05/19/2026, 09:54:50
मङ्गलबार, जेठ ०५, २०८३

दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ


काठमाडौँ, जेठ ४ गते । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनी वीरगन्जको एक होटलबाट सोमबार पक्राउ परेका हुन् । उनी मंगलबार हुने कार्यक्रममा सहभागी हुन वीरगन्जमा गएका थिए । ‘अफवाह फैलाएको आरोप‘मा उनलाई पक्राउ गरेको पर्सा प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठकले बताए ।

पछिल्लो समय उनी निर्वाचनसम्बन्धी कसुरमा पटक पटक पक्राउ परेका थिए । गत २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बन्द आह्वान गरेपछि निर्वाचन आयोगको अनुरोधमा प्रहरीले उनलाई निर्वाचनको केही दिनअघि पक्राउ गरेको थियो ।

प्रसाईं विवादास्पद अभिव्यक्तिका आधारमा २०७६ सालदेखि अहिलेसम्म कम्तिमा १० पटक पक्राउ परिसकेका छन् । उनी हरेकपटक अदालतबाट छुट्ने पनि गरेका छन् ।

– गौरव पोखरेल