05/04/2026, 11:10:08
सोमबार, बैशाख २१, २०८३

बालेनको मनोगत ‘ज्ञ’ क्रान्ति


बुद्ध जयन्तीका दिन शुक्रबार जतिबेला प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लोकलाई ‘ज्ञानको दियो बाल्न’ उपदेश दिँदै थिए, त्यही समय आसपास बल्खुतिरको सुकुमवासी टोलमा उनका डोजरहरू भने बस्तीसँगै बौद्ध गुम्बा पेल्दै थिए । साङ्गे छोइलिङ गुम्बाका सञ्चालकले डोजरकर्मीहरूलाई बुद्ध जयन्तीका दिन नपेल्न अनुनय गरे । तर, ‘माथिको निर्णय’ को सख्त कार्यान्वयन गर्न खटिएका आदेशपालकले त्यो याचना सुनेनन् र क्षणभरमै गुम्बा तहस–नहस पारिदिए ।

बालेन सरकारले केही दिनयता उपत्यकाका अतिक्रमित नदी-किनारका सुकुमवासी बस्ती खाली गराउने तीव्र अभियान चलाएको छ । अभियानको दोस्रो चरण आइपुग्दा बुद्ध मूर्ति मात्रै बेवारिस भएको छैन । सयौं निमुखाहरू बेघर भएका छन् । कम्तीमा दुई जनाले अवसादमा डुबेर आत्महत्या गरेको बताइएको छ । अनि, अरू कैयौं अस्थायी शिविरमा अभाव, अव्यवस्थापन र अनिश्चयको पीडामा छट्पटिएका छन् । स्कुले केटाकेटीका विद्यालय भग्नावशेष पारिएका छन् । पढाइ छुटेका केटाकेटी मनोवैज्ञानिक त्रासदीमा छन् । सुत्केरी, वृद्धवृद्धाको बिल्लीबाठ पारिएको छ ।

सुकुमवासी बस्तीको चित्कार र आर्तनादले मान्छेहरूको मन विचलित भइरहँदा प्रधानमन्त्री बालेन ‘दार्शनिक अवतार’ मा प्रकट भएका छन् । ‘हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ’, बुद्ध जयन्तीका दिन उनले शुभकामना सन्देश दिए, ‘साँचो क्रान्ति ‘क’ बाट होइन, ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।

बुद्ध दर्शनबाट प्रभावित बालेन देख्दा एकैछिन त लाग्छ, मतदाताले नेपाली समाजलाई ज्ञानको बाटो हिँड्न प्रेरित गर्ने नेतालाई सत्ताको शिखरमा पुराएर औधी गुन लगाए । तर, जब यो दर्शन र उनको शासकीय शैलीबीच मेल खोज्ने प्रयास गरिन्छ, पटक्कै भेटिँदैन । अनि, मन कटक्क हुन्छ । यो कस्तो ‘ज्ञानक्रान्ति’ हो, जसले पीडितको चित्कार सुन्दैन, मानवीयता देख्दैन ?

बालेन लोकतान्त्रिक शासन प्रणालीका नेता हुन् । लोकतान्त्रिक शासनमा ज्ञानको अर्थ के हो ? के ‘इगो’, आवेग र हचुवाका भरमा निर्णय लिने क्षमता ‘ज्ञान’ हो ? अथवा परिपक्व निर्णय गर्ने अनि जनसमुदायलाई विश्वास लिएर गरिने कार्यान्वयन ‘ज्ञान’ हो ? कि पुनर्वासको तयारीबिनै सुकुमवासीको उठीबास लगाउने क्रूरता ‘ज्ञान’ हो ? अथवा ‘ज्ञ’ क्रान्तिको नारा बुद्ध–वचनवाणीको आडमा प्रियतावादको रोटी सेक्ने कुत्सित नियत मात्रै हो ? बुद्धको जन्मदिनकै दिन गुम्बा भत्काउने संवेदनहीनता भएको शासकले ज्ञानमार्गको वकालत गरेको कति सुहाउँछ ? सुकुमवासीलाई विपद्बाट जोगाउने नाममा अर्को विपद् सिर्जना गरेपछि बालेन प्रश्नै–प्रश्नको घेराबन्दीमा परेका छन् ।

