

नवलपुर, वैशाख २१ गते । नारायणघाट–बुटबल सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सधैँ सकस हुने दाउन्नेपूर्वको भाग पनि एकतर्फी ढलानले छोएको छ । सडक आयोजनाले दिएको जानकारी अनुसार अबको केही दिनमा दाउन्ने पश्चिमको भाग पनि एकतर्फी ढलानले जोडिने छ भने एक महिनाभित्रै नारायणघाटदेखि बुटवलसम्मको ११३ किलोमिटर दुवैतर्फ ढलान र कालोपत्र सम्पन्न हुने छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाका अनुसार सडक दुर्घटनामा परी नवलपुरमा वार्षिक ४५ जनाको मृत्यु हुने गरेकोमा सडक विस्तारपछि चालु आर्थिक वर्षको चैत महिनासम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् भने ९७ जना घाइते भएका छन् ।
चालकको लापर्बाही, तीव्र गति, सडक प्रयोगकर्तामा ट्राफिक शिक्षा र सचेतनाको कमीलगायत कारणले यो क्षेत्रमा सडक दुर्घटनाको जोखिम बढेको गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको भनाइ छ । जसका कारण विगत वर्षहरूभन्दा आगामी दिनमा मृत्युदर बढ्न सक्ने आकलन गरिएको उहाँले बताउनुभयो ।
थापाका अनुसार तीन वर्षको तथ्याङ्क केलाउँदा नेपालभर वार्षिक दुई हजार चार सय जनाको मृत्यु र ३२ हजार घाइते हुने गरेका छन् । दुर्घटनामा १५ देखि ३० वर्षका र महिलाभन्दा पुरुष बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
६० देखि ८० प्रतिशत दुर्घटना, तीव्र गति, मादक पदार्थ, लागु पदार्थ सेवन, मोबाइल फोनको प्रयोग, हेलमेट तथा सिट बेल्ट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने जस्ता मानवीय कारणले हुने गरेको प्रहरी उपरीक्षक थापाको भनाइ छ । त्यसबाहेक यान्त्रिक, सडक पूर्वाधार र प्राकृतिक कारणले पनि सडक दुर्घटना निम्त्याउने गरेको छ ।
गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक थापाका अनुसार गण्डकी प्रदेशमा मात्र वार्षिक एक सय ८० जनाको मृत्यु र सात सय जना घाइते हुने गरेका छन् । त्यसैले गण्डकी प्रदेश सरकारले पनि सडक दुर्घटनाको विषयलाई गम्भीरतापूर्वक लिएको र न्यूनीकरणको प्रयास गरिरहेको मुख्यमन्त्री कार्यालयका सचिव कृष्णप्रसाद लम्साल बताउनुहुन्छ ।
– बोमलाल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































