले प्रकाश दिँदैन । बरु, थप अन्धकारतिर धकेल्छ । अर्थात् ज्ञान र करुणा एउटै सिक्काका दुई पाटा हुन् । ज्ञानले दिशा देखाउँछ भने करुणाले गति दिन्छ ।
बुद्ध जयन्तीका दिन बालेनले आफूलाई ज्ञानमार्गमा उभ्याउनु सुखद कुरा हो । तर, के उनका व्यवहार र शासकीय कार्यशैली त्यही बाटो उन्मुख छन् त ? एमाले महासचिव शंकर पोखरेलले ‘ज्ञ’ क्रान्तिको खाका के भनेर प्रश्न गरेजस्तै बालेनसँग सोध्नुपर्ने भएको छ, उनको ज्ञानक्रान्ति मनोगत सोचाइमा कि व्यवहारमा ?
हुन त बालेनलाई प्रश्नहरूले छुँदैन । आफूमाथि उठेका प्रश्नहरूको जवाफदेहिता लिनुपर्छ भन्ने उनलाई किञ्चित लाग्दैन । ढुंगो बोल्ला, उनी बोल्दैनन् । तर, यसो भनेर आमनागरिक चुपचाप बस्न सक्दैनन् । ‘चुपचाप’ मतदान गरेर सत्ताको शिखरमा पुर्याएर अवसर नै अवसर दिएपछि अब नागरिक पंक्ति बालेनको व्यवहार र कार्यशैलीलाई लिएर प्रश्न गर्न थालेको छ ।


प्रश्न गर्ने बाटो बालेनले एक महिनाअघि शपथ ग्रहण समारोहबाटै दिएका हुन् । उनले संविधान र संवैधानिक परिपाटीमाथि प्रहार त्यहीबेला सुरु गरेका थिए । उनले प्रधानमन्त्रीका रूपमा शपथ लिएकै दिन झिनो स्वरमा प्रश्न उठ्यो, शपथ संवैधानिक हो कि सांकेतिक रूपमा संविधानमाथिकै प्रहार ? प्रश्न जायज किन थियो भने, धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुखले धार्मिक अनुष्ठान गर्दै संविधानको उपहास गरेर शपथ लिएका थिए ।
असाधारण जनसमर्थनबाट चुनिएर प्रधानमन्त्री भएका बालेन आजको मितिसम्म पनि ‘लोकप्रिय’ पात्र हुन् । जनसमर्थनको चर्को उभारकाबीच उदाएका बालेनले संविधानको मर्म मिचेर शपथ लिँदा झिनो स्वरमा मात्रै प्रश्न उठ्यो, सेलायो । धैरेजसोले त्यसलाई परम्पराको सम्मान र सांस्कृतिक अभिव्यक्तिका रूपमा बुझे । तर, खासमा शासनसत्ताको कार्यभार सम्हालेकै दिनदेखि बालेनले संविधानको मानमर्दन थालिसकेका थिए ।
संसद्को पहिलो बैठकका दिन उनले लोकतान्त्रिक संस्कारको थप धज्जी उडाए । दलतन्त्रबाट आहत भएका नेपाली जनताका आशाको दियो बनेर बालेन उदाएका हुन् । उनीप्रति आमजनताको अपेक्षा बढी नै छ । स्वाभाविक थियो, संसद्को पहिलो बैठकबाट आमजनता बालेनलाई सुन्न चाहन्थे । प्रधानमन्त्रीका रूपमा संसद्को रोस्ट्रममा उभिएर बालेनले मतदातालाई धन्यवाद देलान्, आफ्ना योजना र कार्यक्रमहरूको प्राथमिकता प्रस्ट पार्लान् भन्ने आमजनताको अपेक्षा थियो ।
संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर आफ्ना कुरा अभिव्यक्त गर्नु न्यूनतम लोकतान्त्रिक संस्कार पनि हो । तर, संसद्को पहिलो दिन यो सब केही पनि भएन । औपचारिक पोसाकसमेत नलगाई कालो कोटभित्र टिसर्ट लगाएका बालेन संसद्मा प्रकट त भए तर उनको बोली फुटेन । बालेनका एकमहिने प्रारम्भिक शासकीय कार्यशैली हेर्दा उनी संसद्मार्फत जनतासँग संवाद गर्ने कुरामा खासै रुचि राख्दैनन् । बरु, सिंहदरबार अथवा बालुवाटारका चोटाकोठाबाटै मनमौजी शक्ति अभ्यास गर्ने मनसुवा राख्छन् । आह्वान गरिसकेको संसद् बैठक स्थगित गरेर जसरी उनी भटाभट अध्यादेशहरू जारी गर्दै छन्, त्यसबाट उनी कस्तो शासन चाहन्छन्, सुरुवाती लक्षण देखिन थालिसकेको छ ।


