05/19/2026, 09:37:50
मङ्गलबार, जेठ ०५, २०८३

सार्वजनिक बिदाका कारण पम्पमा उपभोक्ताको भिड


काठमाडौँ, जेठ ५ गते । सातामा दुई दिनको सार्वजनिक बिदाको असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार उपत्यका अधिकांश पेट्रोल पम्पमा तेल भर्ने उपभोक्ताको लामो लाइन देखियो ।

दुई दिन सार्वजनिक बिदाका कारण बजारमा तेलको माग बढ्दा पेट्रोल पम्पमा लाइन लागेको हो । सोमबार निजी पेट्रोल पम्पसँगै सेनाको पम्पमा समेत तेल भर्नका लागि उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई दिन सार्वजनिक बिदाका कारणले पेट्रोल पम्पमा तेल भर्ने उपभोक्ताको लाइन लागेको जानकारी दिनुभयो ।

बजार माग अनुसार तेलको वितरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “दुई दिन सार्वजनिक बिदाका कारणले पम्पमा लाइन लागेको हो, अभाव छैन ।” शनिबार र आइतबार डिपो बन्द भई निगमले तेल वितरण गर्दैन ।

इन्धन खपत कम गर्न सरकारले गत वैशाख २३ देखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ । तेलको आपूर्ति नियमित भइरहेकाले अभाव नभएको उहाँले जानकारी दिनुभयो ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले दुई दिन सार्वजनिक बिदामा निगमले तेल वितरण नगरेका कारण बजारमा माग बढेकाले पम्पमा लाइन लागेको जानकारी दिनुभयो । शुक्रबार इन्धनको मूल्य घट्ने सक्ने आशङ्कामा पम्पले कम तेल उठाउँदा बजारमा तेलको माग बढ्न गएको उहाँको भनाइ छ । लगातार सार्वजनिक बिदामा डिपो बन्द हुँदा बजारमा इन्धनको अभाव नहुने भएकाले पनि आइतबार खुला गर्न आवश्यक रहेको उहाँको भनाइ छ । अत्यावश्यक वस्तु भएकाले आइतबार डिपो खुला गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

निगमले १५/१५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएकोमा यस पटक भने समायोजन गरेको छैन । निगमका अनुसार दैनिक उपत्यकामा सात सयदेखि आठ सय किलोलिटर पेट्रोल र ८५० देखि नौ सय किलोलिटर डिजेल खपत हुने गरेको छ ।