05/07/2026, 12:09:29
बिहिबार, बैशाख २४, २०८३
आठौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता

हरिनासमा आठौँ अध्यक्ष कप खेलकुद आजदेखि


स्याङ्जा, वैशाख २४ गते । हरिनास गाउँपालिकामा आजदेखि आठौँ अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुँदै छ । गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

गाउँपालिका खेलकुद विकास समितिको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, भेट्रान्स भलिबल र ब्याडमिन्टन खेल समावेश गरिएका छन् । प्रतियोगितामा विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीको सहभागिता रहने छ ।

प्रतियोगिताको पुरुष भलिबलतर्फ विजेताले ७० हजार, उपविजेताले ५० हजार, तृतीयले ३५ हजार र सान्त्वनाले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलतर्फ प्रथमले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ प्राप्त गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।

त्यस्तै, भेट्रान्स भलिबलतर्फ विजेता, उपविजेता, तृतीय र सान्त्वनाले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष ब्याडमिन्टनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

भलिबल प्रतियोगिता गाउँपालिका–४ रोदीखोलास्थित खेलमैदानमा तथा ब्याडमिन्टन प्रतियोगिता गाउँपालिका–६ क्याम्की खेलमैदानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

– अर्जुन काफ्ले