दर्शनका हिसाबले ‘ज्ञानक्रान्ति’ एउटा शक्तिशाली ‘स्टेटमेन्ट’ हो जसले हिंसा होइन, शान्ति र विवेकपूर्ण परिवर्तनको पक्षपोषण गर्छ । तर, जब व्यवहारमा ‘ज्ञानक्रान्ति’ रूपान्तरित हुन सक्दैन, त्यो केबल प्रतीकात्मक शाब्दिक आडम्बर मात्रै बन्न जान्छ ।

जेन–जी अभियन्ता रक्षा बमले बालेनको ‘ज्ञ’ क्रान्तिमाथि प्रश्न उठाइन् । उनले लेखिन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो ।’ त्यसपछि सञ्जालमा सुरु भयो ‘ज्ञ’ र ‘’ क्रान्तिको दर्शन–द्वन्द्व । खासमा बुद्ध दर्शनले प्रज्ञा र करुणाबीचको सन्तुलनको पैरवी गर्छ । बुद्ध दर्शन भन्छ, करुणाबिनाको ज्ञानले प्रकाश दिँदैन । बरु, थप अन्धकारतिर धकेल्छ । अर्थात् ज्ञान र करुणा एउटै सिक्काका दुई पाटा हुन् । ज्ञानले दिशा देखाउँछ भने करुणाले गति दिन्छ ।

बुद्ध जयन्तीका दिन बालेनले आफूलाई ज्ञानमार्गमा उभ्याउनु सुखद कुरा हो । तर, के उनका व्यवहार र शासकीय कार्यशैली त्यही बाटो उन्मुख छन् त ? एमाले महासचिव शंकर पोखरेलले ‘ज्ञ’ क्रान्तिको खाका के भनेर प्रश्न गरेजस्तै बालेनसँग सोध्नुपर्ने भएको छ, उनको ज्ञानक्रान्ति मनोगत सोचाइमा कि व्यवहारमा ?

हुन त बालेनलाई प्रश्नहरूले छुँदैन । आफूमाथि उठेका प्रश्नहरूको जवाफदेहिता लिनुपर्छ भन्ने उनलाई किञ्चित लाग्दैन । ढुंगो बोल्ला, उनी बोल्दैनन् । तर, यसो भनेर आमनागरिक चुपचाप बस्न सक्दैनन् । ‘चुपचाप’ मतदान गरेर सत्ताको शिखरमा पुर्‍याएर अवसर नै अवसर दिएपछि अब नागरिक पंक्ति बालेनको व्यवहार र कार्यशैलीलाई लिएर प्रश्न गर्न थालेको छ ।

प्रश्न गर्ने बाटो बालेनले एक महिनाअघि शपथ ग्रहण समारोहबाटै दिएका हुन् । उनले संविधान र संवैधानिक परिपाटीमाथि प्रहार त्यहीबेला सुरु गरेका थिए । उनले प्रधानमन्त्रीका रूपमा शपथ लिएकै दिन झिनो स्वरमा प्रश्न उठ्यो, शपथ संवैधानिक हो कि सांकेतिक रूपमा संविधानमाथिकै प्रहार ? प्रश्न जायज किन थियो भने, धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुखले धार्मिक अनुष्ठान गर्दै संविधानको उपहास गरेर शपथ लिएका थिए ।

असाधारण जनसमर्थनबाट चुनिएर प्रधानमन्त्री भएका बालेन आजको मितिसम्म पनि ‘लोकप्रिय’ पात्र हुन् । जनसमर्थनको चर्को उभारकाबीच उदाएका बालेनले संविधानको मर्म मिचेर शपथ लिँदा झिनो स्वरमा मात्रै प्रश्न उठ्यो, सेलायो । धैरेजसोले त्यसलाई परम्पराको सम्मान र सांस्कृतिक अभिव्यक्तिका रूपमा बुझे । तर, खासमा शासनसत्ताको कार्यभार सम्हालेकै दिनदेखि बालेनले संविधानको मानमर्दन थालिसकेका थिए ।

