नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत उच्च हिमाली चिकित्सालाई प्राथमिकताका क्षेत्रमध्ये एकका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हिमाल नेपालको पहिचान, पर्यटन, अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यो स्वागतयोग्य निर्णय हो तर अबको मुख्य प्रश्न भनेको नेपालले आफ्नो यो प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने र कहाँबाट सुरु गर्ने भन्ने हो ।
यस प्रश्नको उत्तर खोज्दा मुस्ताङ स्वाभाविक रूपमा सबैभन्दा अगाडि देखिन्छ । मुस्ताङ केवल एउटा हिमाली जिल्ला मात्र होइन; यो धार्मिक पर्यटन, साहसिक पर्यटन, सीमापार सम्पर्क, बढ्दो व्यापारिक गतिविधि, अन्तर्राष्ट्रिय आवागमन तथा उच्च हिमाली वातावरणको अद्वितीय सङ्गम पनि हो । मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मावलम्बीको विश्वप्रसिद्ध तीर्थस्थल हो । जोमसोम, कागबेनी, मार्फा, ल्होमन्थाङ, दामोदरकुण्ड, थोराङ्ला पास र अप्पर मुस्ताङ विश्वभरका ट्रेकर तथा हिमाली पर्यटकका लागि परिचित गन्तव्य हुन् । कोरला नाकाको विकास र चीनसँगको बढ्दो सम्पर्कले यसको रणनीतिक महत्व झनै बढाइरहेको छ ।
केही दशकअघिसम्म अत्यन्त दुर्गम मानिने मुस्ताङ आज सडक र हवाई पहुँचका कारण नेपालकै तीव्र गतिमा विकसित भइरहेका हिमाली क्षेत्रमध्ये एक बनेको छ । यही परिवर्तनले मुस्ताङलाई पर्यटन, व्यापार र विकासको अवसर दिएको छ तर सँगै नयाँ स्वास्थ्य चुनौती पनि देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०२५ मा मात्रै मुस्ताङमा एक लाख ६१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा कुल आगन्तुक सङ्ख्या चार लाख २७ हजार नाघेको थियो । यी तथ्याङ्कले मुस्ताङ अब सीमित पर्यटकीय गन्तव्य नभई राष्ट्रिय महत्वको हिमाली केन्द्रका रूपमा विकसित भइसकेको स्पष्ट सङ्केत गर्छ ।


पर्यटकको सङ्ख्या बढ्दै जाँदा उचाइजन्य स्वास्थ्य समस्या पनि बढिरहेका छन् । विशेष गरी धार्मिक पर्यटनको विस्तार र सडक सञ्जालको पहुँचले नयाँ परिस्थिति सिर्जना गरेको छ । विगतमा मानिस क्रमिक रूपमा उचाइ चढ्दै हिमाली क्षेत्रमा पुग्थे । आज पोखरा वा बेनीबाट केही घण्टामै मुक्तिनाथ पुग्न सकिन्छ । शरीरलाई उचाइसँग अनुकूलन हुने पर्याप्त समय नदिँदा स्वास्थ्य जोखिम बढ्नु स्वाभाविक हो । यही कारणले उच्च हिमाली स्वास्थ्य अब केवल चिकित्सकीय विषय मात्र नभई पर्यटन व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, उद्धार सेवा र राष्ट्रिय नीतिसँग जोडिएको विषय बनेको छ ।
मुस्ताङ जिल्ला अस्पतालमा गरिएको र अन्तर्राष्ट्रिय जर्नल पिलोस अन (सन् २०२२) मा प्रकाशित अध्ययनले आपत्कालीन उपचारका लागि आएका बिरामीमध्ये ७४ प्रतिशतमा लेक लाग्ने समस्या पुष्टि भएको देखाएको छ । यो अध्ययनले उचाइजन्य स्वास्थ्य समस्या कुनै सैद्धान्तिक बहस नभई वास्तविक र प्रमाणित सार्वजनिक स्वास्थ्य चुनौती भएको स्पष्ट पार्छ ।
यसको अर्को गम्भीर पक्ष मृत्यु तथ्याङ्कमा देखिन्छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पछिल्ला पाँच वर्षमा उचाइजन्य समस्याका कारण ५८ जनाले ज्यान गुमाएका छन् । यस वर्षको वैशाख, जेठसम्ममा मुस्ताङमा लेक लाग्ने (हाई अल्टिच्युड सिकनेस) का कारण नौ विदेशी नागरिकसहित १३ पर्यटकको मृत्यु भइसकेको छ । यीमध्ये धेरै जसो मुक्तिनाथ तथा आसपासका क्षेत्रमा पुगेका पर्यटक र तीर्थयात्री थिए । यो सङ्ख्या केवल तथ्याङ्क होइन, यो हाम्रो स्वास्थ्य प्रणालीको एउटा कमजोरीको सङ्केत पनि हो ।


