काठमाडौँ, वैशाख २१ गते । सरकारले सय दिनभित्र गर्ने शासकीय सुधार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना कार्यलाई तीव्रता दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्नका लागि निःशुल्क उपचार, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न निःशुल्क हेल्थ पोर्टल सञ्चालनमा ल्याइसकेको छ । उक्त पोर्टलमा सात वटै प्रदेशका अस्पतालमा कति शय्या छन्, निःशुल्क शय्या कति छन् भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेको जानकारी दिँदै बाँकी रहेका अस्पतालको विवरण प्रविष्ट गर्दै लैजाने जानकारी दिनुभयो ।
सचिव देवकोटाले आकस्मिक एयर एम्बुलेन्स सेवाका लागि निजी हेलिकोप्टर कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिनुभयो । उहाँले दुर्गम पहाडी क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’ राखिएको जानकारी दिँदै त्यसका लागि ११ वटा हेलिकोप्टर कम्पनी सहुलियत दरमा सेवा उपलब्ध गराउन सहमत भएको बताउनुभयो । यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुनासो व्यवस्थापनका लागि सम्बन्धित अस्पताल तथा निकायसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।
सचिव देवकोटाका अनुसार सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ गत चैत २० गतेदेखि लागु गरिएको छ । कार्यविधि अनुसार अस्पतालमा सरसफाइ, स्वास्थ्यकर्मीको बोलीचाली, अनुगमनको विषयलाई प्राथमिकतामा राखिएको छ ।
उहाँले ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोकिसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार जलन उपचार सेवा प्रादेशिक अस्पतालसम्म विस्तार गरिएको छ ।
स्पेसल सेवा दिने अस्पतालबाहेक अन्य जनरल अस्पतालमा जलन उपचार सेवा विस्तार भइसकेको छ । सरुवा रोग अस्पतालमा सरुवा रोगका लागि मात्रै बिरामी आउने भएकाले उक्त अस्पतालमा जलन उपचार कक्ष नभएको उहाँले जानकारी दिनुभयो । “गङ्गालाल हृदय केन्द्रमा मुटुका बिरामी मात्र आउने भएकाले त्यस्ता अस्पतालमा जलन उपचार कक्ष छैन,” सूचना अधिकारी केसीले भन्नुभयो, “अन्य जनरल अस्पतालमा जलन उपचारको व्यवस्था गरिसकेको छ ।”
जलनका बिरामीको प्रभावकारी उपचारका लागि नौ वटा सङ्घीय अस्पताल र सातै प्रदेशका १४ गरी जम्मा २३ वटा अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा गरिएको उहाँको भनाइ छ ।
सरकारी अस्पतालका फार्मेसीमा औषधीको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली र ‘सुलभ फार्मेसी’ सञ्चालनको कार्य आरम्भ गरिएको जानकारी दिँदै उहाँले फार्मेसीमा पाइने औषधी डिजिटल स्व्रिmनमा देखिने बताउनुभयो ।
उहाँले बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकास भइरहेको बताउनुभयो । सूचना अधिकारी केसीले अनावश्यक निजी अस्पतालमा पे्रषण (रेफर) गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका, २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल बनाई कार्यान्वयन सुरु गरिसकेको उल्लेख गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































