नेपाली भाषाको पहिलो समाचारपत्र गोरखापत्र विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन सुरु भएको हो । यही दिन राष्ट्रिय पत्रकारिता दिवस पनि मनाइन्छ । सरकारले २०७३ सालमा यो दिवस मनाउने निर्णय गरेको थियो । यो दिनलाई मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको मात्र वार्षिकोत्सव नभएर समस्त नेपाली पत्रकारिताको जग राखिएको दिनका रूपमा पनि स्मरण गरिन्छ । विशेष गरी नेपाली पत्रकारिताको सुरुवात र विकासक्रमलाई स्मरण गर्ने दिनका रूपमा यस दिवसलाई लिइन्छ । साथै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षा गर्न, पत्रकारितामा खोज, नवीनता, विश्वसनीयता अभिवृद्धि गर्दै जवाफदेही पत्रकारिताको विकासमा पनि यस दिवसले जोड दिन्छ । खोजमूलक पत्रकारितामार्पmत लोकतन्त्र बलियो बनाउने उद्देश्य पनि राखिन्छ ।
सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई यो दिन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । यस दिवस र पुरस्कारका साथै सुशासनमा पत्रकारिता क्षेत्रको भूमिकाबारे केन्द्रित रहेर यसअघि यो पुरस्कारबाट पुरस्कृत व्यक्तित्वसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :


पत्रकारिता सत्य र न्यायको पक्षमा
डा. सुरेश आचार्य
निवर्तमान प्रमुख आयुक्त, राष्ट्रिय सूचना आयोग
नेपालमा समाचारपत्रका रूपमा जनतालाई सूचना दिने पहिलो पत्रिका गोरखापत्र नै हो । यसले गोरखापत्र प्रकाशन भएको दिनमा राष्ट्रिय पत्रकारिता दिवस मनाउनुको औचित्य पुष्टि गर्छ । नेपाली पत्रकारिताको विभिन्न कालखण्डबाट गुज्रिएर धेरै आरोहअवरोह पार गर्दै यहाँसम्म आइपुगेको गोरखापत्रको पत्रकारितामा आफ्नै महìव छ । गोरखापत्र नेपाली पत्रकारिताको इतिहास हो । यही दिन राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गर्नु न्यायोचित हुन्छ । यसले आमनागरिकमा सूचना प्रवाह गरेर सचेत नागरिक बनाउन निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । यस महìवलाई अझै जीवन्त राख्ने गरी सरकारले गोरखापत्र प्रकाशन भएको दिनको सम्झनामा पत्रकारका लागि पुरस्कार स्थापना गरेको हो । यद्यपि राज्यले यस्तो काम गर्न हुन्छ कि हुन्न भन्नु छलफलको विषय होला । हुन त पत्रकारले राज्य वा गैरराज्य पक्षबाट पुरस्कृत हुने अपेक्षा गर्दैन र गर्नु पनि हुँदैन तर पत्रकारले सम्झनयोग्य काम गरेको छ भन्ने लागेर राज्यले दिएको हो भने लिनु पर्छ । म आफैँ पनि त्यो पुरस्कारका लागि योग्य थिएँ वा थिइनँ भन्ने कुरा राज्यले जान्ने कुरा हो तर यही पुरस्कारका लागि व्यक्ति छनोट गर्दा केही विसङ्गति पनि देखिएका छन् । राजनीतिक रङ दिएर छनोट गर्नु गलत हो । मूल्याङ्कन गरेर पुरस्कार दिन सकियो भने यसको गरिमा र महत्व अझै बढ्छ ।