अहिले मुस्ताङमा स्वास्थ्यसेवा विस्तार भए पनि उच्च हिमाली क्षेत्रमा आवश्यक विशेष स्वास्थ्य पूर्वाधार अझै अपर्याप्त छन् । धेरै स्थानमा आकस्मिक उपचारका लागि आवश्यक उपकरणको अभाव छ । मुटुको निगरानी गर्ने मोनिटर, पर्याप्त अक्सिजन आपूर्ति प्रणाली, डिफिब्रिलेटर, सक्सन मेसिन तथा अन्य जीवनरक्षक उपकरण सबै ठाउँमा उपलब्ध छैनन् । प्रयोगशाला सेवा पनि सीमित छन् । जटिल रगत परीक्षण, इलेक्ट्रोलाइट परीक्षण, विशेष जैविक/रासायनिक परीक्षण तथा उन्नत इमेजिङ सेवाका लागि अझै पोखरा वा काठमाडौँको भर पर्नुपर्ने अवस्था छ । उच्च उचाइमा देखिने स्वास्थ्य समस्याका लागि आवश्यक विशेष औषधीको उपलब्धता पनि नियमित र पर्याप्त छैन । त्यस्तै विशेषज्ञ जनशक्ति अभावले गर्दा दुर्गम क्षेत्रमा स्वास्थ्यसेवा विस्तार चुनौतीपूर्ण बनेको छ । यस्ता सीमितताका कारण समयमै उपचार नपाउँदा केही बिरामीको अवस्था जटिल बन्ने जोखिम कायम छ ।
नेपालले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिएको छ । प्रत्येक वर्ष लाखौँ पर्यटक हिमाली क्षेत्रमा पुग्ने लक्ष्य राखिएको छ तर पर्यटनको विस्तारसँगै स्वास्थ्य सुरक्षामा लगानी नगर्ने हो भने दीर्घकालमा यसले चुनौती ल्याउन सक्छ । सुरक्षित पर्यटन आज विश्व पर्यटन उद्योगको प्रमुख आधार बनेको छ । पर्यटकलाई आकर्षित गर्नु जति महत्वपूर्ण छ, उनीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । यही सन्दर्भमा मुस्ताङमा ‘हाई अल्टिच्युड मेडिसिन तथा माउन्टेन हेल्थ रिसर्च सेन्टर’ स्थापना गर्ने विषय केवल एउटा अस्पताल निर्माण गर्ने प्रस्ताव होइन । यो पर्यटन सुरक्षा, अनुसन्धान, शिक्षा, जनशक्ति विकास, उद्धार क्षमता अभिवृद्धि तथा राष्ट्रिय प्रतिष्ठासँग जोडिएको दीर्घकालीन रणनीतिक कार्यक्रम हुन सक्छ ।
मुस्ताङलाई आधार बनाएर नेपालमै पहिलो पटक ‘डिप्लोमा इन माउन्टेन मेडिसिन’ कार्यक्रम सञ्चालन गर्ने सम्भावना बलियो देखिन्छ । यस कार्यक्रममार्फत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, उद्धारकर्मी, ट्रेकिङ गाइड, पर्वतारोहण सहयोगी तथा संरक्षण क्षेत्रमा कार्यरत जनशक्तिलाई विशेष तालिम दिन सकिन्छ । यसले उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यक्तिहरूको दक्षता बढाउनुका साथै दुर्घटना तथा स्वास्थ्य जोखिम घटाउन मद्दत पु¥याउने छ । मुस्ताङमा राष्ट्रियस्तरको अनुसन्धान तथा उपचार केन्द्र स्थापना गर्न सकियो भने यसले नेपाललाई उच्च हिमाली स्वास्थ्य विज्ञानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याउन सक्छ । जलवायु परिवर्तन, हिमाली समुदायको स्वास्थ्य, उचाइजन्य रोग, चिसो वातावरणका असर, हिमाली उद्धार तथा आपत्कालीन चिकित्सा जस्ता विषयमा विश्वस्तरीय अनुसन्धान गर्न सकिने छ ।


मुस्ताङको सबैभन्दा ठुलो विशेषता यसको भौगोलिक विविधता हो । जोमसोमदेखि मुक्तिनाथ, ल्होमन्थाङ, कोरला र थोराङ्लासम्म फैलिएको उचाइ विविधताले विभिन्न उचाइमा मानव शरीरमा हुने परिवर्तन अध्ययन गर्ने दुर्लभ अवसर प्रदान गर्छ । विश्वका धेरै विकसित मुलुकले यस्ता अध्ययनका लागि कृत्रिम वातावरण निर्माणमा ठुलो लगानी गरिरहेका छन् । नेपालसँग भने प्रकृतिले दिएको वास्तविक अनुसन्धानशाला उपलब्ध छ ।
