05/29/2026, 22:20:31
शुक्रबार, जेठ १५, २०८३

स्काउटका साथ सडकमा उत्रिए एसपी रिजाल, वीरेन्द्रनगरमा ट्राफिक सचेतना अभियान प्रभावकारी


वीरेन्द्रनगर, जेठ १५ गते । सुर्खेतको वीरेन्द्रनगरमा सडक सुरक्षा र ट्राफिक सचेतनालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी मुकुन्दप्रसाद रिजाल स्वयं सडकमा उत्रिएका छन् ।

नेपाल स्काउटका भाइ-बहिनीहरूसँग सहकार्य गर्दै उनले वीरेन्द्रनगरका विभिन्न चोक, बजार क्षेत्र तथा व्यस्त सडकहरूमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेका हुन् ।

अभियानका क्रममा पैदलयात्रीलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सवारी चालकलाई सिटबेल्ट बाँध्न, ट्राफिक संकेतको पालना गर्न तथा सुरक्षित यात्राको बानी विकास गर्न आग्रह गरिएको थियो । स्काउटका विद्यार्थीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर सडक प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा जानकारी दिँदै ट्राफिक नियम पालनाका लागि प्रेरित गरेका थिए ।

एसपी रिजालले सडक सुरक्षा केवल प्रहरीको दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताएका छन् । पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दो सवारी चापसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएकाले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे। विशेषगरी विद्यार्थी र युवापुस्तामाझ ट्राफिक अनुशासन विकास गर्न स्काउटमार्फत अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा तीव्र रूपमा विस्तार भइरहेको शहर हो। शहरसँगै सवारी साधनको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा समुदाय–प्रहरी साझेदारीमार्फत सञ्चालन गरिएका अभियानले सडक प्रयोगकर्तामा जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले प्रहरी र स्काउटको संयुक्त अभियानलाई सकारात्मक रूपमा लिँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताएका छन् । सडकमा प्रत्यक्ष पुगेर गरिएको सचेतना अभियानले बालबालिकादेखि वृद्ध-वृद्धासम्मलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउने विश्वास गरिएको छ ।

– खेमराज भट्ट