कुनै पनि सरकारले अध्यादेश जारी गर्नु भनेको त्यत्रो ठूलो ‘अनहोनी’ होइन । यो संविधानकै प्रबन्ध हो । संविधानले विशेष परिस्थितिमा कानुनी अड्चनहरू फुकाउन अध्यादेश जारी गर्ने अनुमति दिन्छ । तर, यतिबेला बालेन सरकार के विशेष परिस्थितिमा छ र उसले संसद्लाई छलेर अध्यादेश ल्याउनुपर्यो ? बालेन सरकारसँग संसद्मा झन्डै दुईतिहाइ समर्थन छ । कुनै पनि विधेयक पारित गर्न ऊसँग पर्याप्त अनुकूलता छ । यति हुँदाहुँदै पनि जसरी बालेनले संसद्लाई बाइपास गरेर अध्यादेशको शासन लादेका छन् । यसलाई केबल छिटो डेलिभरी र प्रक्रिया छोट्याउन खोजिएको भन्ने अर्थमा मात्रै बुझियो भने त्यो अपूर्ण हुनेछ । यसको अन्तर्य संसदीय अभ्यासको अवमूल्यन हो । यसले सार्वभौम संसद्को भूमिकालाई खुम्च्याउने मात्रै होइन, नीति निर्माणको सार्वजनिक बहसलाई कमजोर पार्नेछ । जुन लोकतान्त्रिक मूल्य प्रणालीका लागि सुखद विषय होइन ।
बालेन प्रधानमन्त्री भएको एक महिना कट्यो । यद्यपि अझै आमजनताले उनलाई बुझ्न सकेका छैनन् । उनको ‘रहस्यमयी’ व्यक्तित्वलाई लिएर नागरिक पंक्तिमा अलमल छ । यदाकदा आउने सञ्जालका सन्देशहरू नै उनको व्यक्तित्व चियाउने आँखीझ्याल भएका छन् । बालेनलाई नेपाली युवा पुस्ताले एउटा र्यापरका रूपमा चिनेको छ । राजधानीवासीले निर्णय गर्न नडराउने आँटिलो मेयरका रूपमा चिने । उनले मेयर हुँदा कति काम गरे, कति गर्न सकेनन् ? वस्तुनिष्ठ समीक्षा आवश्यक छ । यद्यपि उनको परिचय ‘काम गर्ने मेयर’ का रूपमा बन्यो । अहिले प्रधानमन्त्री भइसकेपछि पनि उनी मेयर शैलीमै भटाभट निर्णय गर्दै ‘काम गर्ने प्रधानमन्त्री’ को छवि बनाउन लागेका छन् ।
यतिखेर प्रधानमन्त्रीका रूपमा बालेनको शासकीय शैलीको प्रशंसा र आलोचना दुवै भएको छ । एकथरी भन्छन्, ‘बालेनको अभूतपूर्व निर्णय क्षमता र शासकीय सुधारका कतिपय कामले नयाँ मानक बनाएको छ ।’ निर्णय गर्ने र तत्काल कार्यान्वयनमा गइहाल्ने उनको शैलीको तिनले प्रशंसा गरेका छन् । यसबीच सुकुमवासीका नाममा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका कैयौं व्यक्तिहरू ‘एक्स्पोज’ भएका छन् । अध्यादेशबाटै १५ सयभन्दा बढी राजनीतिक नियुक्ति पदमुक्त हुने भएपछि पनि सञ्जालमा उनको प्रशंसा नै भएको छ ।


बालेनको दबंग कायैशैलीको एकथरीले प्रशंसा गरिरहँदा आलोचना र चिन्ता पनि उत्तिकै व्यक्त भइरहेको छ । लोकतन्त्र र विधिमा विश्वास गर्ने पंक्ति उनको यो आवेगपूर्ण कार्यशैलीबाट चिन्तित छ । कतिले त बालेनले हुकुमी शासनको पुनरावृत्ति गरेको, लोकतन्त्रको आवरणमा निरंकुशता अझ फाँसीवादउन्मुख भएको भनेर आलोचना गरेका छन् ।
सरकारले भने सुकुमवासी बस्ती हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणसँगै बाढीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्ने प्रयत्न भएको दाबी गरेको छ । सरकार भन्छ– बस्ती हटाउने विषय विस्थापन होइन, विपद्बाट जोगाउने कदम हो । तर अधिकारकर्मी भन्छन्– विपद्बाट जोगाउने नाममा सरकारले अर्को विपद् निम्त्यायो । खासमा प्रश्न हटाउने अथवा नहटाउने होइन, कसरी हटाउने भन्ने हो । सुकुमवासी परिवारहरूसँग आवश्यक संवाद नगरी, पुनर्वासको गतिलो बन्दोबस्त नगरी सरकारले आवेग र अपरिपक्व हिसाबले डोजर चलाएर मानिसको बाँच्न पाउने अधिकार कुल्चेको भनेर अधिकारकर्मीले विरोध गरेका हुन् ।
