05/06/2026, 22:17:01
बुधबार, बैशाख २३, २०८३

ऊर्जा संकटसँग जुध्न अष्ट्रेलियाको नयाँ रणनीति


क्यानबेरा, वैशाख २३ गते । अष्ट्रेलियाली सरकारले देशको इन्धन सुरक्षालाई सुदृढ बनाउन आगामी संघीय बजेटमार्फत १० अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी रकम विनियोजन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा यस प्याकेज अन्तर्गत राष्ट्रिय इन्धन भण्डार स्थापना गरिने र सबै प्रकारका इन्धनका लागि न्यूनतम भण्डारण दायित्व करिब १० दिनले बढाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार यस योजनाले अष्ट्रेलियाको आन्तरिक इन्धन भण्डारण क्षमता विस्तार गरी कम्तीमा ५० दिनको आपूर्ति सुनिश्चित गर्ने छ । सरकारले ७.५ अर्ब अष्ट्रेलियाली डलर ’इन्धन तथा मल सुरक्षा सुविधा’ स्थापना गर्न खर्च गर्ने छ, जसअन्तर्गत ऋण, लगानी, बीमा र मूल्य सहयोगमार्फत घरेलु आपूर्ति र भण्डारण क्षमता बढाइने छ ।

यसैगरी थप ३.२ अर्ब अष्ट्रेलियाली डलर खर्च गरी करिब १ अर्ब लिटर क्षमताको सरकारी स्वामित्वको इन्धन भण्डार निर्माण गरिनेछ, जुन आपूर्ति संकटका बेला विशेष गरी क्षेत्रीय क्षेत्रमा आवश्यक सेवा प्रदायकलाई सहयोग गर्न लक्षित हुनेछ । नयाँ वा विस्तारित प्रशोधन क्षमताको सम्भाव्यता अध्ययनका लागि १० लाख अष्ट्रेलियाली डलर पनि छुट्याइएको छ ।

प्रधानमन्त्री अल्बानीजले नागरिकलाई इन्धन बचत गर्न पनि आग्रह गर्नुभयो । उहाँले विश्व अहिले गम्भीर ऊर्जा संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको प्रभाव विशेषगरी क्षेत्रीय देशमा परेको बताउनुभयो । ऊर्जामन्त्री क्रिस बोवेनले सरकार ‘इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट’ सामना गर्न केन्द्रित रहेको बताउनुभयो ।

उहाँका अनुसार अप्रिल महिनामा इन्धन आयात ९२ ढुवानीसम्म पुगेको छ, जुन यस वर्षकै उच्च हो । विपक्षी नेता एङ्गस टेलरले भने सरकारको योजना ‘ढिलो र अपर्याप्त’ भएको टिप्पणी गर्नुभयो । उहाँले ६० दिनदेखि ९० दिनसम्मको इन्धन भण्डार आवश्यक रहेको बताउनुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..