सुशासनका निम्ति नै पत्रकारिता गर्ने हो । सबै पत्रकारबाट पत्रकारिता हुनु पर्छ तर हुन नसकेको पनि सत्य हो । पत्रकारले सुशासनका लागि कलम चलाउन सकेन भने लोकतन्त्र र सुशासन दुवैको संवर्धन र प्रवर्धन हुन सक्दैन । पत्रकारिताले जे दिनुपर्ने हो, त्यो सत्य र न्यायको पक्षमा तटस्थ हुनु पर्छ तर सत्य र असत्यबिचको तटस्थता हुन सक्दैन । सत्यकै पक्ष हुनु पर्छ । न्यायको पक्षमा हुनु पर्छ । अन्यायको पक्षमा हुनु हुँदैन । न्याय र अन्यायबिचको पत्रकारिता हुन सक्दैन । अन्यायमा परेकालाई न्याय दिलाउने पत्रकारिताको धर्म हो । पत्रकारिता तटस्थ हुनु पर्छ । कसैको पक्षधर भएर वकालत गर्नु हुँदैन ।
हिजो मलाई लाग्थ्यो, गोरखापत्रलाई राज्यको नियन्त्रणबाट बाहिर ल्याउनु पर्छ र नयाँ ढङ्गबाट चलाउनु पर्छ तर आज यसो गर्दा गोरखापत्रको भविष्य जोखिममा पर्ने रहेछ भन्ने लागेको छ । यो संस्था कसैको स्वार्थ पूरा नहुँदा बन्द गरियो भने दक्षिण एसियाकै पत्रकारिताको इतिहास समाप्त हुने रहेछ । गोरखापत्रले निरन्तर रूपमा प्रकाशित भएर दक्षिण एसियामा आफ्नो इतिहास कायम गर्न सकेको छ । त्यो समाप्त हुन दिनु हुँदैन । गोरखापत्रसँग मेरो आग्रह के हो भने यसले नागरिकका कुरा नउठाएको हैन तर जुन ढङ्गबाट सामग्री सन्तुलन गर्नुपर्ने हो त्यो बढी राज्यपक्षीय देखिन्छ । नागरिकका मुद्दालाई अझै प्राथमिकता दिन सके गोरखापत्रको औचित्य झनै पुष्टि गर्न सकिन्छ ।
नेपाली पत्रकारिताको महत्वपूर्ण दिन
डा. महेन्द्र विष्ट,
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घ
म पत्रकार महासङ्घको अध्यक्ष भएका बेला नै राष्ट्रिय पत्रकारिता पुरस्कारको घोषणा भएको थियो । गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई नेपाली पत्रकारिताको महìवपूर्ण दिनका रूपमा लिएर नै उक्त पुरस्कार स्थापना गरिएको हो । पत्रकारितामार्फत देशमा महìवपूर्ण योगदान दिएका पत्रकारलाई पुरस्कारमार्फत हौसला प्रदान गर्न राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । नेपाली पत्रकारिताको अवस्था विश्लेषण गर्न, यसका आयामका बारेमा मन्थन गर्न वा पत्रकारितालाई व्यवस्थित गर्न यो दिनले सहयोग गरेको छ ।
गोरखापत्रले विभिन्न आयामबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गोरखापत्रलाई सूचनाको स्रोतका रूपमा हेर्ने गरिन्छ । पत्रकारितामा लामो इतिहास बोकेको गोरखापत्रले नागरिककेन्द्रित भएर जनताले खोजेका सूचना दिन सक्ने वातावरण पाओस् भन्ने शुभकामना पनि छ । गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ अर्थात् राष्ट्रिय पत्रकारिता दिवसले पत्रकारिताको चिन्तन र मन्थन गर्न तथा व्यावसायिक बाटोमा हिँडाउन प्रेरित गर्छ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि सङ्कुचन आउन नपाओस् र संविधानले गरेको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकता सम्बोधन गरेर पत्रकारितालाई निर्बाध रूपमा स्वतन्त्र र व्यावसायिक अभ्यास गर्ने वातावरण बनोस् । यही प्रेरणा यो दिनले हामीलाई दिन्छ । पत्रकारको काम देशमा सुशासन कायम गराउन दबाब दिने हो । सरकारले नै सुशासन कायम गर्न सके पत्रकारलाई काम गर्न अझै सहज हुन्छ । यो नारामा मात्रै सीमित गरेर हुँदैन । व्यवहारमा कसरी मूर्त रूप लिन्छ, त्यसमा भर पर्छ ।