संसद्को पहिलो बैठकका दिन उनले लोकतान्त्रिक संस्कारको थप धज्जी उडाए । दलतन्त्रबाट आहत भएका नेपाली जनताका आशाको दियो बनेर बालेन उदाएका हुन् । उनीप्रति आमजनताको अपेक्षा बढी नै छ । स्वाभाविक थियो, संसद्को पहिलो बैठकबाट आमजनता बालेनलाई सुन्न चाहन्थे । प्रधानमन्त्रीका रूपमा संसद्को रोस्ट्रममा उभिएर बालेनले मतदातालाई धन्यवाद देलान्, आफ्ना योजना र कार्यक्रमहरूको प्राथमिकता प्रस्ट पार्लान् भन्ने आमजनताको अपेक्षा थियो ।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर आफ्ना कुरा अभिव्यक्त गर्नु न्यूनतम लोकतान्त्रिक संस्कार पनि हो । तर, संसद्को पहिलो दिन यो सब केही पनि भएन । औपचारिक पोसाकसमेत नलगाई कालो कोटभित्र टिसर्ट लगाएका बालेन संसद्मा प्रकट त भए तर उनको बोली फुटेन । बालेनका एकमहिने प्रारम्भिक शासकीय कार्यशैली हेर्दा उनी संसद्मार्फत जनतासँग संवाद गर्ने कुरामा खासै रुचि राख्दैनन् । बरु, सिंहदरबार अथवा बालुवाटारका चोटाकोठाबाटै मनमौजी शक्ति अभ्यास गर्ने मनसुवा राख्छन् । आह्वान गरिसकेको संसद् बैठक स्थगित गरेर जसरी उनी भटाभट अध्यादेशहरू जारी गर्दै छन्, त्यसबाट उनी कस्तो शासन चाहन्छन्, सुरुवाती लक्षण देखिन थालिसकेको छ ।

कुनै पनि सरकारले अध्यादेश जारी गर्नु भनेको त्यत्रो ठूलो ‘अनहोनी’ होइन । यो संविधानकै प्रबन्ध हो । संविधानले विशेष परिस्थितिमा कानुनी अड्चनहरू फुकाउन अध्यादेश जारी गर्ने अनुमति दिन्छ । तर, यतिबेला बालेन सरकार के विशेष परिस्थितिमा छ र उसले संसद्लाई छलेर अध्यादेश ल्याउनुपर्‍यो ? बालेन सरकारसँग संसद्मा झन्डै दुईतिहाइ समर्थन छ । कुनै पनि विधेयक पारित गर्न ऊसँग पर्याप्त अनुकूलता छ । यति हुँदाहुँदै पनि जसरी बालेनले संसद्लाई बाइपास गरेर अध्यादेशको शासन लादेका छन् । यसलाई केबल छिटो डेलिभरी र प्रक्रिया छोट्याउन खोजिएको भन्ने अर्थमा मात्रै बुझियो भने त्यो अपूर्ण हुनेछ । यसको अन्तर्य संसदीय अभ्यासको अवमूल्यन हो । यसले सार्वभौम संसद्को भूमिकालाई खुम्च्याउने मात्रै होइन, नीति निर्माणको सार्वजनिक बहसलाई कमजोर पार्नेछ । जुन लोकतान्त्रिक मूल्य प्रणालीका लागि सुखद विषय होइन ।

