07/29/2026, 11:03:55
बुधबार, साउन १३, २०८३

उद्योगी व्यवसायीको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने


काठमाडौँ, साउन १३ गते । उद्योगी तथा व्यवसायीका समस्या द्रुत गतिमा समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने भएको छ। मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीका जायज विषयलाई सम्बन्धित निकायहरूसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र बनाउन लागिएको जानकारी दिनुभयो।

अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्यसंस्कृतिको विकास गरिने छ, पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका छन् । सरकारको काम त उद्यमीलाई बिनाअवरोध उद्योग चलाउन सक्ने लगानीमैत्री, सुशासित र सहजीकरणयुक्त वातावरण निर्माण गरिदिनु मात्र हो ।,”
– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिइने उल्लेख गर्दै उहाँले अब फाइल नथन्किने र द्रुत गतिमा निर्णय हुने कार्यसंस्कृति विकास गरिने बताउनुभयो। बजेटमार्फत घोषित आर्थिक सुधार, पुँजीगत खर्च वृद्धि, पुँजी बजार सुदृढीकरण तथा अनावश्यक कानुन खारेजी वा संशोधनको काम तीव्र गतिमा अघि बढिरहेको उहाँको भनाइ थियो।

“व्यवसाय गर्ने सहजता बढाउने, पुँजी बजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्ने, श्रम बजारलाई व्यवस्थित गर्ने र डिजिटल सेवामार्फत पारदर्शी प्रशासन निर्माण गर्ने विषयमा पनि स्पष्ट रोडम्याप तय गरेका छौँ,” उहाँले भन्नुभयो, “यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐन खारेज वा संशोधनको प्रक्रियामा छन् ।”

सरकार निजी क्षेत्रको लगानी सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।