

मकवानपुर, जेठ १२ गते । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट मार्गमा निर्माण तथा सुधारका क्रममा सवारी आवागमन बन्द गरिने भएको छ । उक्त सडक खण्डमा यही जेठ १७ गतेदेखि ३० गतेसम्म १४ दिन सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाउन लागिएको हो ।
सडक डिभिजन काठमाडौँमार्फत दुईवटा निर्माण कम्पनीले सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माण लगायतका कार्य गर्ने भएका छन् ।
थानकोट–चित्लाङ सडक निर्माण तथा सुधार कार्य भइरहेकोमा उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण गुडिरहेका सवारीसाधनले निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने देखिएकाले सवारी आवागमन पूर्ण रूपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन काठमाडौँले जनाएको छ ।
सडक डिभिजन काठमाडौँका इन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार चित्लाङ–थानकोट सडकको १८ किलोमिटरमध्ये नौ किलोमिटर सडक सुधार हुन बाँकी छ । त्यसमध्ये दुईवटा निर्माण कम्पनीमार्फत कालोपत्र र ढलान गरी करिब साढे सात किलोमिटर सडक खण्डमा काम हुने जानकारी उहाँले दिनुभयो ।
टेवा पर्खाल निर्माण, कालोपत्र र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौँतर्फ काम हुनेछ ।
निर्माण कम्पनी तामाङ कन्स्ट्रक्सन प्रा.लि, काठमाडौँमार्फत तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने इन्जिनियर भण्डारीले बताउनुभयो । हाल बजारमा अलकत्रा (बिटुमिन) को अभाव रहेको र उपलब्ध हुनासाथ कालोपत्रसमेत गर्ने योजना रहेको उहाँको भनाइ छ ।
यस्तै अर्को कम्पनीले पनि ढलान र कालोपत्रको ठेक्का पाएकोमा अलकत्राकै अभावका कारण काम सुरु हुन नसकेको बताइएको छ । उक्त ठेक्काको सम्झौता अवधि आगामी मङ्सिरसम्म रहेकाले अलकत्रा उपलब्ध हुनासाथ काम सुरु गरिने उहाँले बताउनुभयो । इन्जिनियर भण्डारीका अनुसार उक्त सडकको मकवानपुरतर्फको अधिकांश भागमा कालोपत्र लगायतका काम भइसकेका छन् ।
सडक निर्माण तथा सुधारका क्रममा काठमाडौँको पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकालाई सडक डिभिजन काठमाडौँले अनुरोध गरेको छ ।
– राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































