

काठमाडौँ, जेठ २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुशासन र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोऱ्याउन नहुने बताउनुभयो । उहाँका अनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ, तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोऱ्याउने छुट पाउँदैन । कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोग लगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने उल्लेख गर्नुभयो ।
बैठकमा सांसद कँडेलले भन्नुभयो, “माननीय अर्थमन्त्रीज्यूले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ । तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्त्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । त्यसैले विगतका कमजोरीबाट आफू पूर्णतः अलग रहेको सन्देश दिन खोज्नु उपयुक्त हुँदैन ।” नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएकाले विगतका गल्तीलाई आधार बनाएर अहिले त्रुटि गर्ने छुट कसैलाई नहुने उहाँको भनाइ थियो । उहाँले यस पटक देखिएको त्रुटिका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।
सांसद कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट)को बहुदर प्रणालीका सम्बन्धमा पनि प्रश्न उठाउनुभयो । नेपालको कर प्रशासनले विगतदेखि एकल भ्याट प्रणालीलाई अङ्गीकार गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले बहुदरतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भए/नभएको बारे जिज्ञासा राख्नुभयो । १३ प्रतिशतको एकल भ्याट दरको विकल्पका रूपमा विलासिताका वस्तुमा फरक दर निर्धारण गर्दा स्पष्ट आधार र औचित्य प्रस्तुत गरिनुपर्ने उहाँको तर्क थियो । कँडेलले कर नीतिमा स्थायित्व र स्पष्टता कायम गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
यसअघि समितिको बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटमा प्राविधिक त्रुटि देखिएकाले सच्याउनुपरेको र यसलाई विपक्षीले ठुलो विषय बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