गोरखापत्रको इतिहाससँग जोडिएको पुरस्कार
बबिता बस्नेत, वरिष्ठ पत्रकार
विसं २०७५ मा राष्ट्रिय पत्रकारिताको वरिष्ठ पुरस्कारबाट पुरस्कृत हुने अवसर प्राप्त गरेकी थिएँ । यसको महत्व आफ्नै छ । यो पुरस्कार गोरखापत्रको इतिहाससँग जोडिएको छ । गोरखापत्रलाई पहिलो अखबार भनेर हामी चिन्छौँ । यो अखबार प्रकाशन सुरु भएको दिनकै सम्झनामा राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको हो । पुरस्कार पनि स्थापना गरिएको छ । यो आफैँमा महìवपूर्ण छ । यो पुरस्कार पत्रकारितामा गरिएको योगदानको कदरस्वरूप प्रदान गरिन्छ । यो पुरस्कारलाई अझै निष्पक्ष र स्वतन्त्र बनाएर निरन्तरता दिन जरुरी छ । यस्ता पुरस्कारले पत्रकारलाई आफ्नो पेसामा अझै कर्तव्यनिष्ठ र इमानदार भएर काम गर्ने हौसला प्रदान गर्छ ।
पत्रकारिता र सुशासन नयाँ कुरा होइन । वर्तमान सरकारले सुशासनलाई बढी प्राथमिकता दिन खोजेको छ तर व्यवहार हेर्न बाँकी छ । देशमा लामो समयदेखि भ्रष्टाचार मौलाइरहेको छ । वर्तमान सरकार यसविरुद्ध देखिन्छ । पत्रकारले पनि यसविरुद्ध काम गर्दै आएका छन् । पत्रकारिता कुनै पनि लोकतान्त्रिक समाजको आधारशिला हो । जनताको आवाजलाई सरकारसमक्ष पु¥याउने, समाजका विकृति र विसङ्गति उजागर गर्ने तथा नागरिकलाई सूचित गर्ने कार्य पत्रकारिताले गर्छ । यसकारण पत्रकारिता केवल समाचारको माध्यम मात्र नभई यो परिवर्तनको शक्ति पनि हो । पत्रकारिताको अभावमा नागरिकले सूचना पाउने प्रणाली नै खत्तम हुन पुग्छ र एउटा अकल्पनीय अन्धकारमा समाज धकेलिन्छ ।
समाज लोकतन्त्रीकरणको अभियान
उजिर मगर,
पूर्वमहासचिव, नेपाल पत्रकार महासङ्घ
म नेपाल पत्रकार महासङ्घको महासचिव भएका बेलामा राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना भएको हो । यो आवश्यक पनि थियो । देशका लागि पत्रकारिता गरेर योगदान गरेको छु, राज्यबाट कदर हुन्छ भन्ने मान्यता स्थापित गर्न पनि यो पुरस्कार स्थापना गरिएको हो । गोरखापत्र प्रकाशन भएको दिनमा यो पत्रकारिता पुरस्कार दिइन्छ । गोरखापत्र समाचार प्रकाशनको इतिहास हो र यस दिन उक्त पुरस्कार दिइन्छ । अहिलेसम्म पुरस्कृत भएका व्यक्तित्व हेर्दा देशको मूलधारको सञ्चार माध्यममा लामो समय काम गरेका पत्रकारले यो पुरस्कार प्राप्त गर्नुभएको छ । यो आफैँमा राम्रो हो । आउँदा दिनमा पनि यसै गरी निरन्तरता दिन जरुरी छ ।
