04/05/2026, 21:53:00
आइतबार, चैत २२, २०८२

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले


काठमाडौँ, चैत १८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग आज भएको भेटमा उहाँले अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले राज्यले निजी क्षेत्रलाई उद्यम विकास र विस्तारका लागि आवश्यक सहजीकरण गर्ने स्पष्ट पार्दै देश निर्माणमा सबै पक्षले साझा जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । “हामी देश बनाउने हुटहुटीका साथ आएका छौँ, अब अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौँ । तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो, “इमान्दार उद्योगी–व्यवसायी कानुनी जटिलताका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकार प्रतिबद्ध छ । रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट कुनै किसिमको हैरानी हुन नहुने अवस्था बनाउन हामी प्रतिबद्ध छौँ ।

अर्थमन्त्री डा. वाग्लेले उद्योग–व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका विषयमा निजी क्षेत्रबाट सुझाव मागिनेसमेत बताउनुभयो । “अर्थतन्त्र निर्माणका लागि राज्यले गर्नुपर्ने सबै कार्य गर्न तयार छौँ, तर निजी क्षेत्र पनि इमानदार हुनुपर्छ” उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा. वाग्लेले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै निजी क्षेत्रसँग पारदर्शिता र जिम्मेवारीको अपेक्षा गर्नुभयो । “निजी क्षेत्र इमानदार भए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, म त्यसको जिम्मा लिन्छु”, उहाँले भन्नुभयो, “तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने सरकार निर्मम हुन्छ ।

अर्थमन्त्री डा. वाग्लेले नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्तालाई आफूले बुझेको उल्लेख गर्दै तत्काल त्यस्तो अवस्था नआउने बताउनुभयो ।