बालेन प्रधानमन्त्री भएको एक महिना कट्यो । यद्यपि अझै आमजनताले उनलाई बुझ्न सकेका छैनन् । उनको ‘रहस्यमयी’ व्यक्तित्वलाई लिएर नागरिक पंक्तिमा अलमल छ । यदाकदा आउने सञ्जालका सन्देशहरू नै उनको व्यक्तित्व चियाउने आँखीझ्याल भएका छन् । बालेनलाई नेपाली युवा पुस्ताले एउटा र्‍यापरका रूपमा चिनेको छ । राजधानीवासीले निर्णय गर्न नडराउने आँटिलो मेयरका रूपमा चिने । उनले मेयर हुँदा कति काम गरे, कति गर्न सकेनन् ? वस्तुनिष्ठ समीक्षा आवश्यक छ । यद्यपि उनको परिचय ‘काम गर्ने मेयर’ का रूपमा बन्यो । अहिले प्रधानमन्त्री भइसकेपछि पनि उनी मेयर शैलीमै भटाभट निर्णय गर्दै ‘काम गर्ने प्रधानमन्त्री’ को छवि बनाउन लागेका छन् ।

यतिखेर प्रधानमन्त्रीका रूपमा बालेनको शासकीय शैलीको प्रशंसा र आलोचना दुवै भएको छ । एकथरी भन्छन्, ‘बालेनको अभूतपूर्व निर्णय क्षमता र शासकीय सुधारका कतिपय कामले नयाँ मानक बनाएको छ ।’  निर्णय गर्ने र तत्काल कार्यान्वयनमा गइहाल्ने उनको शैलीको तिनले प्रशंसा गरेका छन् । यसबीच सुकुमवासीका नाममा सार्वजनिक जमिन अतिक्रमण गरेर बसेका कैयौं व्यक्तिहरू ‘एक्स्पोज’ भएका छन् । अध्यादेशबाटै १५ सयभन्दा बढी राजनीतिक नियुक्ति पदमुक्त हुने भएपछि पनि सञ्जालमा उनको प्रशंसा नै भएको छ ।

बालेनको दबंग कायैशैलीको एकथरीले प्रशंसा गरिरहँदा आलोचना र चिन्ता पनि उत्तिकै व्यक्त भइरहेको छ । लोकतन्त्र र विधिमा विश्वास गर्ने पंक्ति उनको यो आवेगपूर्ण कार्यशैलीबाट चिन्तित छ । कतिले त बालेनले हुकुमी शासनको पुनरावृत्ति गरेको, लोकतन्त्रको आवरणमा निरंकुशता अझ फाँसीवादउन्मुख भएको भनेर आलोचना गरेका छन् ।

सरकारले भने सुकुमवासी बस्ती हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणसँगै बाढीबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्ने प्रयत्न भएको दाबी गरेको छ । सरकार भन्छ– बस्ती हटाउने विषय विस्थापन होइन, विपद्बाट जोगाउने कदम हो । तर अधिकारकर्मी भन्छन्– विपद्बाट जोगाउने नाममा सरकारले अर्को विपद् निम्त्यायो । खासमा प्रश्न हटाउने अथवा नहटाउने होइन, कसरी हटाउने भन्ने हो । सुकुमवासी परिवारहरूसँग आवश्यक संवाद नगरी, पुनर्वासको गतिलो बन्दोबस्त नगरी सरकारले आवेग र अपरिपक्व हिसाबले डोजर चलाएर मानिसको बाँच्न पाउने अधिकार कुल्चेको भनेर अधिकारकर्मीले विरोध गरेका हुन् ।

आलोचना र प्रशंसाका बीच एउटा यथार्थ के हो भने, बालेनलाई काम गर्न देऊ भन्ने उनका शुभेच्छुक/समर्थकलाई पनि अब उनको मौनता बिझाउन थालेको छ । निश्चय पनि नेपाली समाज नेताहरूका लम्बेतान भाषणबाट वाक्क दिक्क भएको हो । पट्यारलाग्दा लामा लामा भाषण नेपाली समाजले अब रुचाउँदैन । तर, के लोकतन्त्रमा प्रधानमन्त्रीलाई नबोल्ने छुट हुन सक्छ ? प्रधानमन्त्री त्यो पद हो, जसका लागि बोल्नु कुनै विकल्प होइन, जवाफदेहिताको न्यूनतम आधार हो ।