आलोचना र प्रशंसाका बीच एउटा यथार्थ के हो भने, बालेनलाई काम गर्न देऊ भन्ने उनका शुभेच्छुक/समर्थकलाई पनि अब उनको मौनता बिझाउन थालेको छ । निश्चय पनि नेपाली समाज नेताहरूका लम्बेतान भाषणबाट वाक्क दिक्क भएको हो । पट्यारलाग्दा लामा लामा भाषण नेपाली समाजले अब रुचाउँदैन । तर, के लोकतन्त्रमा प्रधानमन्त्रीलाई नबोल्ने छुट हुन सक्छ ? प्रधानमन्त्री त्यो पद हो, जसका लागि बोल्नु कुनै विकल्प होइन, जवाफदेहिताको न्यूनतम आधार हो ।
कहिलेकाहीं मौनतामा ताकत हुन सक्छ । त्यो रणनीतिक पनि बन्न सक्ला । नेताका पट्यारलाग्दा भाषण सुनेर आजित जनताले कम बोल्ने नेता मन पराउन सक्छन् । कम बोल्दा त्रुटि पनि कम हुन्छ । अनावश्यक विवादमा पर्ने सम्भवाना कम हुन्छ । यस हिसाबले कम बोल्नु वा नबोल्नु रणनीतिक हुन सक्ला । यद्यपि, सधैंको मौनता, महत्त्वपूर्ण भेटघाट र फोरमहरूलाई पनि नजरअन्दाज गर्ने विषय राजनीतिक नेतृत्वका लागि उल्टै प्रत्युत्पादक हुन जान्छ ।
प्रणालीगत सुधारको बेवास्ता गर्दै शक्ति अभ्यासमा रमाएका बालेनका पछिल्ला आवेगपूर्ण निर्णयहरूले के उनीप्रतिको विश्वास बढाएको छ ? पटक्कै छैन । बरु, उनको विधिको अवमूल्यन गर्ने शैली र आश्चर्यजनक मौनताले संशयहरू चाहिँ बढाएको छ । सैन्य बल र मनोवैज्ञानिक त्रासका आडमा शासन टिक्दैन भन्ने पुष्टि विगतमा पटक पटक भइसकेको छ । यो शैलीले शासकप्रतिको आक्रोश र घृणाभाव बढाउँछ । जो अन्ततः अराजकता, हिंसा र प्रतिहिंसा उन्मुख हुन्छ । बालेनले कम्तीमा यो कुरा बेलैमा मनन गरुन् ।


यतिबेला राजधानी राज्य आतंकको त्रासदीमा छ । सुकुमवासी बस्ती भत्किरहँदा करिडोरका बासिन्दाले कतै आवेगमा आफ्नै घरमा डोजर चल्ने हो कि भन्ने भयले ढोकामा धनीपुर्जा टाँसेका छन् । त्रास र अविश्वासको यो खाडल बालेन सरकारले कसरी पुर्ला ? बुद्धको बाटोमा हिँड्ने उपदेश दिनु र बुद्ध दर्शनलाई व्यवहारमै पछ्याउनु दुई फरक विषय हुन् । शक्तिशाली प्रधानमन्त्री बालेनले यतिबेलाको सबैभन्दा मुख्य दायित्व जनतालाई त्रासबाट निकाल्दै गुमेको विश्वासको पुनःस्थापना गर्नु हो । त्यसका लागि सबैभन्दा पहिले उनले रहस्यमयी मौनता तोड्नु आवश्यक छ ।
बालेनले प्रणालीगत शासकीय सुधारको असाधारण अवसर पाएका छन् । जनताबाट अनुमोदित उनीसँग आफूलाई जवाफदेही र लोकतान्त्रिक प्रधानमन्त्रीका रूपमा उभ्याउने अनुकूलता र अवसर दुवै छ । त्यस्तो अवसर हुँदाहुँदै उनी शक्ति अभ्यासको आडमा ‘शासक’ बन्ने बाटोमा अघि बढेका छन् । लोकतान्त्रिक मूल्य पद्धतिको संरक्षण गर्ने जनताको सेवक बन्ने कि शक्ति अभ्यासमा रमाउने ‘शासक’ बन्ने ? ढिलो नगरी बालेनले आफ्नो शासकीय शैलीमा पुनर्विचार गरुन् । अनि मात्रै उनको ‘ज्ञ’ क्रान्तिको औचित्य स्थापित हुनेछ । ‘ज्ञ’ क्रान्ति साँचो अर्थमा उनको मार्गदर्शक हो भने अब त्यो उनको नीति, व्यवहार कार्यशैलीमा देखिनुपर्छ । त्यहींबाट उनको राजनीतिको वास्तविक उचाइ माफन हुनेछ ।
– राजाराम गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































