05/19/2026, 09:53:49
मङ्गलबार, जेठ ०५, २०८३
विश्व सडक सुरक्षा सप्ताह–२०२६

ट्राफिक सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमुखी बनाइँदै


काठमाडौँ, जेठ ५ गते । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । चेतनामूलक अभियानलाई प्राथमिकता दिँदै आएको ट्राफिक प्रहरीले पारदर्शिता, आपसी विश्वास र उत्तरदायित्वलाई जनमुखी बनाउने भएको छ ।

सप्ताहका अवसरमा कार्यालय र मातहत कर्मचारीका पीरमर्का तथा गुनासो सुनुवाइ कार्यक्रम गरी साङ्गठनिक सुधारको पनि पहल गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले भन्नुभयो, “सङ्गठनभित्र पारदर्शिता, आपसी विश्वास, उत्तरदायित्व तथा कर्मचारीमैत्री कार्य वातावरण निर्माण गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमुखी बनाइने छ ।

सप्ताहमा दुई र चारपाङ्ग्रे सवारीचालक, सहचालकलाई लक्षित गर्दै ‘दुई मिनेट ट्राफिक सचेतना’ कार्यक्रम गरिएको छ । दुईपाङ्ग्रे सवारी दुर्घटना बढी हुने हुँदा उनीलाई सचेत गराउन दुई मिनेट ट्राफिक सचेतना कार्यक्रम गरिएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सप्ताहका अवसरमा ट्राफिक प्रहरीले सडक सुरक्षासम्बन्धी नियमको जानकारी दिँदै यात्रु र चालकलाई जिम्मेवार बनाएर सवारी चलाउन आग्रह गरेको छ ।

सवारीको चाप, अव्यवस्थित ट्राफिक प्रणाली र सडक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सचेतनामूलक कार्यक्रम भएका छन् । विशेष गरी हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवनमा सवारी नचलाउने, तीव्र गति नगर्ने, ट्राफिक सङ्केतको पालना गर्ने, पैदलयात्रुको सुरक्षामा ध्यान दिनुपर्ने लगायत विषयमा सचेतना गरिएको छ ।

सवारीचालक, सहचालक र यात्रुमा ट्राफिक नियमप्रति सचेत गराई सडक दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख लक्ष्य रहेको पनि कार्यालयले जनाएको छ । सप्ताह अन्तर्गत सार्वजनिक सवारीमा आरक्षण सिटको कार्यान्वयन, भाडादरको सूची टाँस्ने, सवारीमा सिसिटिभी क्यामरा जडान तथा जिपिएस प्रणाली जडानमा पनि जोड दिइएको छ । चालकलाई यात्रुमैत्री व्यवहार अपनाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउन र ट्राफिक सङ्केतको पूर्णपालना गर्न आग्रह गरिएको छ ।

पैदलयात्रुलाई पनि सचेत पारिएको छ । जेब्रा क्रसिङ, आकाशे पुलको प्रयोग, टिकट लिएर मात्रै यात्रा गर्नुपर्नेलगायतका सचेतनाका काम गरिएको उपरीक्षक सुवेदीले बताउनुभयो । साथै उपत्यकाका विद्यालय, कलेज तथा समुदायसँग सहकार्य गरी ट्राफिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय तहदेखि नै ट्राफिक सचेतना विस्तार गर्न सके भविष्यमा सडक अनुशासन कायम गर्न सहज हुने सुवेदीको भनाइ छ ।