कहिलेकाहीं मौनतामा ताकत हुन सक्छ । त्यो रणनीतिक पनि बन्न सक्ला । नेताका पट्यारलाग्दा भाषण सुनेर आजित जनताले कम बोल्ने नेता मन पराउन सक्छन् । कम बोल्दा त्रुटि पनि कम हुन्छ । अनावश्यक विवादमा पर्ने सम्भवाना कम हुन्छ । यस हिसाबले कम बोल्नु वा नबोल्नु रणनीतिक हुन सक्ला । यद्यपि, सधैंको मौनता, महत्त्वपूर्ण भेटघाट र फोरमहरूलाई पनि नजरअन्दाज गर्ने विषय राजनीतिक नेतृत्वका लागि उल्टै प्रत्युत्पादक हुन जान्छ ।

प्रणालीगत सुधारको बेवास्ता गर्दै शक्ति अभ्यासमा रमाएका बालेनका पछिल्ला आवेगपूर्ण निर्णयहरूले के उनीप्रतिको विश्वास बढाएको छ ? पटक्कै छैन । बरु, उनको विधिको अवमूल्यन गर्ने शैली र आश्चर्यजनक मौनताले संशयहरू चाहिँ बढाएको छ । सैन्य बल र मनोवैज्ञानिक त्रासका आडमा शासन टिक्दैन भन्ने पुष्टि विगतमा पटक पटक भइसकेको छ । यो शैलीले शासकप्रतिको आक्रोश र घृणाभाव बढाउँछ । जो अन्ततः अराजकता, हिंसा र प्रतिहिंसा उन्मुख हुन्छ । बालेनले कम्तीमा यो कुरा बेलैमा मनन गरुन् ।

यतिबेला राजधानी राज्य आतंकको त्रासदीमा छ । सुकुमवासी बस्ती भत्किरहँदा करिडोरका बासिन्दाले कतै आवेगमा आफ्नै घरमा डोजर चल्ने हो कि भन्ने भयले ढोकामा धनीपुर्जा टाँसेका छन् । त्रास र अविश्वासको यो खाडल बालेन सरकारले कसरी पुर्ला ? बुद्धको बाटोमा हिँड्ने उपदेश दिनु र बुद्ध दर्शनलाई व्यवहारमै पछ्याउनु दुई फरक विषय हुन् । शक्तिशाली प्रधानमन्त्री बालेनले यतिबेलाको सबैभन्दा मुख्य दायित्व जनतालाई त्रासबाट निकाल्दै गुमेको विश्वासको पुनःस्थापना गर्नु हो । त्यसका लागि सबैभन्दा पहिले उनले रहस्यमयी मौनता तोड्नु आवश्यक छ ।

बालेनले प्रणालीगत शासकीय सुधारको असाधारण अवसर पाएका छन् । जनताबाट अनुमोदित उनीसँग आफूलाई जवाफदेही र लोकतान्त्रिक प्रधानमन्त्रीका रूपमा उभ्याउने अनुकूलता र अवसर दुवै छ । त्यस्तो अवसर हुँदाहुँदै उनी शक्ति अभ्यासको आडमा ‘शासक’ बन्ने बाटोमा अघि बढेका छन् । लोकतान्त्रिक मूल्य पद्धतिको संरक्षण गर्ने जनताको सेवक बन्ने कि शक्ति अभ्यासमा रमाउने ‘शासक’ बन्ने ? ढिलो नगरी बालेनले आफ्नो शासकीय शैलीमा पुनर्विचार गरुन् । अनि मात्रै उनको ‘ज्ञ’ क्रान्तिको औचित्य स्थापित हुनेछ । ‘ज्ञ’ क्रान्ति साँचो अर्थमा उनको मार्गदर्शक हो भने अब त्यो उनको नीति, व्यवहार कार्यशैलीमा देखिनुपर्छ । त्यहींबाट उनको राजनीतिको वास्तविक उचाइ माफन हुनेछ ।

– राजाराम गौतम