यो दिवसले पत्रकारलाई सधैँ प्रेस अभिव्यक्ति स्वतन्त्रताको प्रयोग र रक्षाका लागि प्रेरणा दिन भूमिका खेलेको छ । यसलाई समाज लोकतन्त्रीकरणको अभियानका रूपमा पनि लिन सकिन्छ । नेपालको सन्दर्भमा पत्रकारिताले लामो सङ्घर्ष र बलिदानको इतिहास बोकेको छ । निरङ्कुश शासनदेखि प्रजातन्त्र र लोकतन्त्रको यात्रासम्ममा पत्रकार जेलमा परे, यातना सहनु प¥यो तर सत्य र न्यायको पक्षमा कलम चलाइरहेका छन् । तिनीहरूको योगदानका लागि पनि यसप्रकारको पुरस्कार आवश्यक थियो ।
सुशासनको उठान नै पत्रकारले गर्दै आएका एजेन्डा हुन् । यो नयाँ जस्तो लागेको छैन । नेपालमा मात्रै होइन, विश्वमै पत्रकारिता नै सुशासनका लागि गरिन्छ । बोल्दैमा सुशासन हुन्छ भन्ने हुँदैन । यसको कार्यगतिविधिले थाहा हुने हो । देशको उन्नति र प्रगति भएको हेर्न मन कसको छैन र ? सबैले चाहेको त्यही सुशासन र भ्रष्टाचाररहित समाज त हो नि । यसमा त पत्रकारको सकारात्मक सहयोग भइहाल्छ नि । पत्रकारको काम भनेकै देश र जनताका पक्षमा भएका कामको प्रशंसा गर्ने र यसविरुद्धका गतिविधि भएमा खबरदारी गर्ने हो ।
राजनीतिक हस्तक्षेप हुनु हुँदैन
शीतल साह,
पूर्वकोषाध्यक्ष, नेपाल पत्रकार महासङ्घ
गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ मा हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । यो दिन पत्रकारिताको माध्यमबाट राज्य र समाजका लागि योगदान पु¥याएका पत्रकारलाई पुरस्कृत गरिन्छ, जुन राम्रो सुरुवात हो । नेपालको पत्रकारितामा गोरखापत्रलाई अलग गरेर हेर्न मिल्दैन । यसो गरियो भने गोरखापत्रप्रति अन्याय हुन्छ । गोरखापत्रबाट नै पत्रकारिता सुरु भएकाले यसको आफ्नै महìव छ । त्यसैले नै राज्यले यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको हो । गोरखापत्रको इतिहास हेर्ने हो भने एउटा अन्धकारको युगमा यसले नेपाली समाजलाई सुसूचित गर्ने दायित्व सुरु ग¥यो । आजको परिवेशमा गोरखापत्रले देशको समग्र विकासमा कसरी आफ्नो भूमिका निर्वाह गर्न सक्छ, त्यतातिर लाग्नु पर्छ । अर्थात् मूलधारको सञ्चार माध्यमका रूपमा यसलाई विकास गर्दै लानु पर्छ ।
पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार दिइन्छ । यो राम्रो प्रयास हो । यसमा राजनीतिक हस्तक्षेप भने हुनु हुँदैन । देश र समाजमा पत्रकारिताको माध्यमबाट योगदान गरेका व्यक्तित्वलाई स्वतन्त्र र निष्पक्ष रूपमा छनोट गरेर पुरस्कृत गर्नु पर्छ । पत्रकारलाई हौसला प्रदान गर्ने माध्यम पनि हो यो ।
पत्रकारले काम गर्ने नै सुशासनका लागि हो । सरकारले सुशासन गर्न खोजेको छ भने त त्यसलाई साथ दिनु पर्छ । यसमा कुनै आग्रह वा पूर्वाग्रह भने रहनु हुँदैन । जनताको पक्षमा पत्रकार सधैँ स्वतन्त्र र निष्पक्ष हुनु पर्छ भन्नेमा कसैको दुईमत हुन्छ भन्ने लाग्दैन । मर्यादित पत्रकारिता गर्नु पर्छ । सरकारका राम्रा कामको समर्थन र गलत कामको तथ्यमा रहेर विरोध गर्न सक्नु पर्छ ।
– सीता शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























