05/19/2026, 09:43:38
मङ्गलबार, जेठ ०५, २०८३

कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु हो : सभापति थापा


काभ्रेपलाञ्चोक, जेठ ४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको बताएका छन् ।

कांग्रेस प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलाको सोमबार उद्‌घाटन गर्ने क्रममा सभापति थापाले वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको बताएका हुन् । ‘सरकार संख्याको दम्भमा संविधानको ट्र्याकबाट दायाँ बायाँ जान खोज्यो भने त्यसलाई समातेर सही बाटोमा राख्ने काम कांग्रेसको हो,’ उनले भने ।

सरकारले संविधान, कानुन र नागरिक अधिकारमाथि हस्तक्षेप गरे कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन् । अदालत, संसद् र संवैधानिक संस्थाको सम्मान गर्नु भनेको अन्ततः नागरिकको सम्मान गर्नु भएको उल्लेख गरे । भूमिहीन सुकुमवासी, दलित तथा कमजोर वर्गमाथि राज्यबाट अन्याय भए कांग्रेसले स्पष्ट रूपमा आवाज उठाउने सभापति थापाले बताए ।

सभापति थापाले मुलुकको अहिलेको प्रमुख चुनौती आर्थिक संकट भएको बताए । महंगीले नागरिकको ‘खल्ती र भान्सा’ दुवै प्रभावित भएको उल्लेख गर्दै बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन नसकेको, व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको र किसानसमेत समस्यामा परेको बताए । सरकारले अब राजनीतिक विवादभन्दा अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

सभापति थापाले कांग्रेस केवल चुनावका लागि बनेको पार्टी नभई राष्ट्र निर्माण, लोकतन्त्र स्थापना र आधुनिक नेपालको जग बसाल्ने शक्ति भएको दाबी गरे । पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै थापाले यसले कांग्रेसको छवि कमजोर बनाएको बताए ।

सभापति थापाले प्रविधिको प्रयोगमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, लाखौं सदस्यसँग प्रत्यक्ष संवाद गर्ने र स्थानीय तहका उम्मेदवार चयन प्रक्रियामा सदस्यको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने योजना रहेको पनि सार्वजनिक गरे ।

आगामी स्थानीय तह निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न सभापति थापाले नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।

– ज्योती श्रेष्ठ