05/06/2026, 22:37:50
बुधबार, बैशाख २३, २०८३

नागार्जुन नगर प्रमुख बस्नेतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन


काठमाडौँ, वैशाख २३ गते । नागार्जुन नगरपालिका, काठमाडौँका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो नौ करोड २२ लाख ४६ हजार ३२ रुपियाँ कायम गरी साथै गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने मनसाय राखी विभिन्न व्यक्तिगत प्रयोजनमा खर्च गरेको भन्दै आयोगले मुद्दा चलाएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१)को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा ३ को उपदफा (३)ले परिभाषित एवम् निषेधित कसुर हुने बिगो १३ करोड १२ लाख ७३ हजार ३२ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको थियो ।

उक्त मुद्दामा २०८२ असार ६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकोले २०८३ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगले जनाएको छ ।