05/04/2026, 11:04:40
सोमबार, बैशाख २१, २०८३

बर्दिया निकुञ्ज अवलोकन गर्नेको सङ्ख्या बढ्दै


बबई (बर्दिया) वैशाख २१ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार विगतको पाँच वर्षमा जिप सफारीद्वारा निकुञ्जको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको हो ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जिप सफारी गरेर आठ हजार ७७ जनाले निकुञ्जको अवलोकन गरेका थिए भने आव २०७८/७९ मा १६ हजार दुई सय ९७ जनाले जिप सफारी गरेको निकुञ्जले जनाएको छ ।

त्यसै गरी आव २०७९/८० मा २४ हजार ३९८ जनाले जिप सफारीबाट निकुञ्जको अवलोकन गर्दा आव २०८०/८१ मा २६ हजार १३१ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

त्यसै गरी निकुञ्ज अवलोकनमा आव २०८१/८२ को तथ्याङ्क अनुसार सात हजार ५१७ जना विदेशी नागरिकले निकुञ्ज भ्रमण गर्दा सार्क मुलुकका एक हजार ५४० जना र नेपाली १९ हजार १० जना गरी २८ हजार ६७ जनाले जिप सफारीद्वारा निकुञ्जको अवलोकन गरेका छन् ।

त्यसै गरी चालु आवको १० महिनामा १५ हजार ५७४ जना नेपाली, ८८६ जना सार्क मुलुकका र विदेशी पाँच हजार ६६८ जना गरी कुल २२ हजार १२८ जनाले जिप सफारी गरेर निकुञ्जको जैविक विविधता अवलोकन गरेको कुरा वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले जानकारी दिनुभयो । जसबाट निकुञ्जलाई चालु आवमा मात्रै ९८ लाख ९४ हजार ६६३ रुपियाँ आम्दानी भएको छ ।

blog

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले विगतका वर्षमा भन्दा पछिल्लो समय जिप सफारी गर्नेको सङ्ख्या अधिक बढ्दै जाँदा निकुञ्जको राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नं. ९ ठाकुरद्वाराका पर्यटन व्यवसायी कृष्ण भट्टराईले निकुञ्जभित्र बाघको सङ्ख्या बढ्दै जान थालेपछि बाघ हेर्न आउने पर्यटकले लामो यात्राका लागि जिप सफारी रोज्ने गरेको बताउनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बर्दियाका अध्यक्ष हेमन्त आचार्यले पर्यटकलाई निकुञ्जमा सफारी गर्नका लागि अहिले ५० भन्दा बढी जिपले सफारी गराउने गरेको बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरेर ठाकुरद्वारामा सञ्चालित होटेलले जिपमार्फत नै पर्यटकलाई अवलोकन गराउने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले जिप सफारी गर्ने पर्यटक केही वर्षयता बढ्दै गएको बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालित होटेलले जिपमार्फत पर्यटकलाई घुमाउन जिप सफारी गराउने गरेको पाइन्छ ।