यो केन्द्रको महत्व मुस्ताङमै सीमित रहने छैन । वास्तवमा यसलाई राष्ट्रिय माउन्टेन मेडिसिन प्रशिक्षण केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ । नेपालमा हालसम्म उच्च हिमाली चिकित्सा विषयमा व्यवस्थित तालिम र शैक्षिक संरचना लगभग छैन । त्यसैले यसमा चिकित्सक, नर्स, स्वास्थ्य सहायक, प्यारामेडिक्स, उद्धारकर्मी, ट्रेकिङ गाइड तथा पर्वतीय क्षेत्रमा कार्यरत जनशक्तिका लागि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । नेपालमै पहिलो पटक ‘डिप्लोमा इन माउन्टेन मेडिसिन’ कार्यक्रम सञ्चालन गर्ने आधार पनि यही केन्द्र बन्न सक्छ । त्यसभन्दा महत्वपूर्ण कुरा, यहाँ प्रशिक्षित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला तथा अन्य उच्च हिमाली जिल्लामा माउन्टेन मेडिसिन तालिमप्राप्त स्वास्थ्यकर्मी उपलब्ध गराउन सकिने छ । साथमा यसले नेपालभर उच्च हिमाली स्वास्थ्यसेवाको गुणस्तर सुधार गर्न पनि मद्दत पु¥याउने छ ।
अर्कोतर्फ अनुसन्धानकर्ता, विद्यार्थी, चिकित्सक तथा विदेशी विशेषज्ञहरूको आगमनले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने छ । होटेल, यातायात, कृषि उत्पादन, स्थानीय सेवा तथा ज्ञानमा आधारित अर्थतन्त्रका नयाँ अवसर सिर्जना हुने छन् । दीर्घकालमा मुस्ताङ ‘हिमाली स्वास्थ्य अनुसन्धान पर्यटन’ को केन्द्रका रूपमा समेत विकसित हुन सक्छ ।


अब सरकारले उच्च हिमाली चिकित्सालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने हो भने मुस्ताङ सबैभन्दा उपयुक्त प्रारम्भिक केन्द्र बन्न सक्छ । यसका लागि सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी क्षेत्रबिच समन्वय आवश्यक छ । सरकारले विशेष बजेट विनियोजन गरी अनुसन्धान केन्द्र, अस्पताल स्तरोन्नति, तालिम कार्यक्रम तथा उद्धार पूर्वाधार विकासलाई प्राथमिकता दिनु पर्छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई हाई अल्टिच्युड मेडिसिन, कोल्ड इन्जुरी म्यानेजमेन्ट तथा हिमाली आपत्कालीन स्वास्थ्यसेवासम्बन्धी विशेष तालिम उपलब्ध गराउनु पर्छ ।
नेपाल सरकारले उच्च हिमाली चिकित्सा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । अब आवश्यक कुरा त्यो प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु हो । नीति निर्माण र कार्यान्वयनबिचको दुरी घटाउन सकिएन भने उत्कृष्ट अवधारणा पनि कागजमै सीमित हुने जोखिम रहन्छ । सरकारले आफ्नो बजेट तथा नीतिगत प्रतिबद्धतालाई वास्तविक कार्यक्रमका रूपमा अघि बढाउन चाहन्छ भने मुस्ताङमा राष्ट्रिय ‘हाई अल्टिच्युड मेडिसिन तथा माउन्टेन हेल्थ रिसर्च सेन्टर’ स्थापना गर्नु दूरदर्शी, व्यावहारिक र समयसापेक्ष निर्णय हुने छ । यसले हजारौँ पर्यटक र स्थानीयवासीको जीवन सुरक्षित बनाउने मात्र होइन; नेपाललाई उच्च हिमाली स्वास्थ्य विज्ञान, अनुसन्धान र जनशक्ति विकासको क्षेत्रमै नयाँ पहिचान दिलाउने आधार पनि तयार गर्ने छ ।
– डा. अरुणकुमार न्यौपाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































