भदौ २३/२४ गतेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले नेपाली राष्ट्रिय राजनीतिको स्वरूप, लय र गन्तव्य फेरबदल भएको छ । फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले विगत सात दशकदेखि स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, मधेशकेन्द्रित दल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आकार संसद्मा अविश्वसनीय तवरबाट खुम्च्याइदिएको छ ।
नेपालको राष्ट्रिय राजनीतिमा सात दशकदेखि केन्द्रविन्दुमा रहेको कांग्रेस पार्टीभित्रको अन्तरकलहले तल्लो तहसम्म मानसिक रूपमा विभाजन गरिदिएको छ । नियमित र विशेष महाधिवेशनको विषयले विभाजित नेतृत्व अहिले आ-आफ्ना विचार समूहको शक्ति सञ्चय गर्न र पुनः सङ्गठित हुन प्रयासरत छन् ।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यताप्राप्त गगन थापा नेतृत्वको समूह प्रशिक्षण र सदस्यता अद्यावधिक गर्ने नाममा सात वटै प्रदेश र जिल्ला जिल्लामा प्रतिनिधि पठाएर आफ्नो उपस्थिति र पकड बलियो बनाउन लागेको देखिन्छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षधर नेता कार्यकर्ता सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला गरेर गत भदौ/असोजमा नवीकरण भइसकेका क्रियाशील सदस्य नै १५ औँ महाधिवेशनको मतदाता बन्नुपर्ने अडानमा दृढ देखिन्छन् । यता १४ औँ महाधिवेशनबाट स्थापित डा. शेखर कोइराला समूह पनि पुरानो कोइराला समूहलाई पुनर्जीवित गर्दै डा. शशाङ्क कोइराला, सुजाता कोइराला लगायत पार्टीका पुराना नेता कार्यकर्तालाई पुनः सङ्गठित गर्न गराउन प्रयासरत छन् ।
नियमित र विशेष महाधिवेशनका नाममा चर्किएको अन्तरकलहबिच सम्पन्न भएको विशेष महाधिवेशन र पार्टीका शीर्ष नेताहरूको सहमतिबिना टिकट बाँडफाँट गरेर फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसको पराजयले पार्टीको जरासम्मै हल्लाइदिएको छ । अहिले पार्टी केन्द्रमा देखिएका तीन समूह १५ औँ नियमित महाधिवेशन समयमै सम्पन्न हुनु पर्छ, गर्नु पर्छ भन्ने विषयमा सहमत देखिन्छन् । विशेष महाधिवेशनले मानसिक रूपमा विभाजित नेतृत्व महाधिवेशन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउने विषयमा भने आआफ्नै अडानमा देखिन्छन् ।


शीर्ष नेतृत्वको मतैक्यबिना र कांग्रेसका सबै तहका पुराना नेता कार्यकर्ताको सहभागिताबिना जबरजस्ती कथम्कदाचित् अधिवेशन सम्पन्न भयो भने कांग्रेस पार्टी केन्द्रदेखि तल्लो तहसम्म विभाजन हुने त होइन भन्ने प्रश्नले पार्टीका शुभचिन्तकलाई पिरोलिरहेको छ । पार्टी स्थापना कालदेखि नै कांग्रेसले विभाजनको पीडा पटक पटक बेहोरेको छ । २००८ सालमा मातृकाप्रसाद कोइरालाले, ध३८ समूहको नाममा बखानसिंह गुरुङ लगायतले, ३६/७४ का नाममा २०५९ सालमा नेपाली कांग्रेस विभाजित हुँदा लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार भएको थियो । यस्ता घटनाले राष्ट्रियतामाथि नै आँच आउने गरेको इतिहास नेतागणले सम्झिन जरुरी छ ।
लोकतन्त्र स्थापना र पुनस्र्थापनाको आन्दोलन, कांग्रेसको सङ्गठन विस्तार र सुदृढीकरणका लागि आफ्नो यौवन मात्र होइन; सम्पूर्ण जीवन समर्पण गरेका, श्री-सम्पत्ति सिध्याएका असङ्ख्य कार्यकर्ता कांग्रेस पार्टी कुनै बहानामा विभाजित नहोस् भन्ने कामना गरिरहेका छन् । अहिले पार्टीका नेता कार्यकर्तासँग तीन विकल्प देखिन्छन् ।
पहिलो– विवादका बिच विशेष महाधिवेशन सम्पन्न भएर पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको सभापतित्वको केन्द्रीय समितिलाई मान्यता दिएर रूख चिह्नसमेत प्रदान गरिसकेको हुनाले आफ्ना पूर्वमान्यता र धारणा जे भए पनि रूख र चार ताराको पक्षमा उभिएर क्रियाशील हुने र त्यहीभित्र बसेर सङ्घर्ष गर्ने ।
दोस्रो– पार्टी विधान नियमावली मिचेर सबैको सहमतिबिना एकपक्षीय ढङ्गबाट विशेष महाधिवेशन सम्पन्न भएको हो । यद्यपि अदालतले कानुनी तवरबाट निर्णय गरिसकेको भए पनि कांग्रेसको इतिहास एवं बिपी, गणेशमान, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको विचार तथा भावनालाई आत्मसात् गर्न विशेष महाधिवेशनको नेतृत्वले नसक्ने भएका कारण पार्टीलाई नयाँ शिराबाट पुनर्गठन गर्ने ।
तेस्रो– पार्टीको केन्द्रीय नेतृत्वको नियमित या विशेष महाधिवेशन गर्ने हठ र विवादका कारण पार्टीलाई थिलथिलो बनाएको, फागुन २१ को निर्वाचन परिणामले कांग्रेस पार्टीलाई थप सशक्त बनाउन पार्टी केन्द्रीय तहदेखि स्थानीय तहसम्म आपसी एकता र मेलमिलाप गर्न सन्देश दिएको एवं बिपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको पार्टीलाई जीवन्त तुल्याउन आआफ्ना अडान छोडेर नयाँ ढङ्गबाट सोच्न जरुरी छ । त्यो भनेको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समिति समायोजन गर्ने । आगामी १५ औँ महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा स्वीकार गर्ने ।


एकताको महाधिवेशन स्वच्छ, निष्पक्ष र विवादरहित ढङ्गबाट सम्पन्न गर्न पार्टीभित्रका तीन वटै पक्षको सहमतिमा पूर्वकेन्द्रीय पदाधिकारीको संयोजकत्वमा सात प्रदेशबाट कम्तीमा तीन÷तीन जना सदस्य रहने गरी एकताको महाधिवेशन र निष्पक्ष निर्वाचन समिति गठन गरेर आगामी मङ्सिरभित्र महाधिवेशन सम्पन्न गर्ने । माथि उल्लिखितबाहेक सबै पक्षलाई स्वीकार्य हुने अरू विकल्पका बारेमा पनि तत्काल बहस अगाडि बढाउन जरुरी छ ।
समय बलवान् हुन्छ । नियति र कर्मले कांग्रेस भविष्यमा बलियो भएर अगाडि बढ्छ कि प्रजापरिषद् जस्तै इतिहासको गर्भमा विलय हुन्छ ? हाम्रासामु ठुलो प्रश्न उठेको छ । समयमै देश, जनता र पार्टीलाई सही दिशा दिन सकिएन भने भोलि पछुताउनुबाहेक हामीसँग के नै पो बाँकी रहन्छ र ? राजनीति सधैँ सिधा बाटो हिँड्दैन, नागबेली बाटो हिँड्ने गर्छ । सबैलाई हेक्का रहोस् ।
– विनोदप्रकाश कायस्थ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































