09/07/2026, 21:58:01
सोमबार, भदौ २२, २०८३

एक पुरुष घरभित्रै मृत फेला, श्रीमती र आमासहित ५ जना नियन्त्रणमा


मकवानपुर, भदौ २२ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ स्थित धारापानीमा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३५ वर्षीय राज कुमार खत्री सुत्ने कोठाभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धानका लागि मृतककी श्रीमती र आमासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव काफ्लेका अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न ३५ वर्षीया श्रीमती सलिना घले, ६० वर्षीया आमा गोमा खत्री, ३३ वर्षीय भाइ दिनेश खत्री, ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिइएको हो।

गत शुक्रबार दिउँसो घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको नेतृत्वमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट कुकुरसहितको टोलीले प्रारम्भिक घटनास्थल मुचुल्का तयार पारेको थियो।

हेटौँडा अस्पतालमा शव परीक्षण (पोस्टमार्टम) पश्चात् मृतकको शव दिदी सजिना खत्रीले बुझिसकेको प्रहरीले जनाएको छ।