05/14/2026, 21:39:14
बिहिबार, बैशाख ३१, २०८३

सरकार विधिसम्मत चल्नुपर्छ : कांग्रेस सभापति थापा

सरकार बेलगामको घोडा जस्तो भए उसकैै लागि घातक हुनेछ ।


पोखरा, वैशाख ३१ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार पाँच वर्षसम्म टिक्नुपर्ने बताउँदै संविधान, कानुन र विधिअनुसार सञ्चालन भएमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने बताउनु भएको छ ।

पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत नचले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले खबरदारी गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारलाई सहयोग गर्न कांग्रेस पछि नहट्ने बताउँदै वालेन्द्र शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार चल्नुपर्ने धारणा राख्दै भन्नुभयो, “सरकार बेलगामको घोडा जस्तो भए उसकैै लागि घातक हुनेछ ।

उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकप्रति भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ती समुदायको संरक्षणमा प्रदेश र स्थानीय तह सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापाले पछिल्ला घटनाक्रममा निजी क्षेत्रमाथि भइरहेको गैरकानुनी हस्तक्षेपको विरोध गर्दै निजी क्षेत्रलाई त्रसित बनाएर सुशासनको नारा सार्थक हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र एकता र जनविश्वास सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पार्टीसँग असन्तुष्ट जनताको मन जित्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक रिक्तता अन्त्य गर्न कांग्रेस निर्वाचनमा गएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारहरूले सङ्घीय सरकारलाई सहयोग गर्नुपर्ने तथा सङ्घीय सरकारले पनि प्रदेशको भावना र अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

blog

कांग्रेस र एमालेको गठबन्धन सातै प्रदेशमा कायम रहने भन्दै उपसभापति शर्माले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन प्रक्रियाले पार्टी एकतालाई थप बलियो बनाएको बताउनुभयो ।

कांग्रेसका महामन्त्री गुरु घिमिरेले पार्टीको सदस्यता अद्यावधिक अभियान नरोकिने बताउनुभयो । उहाँले भनुभयो, “यो प्रविधीकरणको अभियान हो, पार्टी संरचनाले होइन सक्रियताले चल्छ ।” पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको अभियानमा पार्टी केन्द्रित रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, पार्टी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभयोे । उहाँले गत निर्वाचनमा कांग्रेसले भोगेको असफलतामा जनप्रतिनिधिप्रतिको असन्तुष्टि पनि एक कारण रहेको बताउँदै सरकारलाई सेवा प्रवाह सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीलाई नीतिगत रूपमा एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश तथा अन्य जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नीति तथा प्रशिक्षण विभागका सहसंयोजक मधु आचार्य, गण्डकी प्रदेशकी उपसभापति एवम् प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी तथा महामन्त्री विष्णु लामिछाने लगायतले पार्टी संगठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो ।

यसअघि कांग्रेसले वैशाख २६ र २७ गते कैलालीमा सुदूरपश्चिम प्रदेशस्तरीय तथा वैशाख २८ र २९ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला सम्पन्न गरेको थियो ।

कांग्रेसले जेठ ४ र ५ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशस्तरीय, जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा मधेश प्रदेशस्तरीय तथा जेठ ८ र ९ गते सुनसरीको लौकहीमा कोशी प्रदेशस्तरीय एवम् जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गर्ने जनाएको छ ।

– रमेश पौडेल